१) महिलाहरुको पाठेघर सम्बन्धी रोगका बारे बताइदिनुस् न ?
पाठेघर भनेको महिलाको शरीरमा रहेको प्रजनन् अंग हो । पाठेघरले हामी प्रजनन् शक्तिकोलागि तयार छौं भन्ने बुझाउँछ । पुरुषहरुभन्दा महिलाहरु फरक भएको पनि पाठेघरको नै कारणले हो । पाठेघरले सन्तान उत्पादन गर्ने प्रमुख काम गर्छ । साथसाथै धेरै किसिमका हर्मोनहरु उत्पादन गर्ने काम गर्छ । जसको कारणले महिलाको शारिरीक संरचना बनेको हुन्छ । यो शक्ति पुरुषहरुमा हुदैन । पाठेघरको कारणले नै महिलाको स्वरुपको पहिचान गराएको हुन्छ ।
२) पाठेघरमा कस्ता खालका समस्याहरु देखा पर्छन् ?
पाठेघरमा धेरै किसिमका समस्याहरु हुन्छन् । पाठेघरमा महिलाहरुको महिनावारीको सुरुवात भएदेखि नै समस्याहरु हुन सक्छन् । महिनावारी समयभन्दा अगाडी हुने, महिनावारी समयभन्दा ढिलो सुरु हुने, पाठेघरमा इन्फेक्सन हुने हुन्छ । पाठेघरमा हुने इन्फेक्सनले धेरै प्रकारको समस्या हुन सक्छ । बच्चा समयमा नबस्नु, बच्चा ढिलो हुनु, बच्चा बसेर पनि छिटो–छिटो गर्भपतन हुनु, जन्मजात पाठेघरको बनावट अर्कै प्रकारको हुनु, अन्तिम अवस्थामा गएर क्यान्सर रोग हुने समस्या देखापर्छ ।
३) पाठेघरलाई स्वस्थ्य राख्न के गर्नुपर्छ ?
बच्चाबाटै पाठेघर स्वस्थ्य राख्न सिकाउनु पर्छ । फलफूल हरियो सागसब्जी जस्ता मुखबाट खाने पोषण प्रर्याप्त खानुपर्छ । सबैभन्दा जरुरी भनेको पानीको मात्रा बढी खानुपर्छ । पुरुषभन्दा बढि महिलाहरुलाई पानीको मात्रा चाहिन्छ । पुरुषहरुको पिसाबको नलीभन्दा महिलाहरुको पिसाब नली धेरै छोटो हुन्छ । पानीको कमी भएमा पटक पटक पिसाबको इन्फेक्सन हुन्छ । पिसाबको इन्फेक्सनले गर्दा महिलाहरुमा तल्लो पेट दुख्ने समस्या हुन्छ । महिलाहरुले खानपिनको साथै दैनिक ३ देखि ४ लिटर पानी खाएमा पिसाबमा इन्फेक्सन सम्भावना कम हुन्छ । अहिले फेसनमा चलेको कपडाहरु नलगाएर अन्डर वेयर सुतिको प्रयोग गर्नु उपयुक्त हुन्छ । दैनिक तलका कपडाहरु फेर्ने, महिलाहरु आफ्नो गुप्तअंग वरिपरिको रौंलाई व्लेड, रेजर, वाक्सिङ्गको प्रयोग गरेर रौं हटाउने गर्छन् । डाक्टरको हिसाबले यो गर्नु उचित होइन । जसरी टाउकोमा कपाल भए जस्तै गुप्त अंगमा पनि रौं आएको हुन्छ । यसको पनि काम विना यसै भगवानले बनाएको होइन । यौन अंग खुल्ला हुने भएकोले हामीलाई इन्फेक्सन हुने सम्भावना हुन्छ । आफ्नो योनीलाई नुहाउँदा दैनिक सफा गर्नुपर्छ । तर डिटोल र साबुनको प्रयोग गरेर धुनु हुदैन । सफा पानीले मात्र धुनु पर्छ । योनीले आफै पदार्थहरु निकाल्छ । जसले योनीलाई सफा राख्छ । महिनावारीको समयमा कपडाहरुको पनि प्रयोग गर्ने गरेको पाइन्छ । अहिले स्यानेटरी प्याडहरु सजिलै उपलब्ध छ, मूल्य पनि कम छ । विद्यालय र संस्थाहरुमा निःशुल्क वितरण गरिरहेको छ । प्याडको प्रयोग गर्नुपर्छ । हरेक ६÷६ घण्टामा लगाएको प्याड फेर्नु पर्छ । कम्तिमा ६ घण्टामा फेर्नु पर्छ । प्याड भिजेमा तुरुन्त फेर्नु पर्छ । महिनावारी भएको ४ दिन पोषिलो र झोलिलो खानेकुरा खानुपर्छ । व्यायम गर्नुपर्छ । दैनिक नुहाउनु पर्छ । हामीले योनी अंगलाई सफा गरेपछि हात सफासंग धुनुपर्छ । हात नधुदाँ तलको इन्फेक्सन अन्य भागमा सर्न सक्छ । जहिले पनि योनी सफा गर्दा हातलाई अगाडीबाट पछाडी तर्फ लगेर तलको अंग सफा गर्नुपर्छ । सानो सानो कुरामा महिलाले ख्याल गर्नु पर्छ । विवाहित महिलाहरुले श्रीमानसंग शारिरीक सम्बन्ध भएपछि तुरुन्त उठेर बाथरुममा गई यौनअंगलाई सफा राख्ने र पिसाब फेर्ने गर्नु पर्छ । शारिरीक सम्पर्क भएपछि पटक पटक पिसाबमा इन्फेक्सन चाही हुँदैन ।
५) पाठेघरको क्यान्सर कुन उमेरदेखि सुरु हुन्छ ?
पाठेघरको धेरै भागहरु छन् । पाठेघरको मुखको क्यान्सर अलगै हुन्छ । पाठेघरको भित्र परागको क्यान्सर, नलीको क्यान्सर र अण्डकोषहरुको क्यान्सर हुन्छ । हरेक उमेरमा क्यान्सर हुन्छ । अण्डकोषको क्यान्सर वयस्क अवस्थामा अविवाहित केटीहरुलाई पनि हुन्छ । पाठेघरको मुखको क्यान्सर धेरै बच्चा जन्माउदाँ र धेरै पाटनरसंग शारिरीक सम्बन्ध राख्दा बढी हुन्छ । असुरक्षित शारिरीक सम्बन्धमा पाठेघरको क्यान्सर हुने बढी हुन्छ । कुनै पनि क्यान्सरलाई हुनुभन्दा अगाडी जाँच गरेर हेर्न सकिन्छ । सबै भन्दा बढी पाठेघरको क्यान्सर हुन्छ । पाठेघरको मुखको क्यान्सरले हरेक मिनट महिलाहरुको ज्यान गइरहेको हुन्छ । महिलाको २१ वर्षको उमेरदेखि पाठेघरको मुखको जाँच गर्न सकिन्छ । अहिले पाठेघर क्यान्सरको भ्याक्सिन पनि लगाउन सकिन्छ । बालिका ९ वर्ष भएदेखि ४५ वर्षसम्मको महिलालाई भ्याक्सिन लगाउन सकिन्छ । विवाह नभएका शारिरीक सम्पर्कमा नभएका महिलाहरुको लागि २ डोज भ्याक्सिन लगाए हुन्छ । पहिलो भ्याक्सिन २ महिनामा र ६ महिनामा दोस्रो भ्याक्सिन लगाएमा जीवन भरि क्यान्सर रोगबाट मुक्त हुन सकिन्छ । जो महिला शारिरीक सम्पर्कमा संलग्न छ भने उसलाई ३ डोज लगाउनु पर्छ । पहिलो भ्याक्सिन लगाएको २ महिनामा दोस्रो भ्याक्सिन र तेस्रो भ्याक्सिन ६ महिनामा लगाए जीवनभर क्यान्सर लाग्दैन । एक डोज भ्याक्सिनको मूल्य ३ हजार पर्छ ।
६) महिलाहरुमा हुने बाँझोपनको कारण के हो ?
बाँझोपन हुने कारणहरुलाई धेरै प्रकारमा बाडेको हुन्छ । पहिलोः पुरुषको कारणबाट पनि बाँझोपन हुन सक्छ । आजको समयमा उमेरले हामीलाई धोका दिइरहेको छ । हामीलाई पढ्नु छ, करियर बनाउनु छ । यी सबै कर्म गर्दा हाम्रो विवाह नै ढिलो भइरहेको हुन्छ । विवाह गरेपछि पनि एक दुई वर्ष आमा नबन्ने भन्छौं । उमेर नाघेपछि महिलाको अण्डकोष विस्तारै सुक्दै जाने गर्छ । हामी आमाको कोखबाट जन्मदा नै आमाको अण्डकोषमा जति अण्ड छ हामी लिएर जन्मन्छौं । हामी नयाँ अण्डा बनाउन सक्दैनौं । हरेक महिना त्यही अण्ड नै प्रयोग गरिरहेका छौं । ३० वर्षको उमेर नाघेपछि हाम्रो अण्डकोषमा अण्ड एकदमै थोरै हुन्छ । त्यो सुक्दै गएपछि झनै बाँझोपन हुन्छ । हामी बच्चा जन्माउन सक्दैनौं । बाँझोपन हुनमा उमेरले धेरै समस्या निम्त्याएको छ । अर्को अण्डकोषमा अण्ड पहिलादेखि नै कम छ । अण्डकोष राम्रो छैन । अण्डकोषमा अण्ड बनिरहेको छैन । बनेर पनि अण्डको विकास राम्रो छैन । फेलोपिन ट्युबहरुमा कुनै खराबी भएमा, कुनै इन्फेक्सन भएमा पनि आमा बन्न सक्दैनौं । पाठेघरको भित्री सतहमा कुनै इन्फेक्सन भएको छ । कुनै ट्युमर भने सल्लाह दिन गाह्रो हुन्छ ।
७) परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोगले बाँझोपन निम्त्याउँछ भनिन्छ नि ?
परिवार नियोजनका अस्थायी साधनहरु पिल्स, तीन महिने सुई, ७२ घण्टा खाने पिल्सहरुले बाँझोपन गराउदैन । अस्थायी साधनहरुको प्रयोग गर्दा गर्दै बच्चा बस्यो भने केही जटिलताहरु निम्त्याउँछ । असुरक्षित रुपमा गर्भपतन गरेर इन्फेक्सन भयो भने बाँझोपन हुन सक्छ । असुरक्षित सम्पर्क गरेर गर्भपतन गर्नुभन्दा अस्थायी साधनहरुको प्रयोग गर्नु नै राम्रो हुन्छ ।
८) सन्तानको पर्खाइमा बसेका महिलालाई के भन्न सुझाव दिनु हुन्छ ?
आज बच्चा जन्माउन कुनै पनि ठूलो कुरा होइन । करियर बनाएर हरेक उमेरको मानिसले बच्चा जन्माउन सकिन्छ । विवाह गरेको एक वर्ष भइसकेको छ । श्रीमानसंगै लगातार साथमा नै हुनुहुन्छ । तर पनि बच्चा भएन भने आएर डाक्टरसंग सम्पर्क गर्नुपर्छ । हामीसंग उपचार गर्ने धेरै तरिका छन् । अण्ड बनिरहेको छैन भने त्यसको औषधीहरु उपलब्ध छ । औषधीबाट भएन भने पनि आइईवाई प्रविधि छ । यसबाट पनि भएन भने आइभिएफ प्रविधि छ । विवाह भएको धेरै वर्ष नबिताई समयमा नै उपचारकोलागि डाक्टरकोमा जानु भएमा सजिलै आमा बन्ने अवसर प्राप्त हुनेछ । स्वस्थ्य खानपान गर्नु, मानसिक स्वस्थ्य रहनु, कुनै समस्या आएमा डक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।