१. बालबालिका तथा शिशुलाई कस्ता समस्याहरु देखिएका छन् ?
जनघनत्व, गरिबी र अशिक्षा धेरै भएको मधेशमा बालबालिकाहरु धेरै बिरामी हुने गरेका छन् । ४० प्रतिशत बालबालिकाहरुमा ज्वरो, झाडा, पखाला, टाइफाइड, रुघाखोकी, निमोनिया, भाइरल फिबर, मोनेन्जाइटिस, लिभरको समस्याहरु, पेट सम्बन्धी समस्याहरु, इन्सेफलाइटिसहरु, स्नायु सम्बन्धी समस्याहरु, विभिन्न जन्मजात रोगहरु, मष्तिस्कहरु राम्ररी काम नगर्ने, अपाङ्गता भएकाहरु, अंगभंग भएका, छारे रोग, टुयुमरहरु, क्यान्सरहरु हुने गरेको पनि पाइन्छ । खासमा कुपोषणले गर्दा पनि धेरै बालिबालिका संक्रमित हुने गरेको पाइन्छ ।
२. बालबालिकामा हुने कुपोषण हटाउन राज्यले चाही कस्तो नीति ल्याउन पर्छ ?
राज्यले नीति नै ल्याएर कुपोषण हटाउने प्रयास त गरेकै हो । त्यसै अन्तर्गत नारायणी अस्पतालमा पनि सन् २००६ देखि नै पोषण हेल्थ सेन्टरको स्थापना भएको छ । जो कुपोषित बालबालिकाहरु सिकिस्त छन् । उनीहरुलाई भर्ना गरेर निःशुल्क रुपमा सम्पूर्ण सेवाहरु ीदने गरेको छ । सामुदायिकस्तरमा पनि नेपाल सरकारले बालबालिकाहरुलाई पौष्टिक युक्त आहार वितरण गर्छ । सरकारले स्वास्थ्य कार्यकर्ताहरुलाई कुपोषणको नाप, जाँच गर्ने तालिम दिएको छ । कस्तो बच्चाहरुलाई घर, समुदायमा नै उपचार गर्ने, कस्तो बच्चालाई अस्पताल पठाउने बारा, पर्सा, रौतहटका साथै अन्य जिल्लाका बच्चाहरुलाई समन्वयन गरेर अस्पतालसम्म पठाउने काम गर्छन् । कुपोषण हुन नदिन विभिन्न कुरामा ध्यान दिनु पर्छ । खास गरी महिला शिक्षामा जोड दिनुपर्छ । महिला जागरुक भए खानेकुरालाई राम्ररी पकाएर बच्चालाई खुवाउने र पोषण खेर जान नदिने जस्ता कुराहरु थाहा हुन्छ । धेरै गरिब वर्गका मानिसहरुले पनि खाना के खुवाउने ? कसरी खुवाउने ? भन्ने कुरा थाहा भए आफ्नै घरमा भएका गेडागुडी, चनाको सातु, दाल, सागसब्जी, दुध, फूल, करेसाबारीमा भएका साग शब्जी सबै मिलाएर खुवाउन सक्छन् । यसको लागि थोरै जानकारी र जाँगरको मात्र आवश्यकता पर्दछ । कुपोषण हटाउन धेरै महङ्गा खानेकुराहरु, फलफूलहरु धेरै खुवाउनु पर्दैन । केवल सन्तुलित तरिकाले मिलाएर मात्र खुवाउने गर्नु पर्छ । त्यसैले महिला शिक्षित हुन चाही जरुरी छ ।
३. बालबालिकामा कुपोषण कुन अवस्थाबाट सुरु हुन्छ ?
बालबालिकाहरुमा कुपोषण आमाको गर्भमा हुँदादेखि पनि हुन सक्छ । जन्म पश्चात पनि हुन सक्छ । नेपाल सरकारले सुनौलो हजार दिन भन्ने कार्यक्रम चलाएको पनि आमा गर्भवती भएदेखि बच्चा नजन्मिएसम्म आमा र बच्चाहरुको पोषणमा ध्यान दिनकै लागि हो । लामो समयको लागि कुपोषण हटाउने उपाय भनेको गाउँघरमा महिलाहरुको सशक्तिकरण गरेर, जागरुक बनाएर यो समस्या समाधान गर्न सक्छौं । महिलालाई रोजगारी बनाउनु पर्छ । खेतीबारी हुनुपर्छ । अनि मात्र समस्या हटेर जान्छ । सुनौलो हजार दिनको कार्यक्रमले आमा गर्भवती भएदेखि नै बच्चा जन्मने समयसम्म आमा र बच्चाको पोषण सम्बन्धी कुरालाई ख्याल गरेको छ ।
४. खासमा कुपोषण हुने मुख्य कारण के–के हुन् ?
मधेशमा महिला शिक्षित नभएको कारण बालबालिकाहरुमा कुपोषण देखिएको हो । दोस्रो गरिबीको कारणले पोषणयुक्त खानपान घरमा नहुनु र भएको खाद्यान्न तथा फलफूलहरुलाई कसरी खान दिने ? के–के खाने भन्ने कुरा थाहा नभएको कारणले नै बच्चाहरुमा सबैभन्दा बढी कुपोषण देखिएको छ । महिला तथा आमाहरु जागृत नहुनु प्रमुख कारण हो । कतिपय महिला जागृत भए पनि निर्णय गर्ने अधिकार महिलामा नभएकोले आफ्नो स्वास्थ्य र बच्चाको पनि राम्रो हेरचाह नभएको देखिन्छ । विद्यालयस्तरमा नै बालबालिकाको पोषण सम्बन्धी पाठ्यक्म राख्न सरकारले नै नीति बनाउनु पर्छ ।
५. संक्रमित रोगबाट गर्मियाममा बालबालिकालाई बचाउन के गर्नु पर्छ ?
गर्मी सिजनमा बालबालिकाहरुलाई बढी देखिने झाडापखाला लाग्ने, भाइरल ज्वरो हुने, निमोनियाँ, टाइफाइड, वान्ता, रुघाखोकी, जन्डिस हुने रोग बढि देखिन्छ । गर्मी सिजनमा धुवाँ, धुलोहरु धेरै उड्ने भएकोले खानेकुरा, पानीलाई राम्ररी छोपेर राख्नुपर्छ । बिहान बेलुका अलि चिसो हुन्छ । त्यो समयमा बच्चाहरुलाई घरबाट बाहिर निकाल्नु हुँदैन । अनावश्यक भिडभाडमा बच्चालाई लानु हुदैन । बच्चाहरुले हात नधोएर खानेकुराहरु छुने, नाक छुने भएकोले साबुन पानीले हात धुने बानी बसाल्नु पर्छ । ताजा र तातो खानेकुराहरु दिनुपर्छ । सडकमा बाहिर खुला राखेका खानेकुराहरु खानु, खुवाउनु हुदैन । पानी प्रशस्त मात्रामा खुवाउने गर्नुपर्छ । झोलिलो कुराहरु बढी खाने । कसैलाई रुघाखोकी राखेको छ भने भिडभाडमा जानु भएन । बन्द कोठामा धेरै बेर बस्नु भएन । खोक्दा, हाँच्छिउ गर्दा रुमालले मुख छोप्नुपर्छ । पानी तताएर मनतातो पारेर खुवाउने गर्नुपर्छ । आफूसंगै अरुलाई पनि सरुवा रोगबाट बचाउन सकिन्छ ।
६. अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
अहिले सरकारले नौ महिनादेखि १५ वर्षसम्मको बालबालिकाहरुलाई रुबेला, दादुरा खोप चलाइरहेको छ । सबैले यो कार्याक्रममा भाग लिएर आफ्नो बालबालिकालाई खोप लगाउनु पर्छ । त्यो खोपले दादुरा, रुबेला रोगबाट बचाउँछ । बालबालिकाहरुको खानपानमा ध्यान दिऔं । पोषणयुक्त खानामा जोड दिऔं । अनावश्यक बाहिरको खाना, जंक फूडहरु नखाऔं । खाना खानु अघि र पछि साबुन पानीले हात धुने बानी बसालौं । टि.भी, मोबाइल चलाउने, बढि खेल्ने वातावरण नदिऔं । आमाबुबाले पनि आफ्नो बच्चालाई समय दिएर साथी बनेर उसका राम्रा नराम्रा कुराहरु भन्न सक्ने वातावरण बनाउनु पर्छ । अनि बच्चाहरुको समस्या समाधान गर्न सक्छौं । बालबालिकाहरुलाई खेल्ने वातावरण बनाइदिनु पर्छ ।