ओखलढुङ्गाको रामपुर गाँउमा २०३६ सालमा जन्मिएकी रञ्जु दाहाल पछिल्लो समयमा साहित्यकारको नामले परिचित छन् । उनले ओखलढुङ्गाबाट एस.एल.सी पास गरेकी उनी पछि वीरगंजको ठाकुरराम क्याम्पसबाट आई.ए, बि.ए र पशुपति क्याम्पसबाट एम.ए र बी.एड गरेको बताइन् । आई.ए. पास गरेपछि विवाह गरेकी उनले त्यसपछिका समयमा भने पढ्नका लागि कष्टकर भएको तर्क गरिन् । १६ वर्षको उमेरमा विवाह अघि नै लेखन कार्य सुरु गरेकी दाहालको ‘प्रिय संगको यात्रा’ नामक पहिलो नियात्रा संग्रह रहेको छ । तर त्यो कृतिलाई आर्थिक अभावको कारण प्रकाशित गर्न भने नसकिएको तर्क छ । १८ वर्षको उमेरमा विवाह भएसंगै उनको साहित्यिक यात्रामा पूर्णविराम लागेको उनले बताइन् । घुम्टो भित्र बसेर असल श्रीमति, बुहारी, आमाको भूमिका निर्वाह गर्दै कसरी २१ वर्षको लामो समय बिताएको छु पत्तो समेत पाइन उनले भनिन् । पूनः यसरी साहित्यिक यात्रामा फर्किएला भन्ने एक रत्ति पनि चिताएको थिइन । तर साहित्यिक यात्रामा कूण्ठित भएको इच्छा, चाहाना, रहर पूनः जागरण होला भन्ने सोच्ने फुर्सद नभए पनि छोराछोरी ठूलो भएपछि भने लेख, रचना, कृतिलाई छोराछोरीले नै औल्याएर लेखन कार्यमा अगाडी कदम चाल्न प्रोत्साहित गर्दा भने बल्ल अगाडी सरेको उनको तर्क छ ।
प्राकृतिकले नै महिलाहरुलाई कमजोर पारेको छ । बाहिरी समाज, पुरातन सोच, संस्कृतिले महिला लेखक भएर लेख्न गाह्रो भएको उनको दावी छ । महिला हुनुकै कारण नेपाली यात्रा साहित्य लेखनको पहिलो महिला हुनबाट वञ्चित भएकोमा पश्चताप लागेको पनि उनको तर्क छ । लामो समयपछि ‘मेरो जन्मभूमि’ शादुल विक्रित छन्दमा कविता मञ्चमा वाचन गर्दा दर्शकको उत्साहले झनै लेखनमा उत्साह थपिएको उनको भनाइ छ । पछिल्लो समयमा प्रकाशित पुस्तक ‘डोहोडोहो डोल्पो’ यसपछि बजेन मोबाइल भन्ने शिर्षक छ । महिला लेखकले नारी मनोविज्ञानलाई लुकाएर रोइलो भित्र रुमलिने होइन । महिला लेखकले महिलाको आवाज निकाल्नु पर्छ । सत्य, तथ्य, वास्ताविकतामा लेख्नु पर्छ । यथार्थमा निस्किएका आवाज वास्तावमा घतलाग्दा हुने उनले बताइन् । महिला लेखकले ती आवाजहरुलाई हरेकको मन मुटुसम्म पु¥याउनु पर्ने उनको सुझाव छ ।
परिर्वतनका विषयमा सबै महिला लेखकले केही लेखेका छन् । तर महिला पुरुष बीच समानता ल्याउन हरेक घरको भान्साबाट सुरु गर्नु पर्ने उनले बताइन् । हिमाली भेगका विभिन्न जिल्लाहरु सगरमाथा, रसुवाकोे, सोलुखुम्बु, मनाङ तिलिचो, मुस्ताङ, डोल्पा जस्ता धेरै जिल्लाको प्रकृतिकसंग रमाउदै उनले यात्रा गरेको अनुभव प्रशस्त छ । सो कृतिहरु समेट्ने कोशिस गरेको उनले बताइन् । घरको भित्र गुम्सिएकी उनलाई यात्रामा निस्कन धेरै संघर्ष गर्नु परेको बताइन् । १० दिने डोल्पा यात्रामा निस्कने तयारी भैसके पनि श्रीमानबाट अन्तिममा अनुमति नपाउँदा साथीहरुको समूहमा पीडा लुकाएर यात्रा गरेको उनले दुखेसो गरिन् । २१ वर्षसम्म बनाएको सम्बन्ध १० दिनको यात्रामा नै सकिने हो की त्रास मनमा बोकेर साथीहरुसंग रमाएको आभाष गराएको छु । तर पनि १० दिने यात्रामा मोबाइलमा बारम्बार श्रीमानको फोन आइदिओस्, केही भनिदिनुहोस्, केही सोधिदिनुहोस्, गाली नै भने गरिदिनुहोस् भने यात्रा भरी चाहना थियो । तर घण्टी बजेन मोबाइलमा । यात्राले प्रकृति, नयाँ–नयाँ संस्कृति, नयाँ मानिस, नयाँ कुराहरु, परिवेशसंग रमाउन सिकाउँछ । जब १० दिनको हिमाल यात्रामा रमाएर एक वर्षलाई काम गर्न सक्ने उर्जाशक्ति शक्ति संचय हुन्छ । मानिसलाई धेरै तनाब भएको बेला पनि प्रकृतिकसंगको यात्राले आधी तनाब त्यसै कम हुन्छ । यात्रामा गइरहने भोक जागिरहेको उनको भोगाइ र अनुभव छ ।
आफूभित्र इच्छाशक्ति छ भने इच्छाशक्तिको बाधक आर्थिक स्थिति हुदैन । भोलिकालागि सञ्चय गर्ने होइन । वर्तमानमा रमाउनु पर्छ भन्ने मान्यता रहेको उनले बताइन् । बच्चाहरुलाई सृर्जनशिल बनाउनु पर्छ । आफूलाई लेखकभन्दा पनि बढी पाठक भन्न रुचाउने उनको साहित्यिक किताब, जिवन संघर्षका किताब, जीवनीहरु अध्ययन गर्ने बानी छ । हरेक दिन राति डेढ घण्टा किताब अध्ययन गर्ने गरेको उनको भनाइ छ । किताब भनेको ज्ञानको सागर हो । प्रकृतिको यात्रा र अध्ययनशिल बानीले नै साहसी बनाएको उनको अनुभव छ । विश्वेश्वर प्रसाद कोइरालाको सुम्निमा उपन्यास, महावली, भैरव अर्यालको जीवनीसंग सम्बन्धी उपन्यास, छन्द कविता संग्रहहरु, महाकाव्यहरुको गहन अध्ययन गर्ने गरको उनले खुलासा गरिन् । बजारमा आएका किताबहरु सबै नै पढ्न नछुटाएको उनले तर्क गरिन् ।
मनाङको तिलिचोसम्म मौन एकल यात्रामा गरिएको अनुभूतिलाई बेग्लै किताब लेख्न मन लागेको उनको भनाइ छ । जसरी जर्मनमा क्लारा जेड्किनले सूरु गरेकको नारी आन्दोलन उनी कतै हिमालबाट त प्रभावित भएकी होइनन् ? जस्तो लाग्छ । हिमालमा नारी स्वतन्त्रता भएको ठाँउ हो । त्यहाँ महिलाहरु नेतृत्वदायी भूमिका निर्वाह गर्छन् । पुरुषभन्दा पनि महिला शक्तिशाली छन् । पुरुषले एक थपड हान्दा महिलाले तीन थपड हान्छन् । आफ्नो सुरक्षाको लागि जहाँ पनि महिला त्यतिको सक्षम हुन जरुरी छ ।
माया र प्रेम दुई शब्दमा फरक छ । पुरुषहरुले माया गर्न सक्छन् । तर प्रेम गर्न सक्दैनन् । संसारका महिला एक हुन् जसले प्रेम गर्न सक्छन । महिला प्रेममा सर्वस्व त्याग्न तयार हुन्छन । प्रेममा स्वार्थ हुदैन । माया जो कोहीले पनि गर्न सक्छ । मायामा अहिले सम्म महिलाको निश्चल, निश्पक्ष, दयालु, दयालुपनलाई नै कमजोरी ठानिन्छ । आमा र बुबाले बच्चालाई गर्ने मायामा पनि फरक नै हुन्छ । बुबाबाट छोरी असुरक्षित भएको सुनिन्छ । तर आमाबाट छोरा असुरक्षित भएको कहिले सुन्न पाएका छैनौं । आमाले प्रेम गर्छे । त्यसैले आमाको प्रेमलाई सधै कदर गर्नु पर्छ । बजारमा महिलाहरुलाई होच्याएर लेखेका फितला प्रकारका किताबहरुको लेखक नै मेरो अनुभूतिमा विचरा लाग्छ । महिलाको अनुभूति उसंग छैन । प्रसव पीडा कस्तो हुन्छ । पुरुषले बुझेका छैनन् । सतही पीडालाई पुरुषहरुले प्रसव पीडा मानेका छन् । सबैभन्दा पहिला महिलाहरुले म मानिस हो भन्ने चेतना हुनुपर्ने बताइन् । हिन्दु धर्मालम्बीले व्यापक क्षेत्र ओगटेको छ । केरलामा बस्ने एउटा हिन्दु धर्मालम्बीले छोरी महिनावारी हुँदा बेहुली बनाएर मन्दिर दर्शन गर्न लैजान्छन् । अर्को हिन्दु धर्मालम्बीले महिनावारी हुदाँ छाउपिढीमा लगेर गुफामा राख्ने गरेको पाइन्छ । कुन धर्ममा महिनावारी भएको समयमा पर राख भनेको छ । मानव हित योग्य छैन भने हाम्रो हित विपरित छ । संस्कृतिलाई नै परिवर्तन गर्नु पर्ने उनको भनाइ छ । नराम्रा संस्कृतिलाई हटाएर राम्रा संस्कृतिलाई राख्नु पर्ने उनको जोड छ । विकट ठाँउमा यात्रामा जाने नेपाली महिला र पुरुष ५ प्रतिशत पनि आन्तरिक पर्यटक छैनन् । डोल्पा जान सम्भव छैन भने डोहोडोहो डोल्पोको अध्ययनले डोल्पासम्म पु¥याउँछ ।
समयले मलाई धोका दिएको छ । मनमा लागेका धेरै इच्छाहरु पुरा गर्न नपाउँदा दुःख लागेको साहित्यकार दाहालको गुनासो छ । मनाङको तिलिजो सम्मको एकल यात्रामा थोरोङ्गासम्म जान नपाएको, डोल्पाको यात्रामा अपर डोल्पा जान नपाएको, सगरमाथा कालापत्थरको यात्रामा घोपियो जान नपाएकोले घुम्न जादाँ पर्याप्त समय नभएकोमा पश्चताप लागेको दाहालको तितो यथार्थ छ । मनाङको यात्रामा धेरै मानिसको लाश देखेकी उनी भूगोलको बारेमा जानकार नहुँदा आफू पनि स्वयम् पहिरोको समस्यामा परेको बताइन् । यात्रा गर्दा भूगोलको बारेमा राम्रो जानकारी लिएर यात्रा गर्नु पर्ने उनको अनुभव छ । मानवीय प्रवृतिसंग डर लाग्ने तर जंगली जनावर, भिर पाखाको डर नलाग्ने उनको दावी छ । नेपालमा लेखकको कुनै सम्मान नगर्ने तर सिंगापुर जादाँ त्यहाँका एक ट्याक्सि डाइभरले उनलाई अंगालो मार्ने, खुट्टा ढोग्ने गरेको देख्दा अचम्म लागेको साहित्वकार दाहालको भनाइ छ । त्यहाँ लेखकलाई भगवान मान्दा रहेछन् । उहाँ लेखकले कुनै अन्य पेशामा लाग्नु नपर्दो रहेछ । लेखन प्रवृति भनेको जो कोहीमा हुदैन । सरकारले नै राम्रो तलब भत्ता दिंदो रहेछ । नेपालमा लेखेर आफै किताब निकाल्नु पर्छ । किताब निकाल्नदेखि लिएर प्रकाशन, वितरणसम्म कति खर्च लाग्छ ? सबै आफैले व्यहोर्नु पर्छ । बजारमा किताब गए पनि भोली किताब बिक्री हुने वा नहुने लेखकलाई चिन्ताको विषय बन्ने गरेको छ । लेख्ने मानिसको स्थान के छ ? के हो र के हुनु पर्छ ? भने हेर्ने माध्यम के हो ? कसरी हेर्ने हो ? किन हराइरहेको छ ? त्यो तिरको दृष्टिकोण किन गइरहेको छैन ? भन्ने प्रश्न महत्वपूर्ण हुने उनको भनाइ छ ।
पाँच सय विद्यार्थीलाई अध्ययन गराइरहेकी उनले पहिला युवाहरुलाई विदेश नजाऊ, देशमा नै अवसर खोज भन्ने गरेको तर्क गरिन् । तर अहिले म आफै युवाहरुलाई विदेश जान नजाऊ भन्न सक्ने अवस्था नरहेको बताउँछिन् । देशले के दिएको छ त हामीलाई ? कहाँ गएर अवसर खोज्ने ? कहाँ निर सुविधा पाउने ? विद्यार्थीहरुको भविष्य निर्माणकालागि देशमा विद्यालय, कलेजहरु मात्र खोले पुग्ने हो की ? त्यहाँबाट उत्पादन भएको दक्ष जनशक्तिलाई कहाँ व्यवस्थापन गर्ने ? भन्ने कुरामा सरकारले ध्यान नदिएको देख्दा युवा जनशक्ति विदेशिको उनको ठम्याई छ । युवा विद्यार्थीहरुलाई निर्धक्क भएर देशमा बस पनि नभनी मौन बस्नु पर्ने अवस्था आएको उनले गुनासो गरिन् ।
शिक्षण र साहित्यलाई राजनितिक प्रभाव बाहिर राख्नु पर्ने उनको सुझाव छ । कुनै पार्टीको कार्यकर्ता भएमा कक्षा कोठामा छिर्दा त्यसले सहि शिक्षा दिन गाह्रो हुने उनको भनाइ छ । शिक्षण र साहित्य विधामा लाग्ने मानिस मध्यस्थ विन्दुमा हुनु पर्ने बताइन् । योगा, ध्यान गर्नु नपर्ने हरेक दिनको अध्ययन नै साधना भएको उनको अनुभव छ । प्रकृतिसंग रमाउदै यात्रा गर्न रुचाउने उनी कसैको चाकडी गरेर सम्मान नलिने क्षमता राख्न पर्ने तर्क गर्छिन् । सम्मान गर्नेले पहिचान गरेर सम्मान गरोस् भन्ने उनको चाहना छ । जीवन हावा हो । सबैको दुःखमा सहानुभूति गर्ने संस्कार र संस्कृति छ । साथी कम बनाउने उनी साथीको सुखदुःखमा नजिक हुन नसके धेरै साथी बनाएर मात्र नहुने निश्कर्षमा छन् ।