आउँछ भन्दा–भन्दै साँच्चै नयाँ वर्ष २०८१ पनि नेपालीहरुको घर आँगनमा आइसकेको छ । यो वर्ष आउँदासम्म आम नेपाली र मुलुककोे समृद्धिका लागि गएको नयाँ बर्षले सकारात्मक गति पहिल्याउने आधार भेटाओस् भन्ने विगतमा पनि धेरै नेपालीले शुभकामना आदान प्रदान गर्दा भनेको भर्खर जस्तो लाग्छ । यो सकारात्मक सन्देश मिसिएको शुभकामना साटासाट गरेको कति चाँडो एक वर्ष पूरा भएछ । तर समयको एकवर्षे चक्र पूरा हुँनै लाग्दा त्यो अपेक्षा चाही पूरा हुन नपाउँदै अर्को नयाँ वर्ष २०८१ हामी नेपालीको घर आँगनमा टुप्लुक्क आइपुगेको छ ।
अपेक्षाकृत रुपमा २०८० को पनि शुभकामना आदान–प्रदान गर्दैगर्दा सम्पूर्ण नेपालीमा सुख, शान्ति र प्रगति उन्नतिको कामना हरेक नेपालीले गरेकै थियो । तथापि सबै नेपालीको मुहारमा २०८० ले हाँसो ल्याउन सकेन । अझ मुलुक संचालनको सबैभन्दा मूल नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने तहमा हुनेहरुको सद्बुद्धि पलाउने आशा त तुषारापातमा परिणत भए झैं भयो । छिनमा सरकार बन्ने त छिनमा नै गल्र्याम–गुर्लुम ढल्ने–ढाल्ने स्वार्थका बहुरुपीया नेताहरुको हुर्मतको खेलले नै २०८० सालमा पनि वेकारमा बितेर गयो । त्यसमा पनि कोही त म ज्यूँदो हुन्जेल यो देशमा ‘उथलपुथल’ ल्याइरहन्छु भन्ने सम्मका निकृष्ट भेटिए । सहकारीमा जम्मा भएको रकम दोहनको दन्कुटीमा फसेका केही पथभ्रष्टहरु पनि कोही भने म आफै ‘चोखो छु’ भन्ने कु–तर्कवाला दरिए । यस्ता–यस्तै चंगुलका चालमा नेपाल र नेपालीको सकारात्मक सपनाको सुरुवातै नभई फलतः २०८० नेपालीको मन उज्यालो नबनाउँदै पत्रुमा परिणत गराएर गयो ।
त्यसै गरी अचाक्ली सडक दूर्घटनाको चापमा सयौं नेपालीको अनाहकमा ज्यान गएको, अंगभंग भएको वर्षका रुपमा पनि गएको वर्ष नेपालको इतिहासमा पनि दर्ज हुने नै भयो । कतै–कतै त गाउँ नै सुनसान हुनेसम्मका दूर्घटनाका घटनाले नेपालीको मन खिन्न बनाएको पनि उदाहरण गतवर्षले छोडेर गयो । राम्रा कामको थालनीमाभन्दा नराम्रो र विछिप्त पार्ने घटना, झन बढि युवाको विदेश तर्फ लर्को लगायतका नकारात्मक पक्षले नेपालीको मन सकारात्मकता तर्फ अझै तान्न सकेन । यो ‘नयाँ वर्ष २०८१’ ले चाही नेपालको राजनीतिमा सकारात्मक पक्ष सहितको सन्देश लिएर आओस् । अर्थात गएको बर्षभन्दा नितान्त फरक अनि राम्रा तर अधुरा कामलाई पूरा गर्ने र नयाँ त्यसैगरी राम्रा कामको सुरुवात गर्ने २०८१ साल हरेक नेपालीको घर–आँगनमा पुगोस् । पहिलेका अधुरा र अबका नयाँ काम थालनीको वेजोड सुरुवात लिएर नयाँ वर्ष अगाडी बढोस् भन्ने पहिलो कामना आम नेपाली बुबाआमा, दाजुभाइ तथा दिदिबहिनीहरुमा ।
त्यसैगरी मध्य नेपाल सन्देश पत्रिका अझ उचाईमा पुगोस् भन्ने निरन्तर हाम्रो प्रगति चाहनु हुने हाम्रा ज्ञात–अज्ञात पाठकवर्ग, विज्ञापनदाता, सहयोगी, शुभचिन्तक र हाम्रो मार्ग निर्देशक सल्लाहकारहरु तथा यो मिडिया हाउसमा आबद्ध समाचारकर्मी, कर्मचारी र प्राविधिकहरु सबैमा पनि नयाँ वर्ष २०८१ ले नयाँ उमंग र जोस् लिएर आओस् भन्ने पनि जोडदार शुभकामना । कर्मशिल हात र उर्जाशिल मन मष्तिस्कले यो मिडिया हाउसको अझ उचाई फराकिलो बन्ने बनाउनेमा दुईमत रहेन । तसर्थ नयाँ वर्षको उमंग र जोस् यो संस्था सहित समग्र समाज, गाउँघर, जिल्ला हुँदै राष्ट्रका लागि प्रेरणादायी र स्मरणीय बन्न सकोस् भन्ने सबै नेपाली बुबाआमा, दाजुभाइ र दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।