भारतको महाराष्ट्रमा माओवादी आक्रमण हुँदा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौली जिल्लामा माओवादीहरुले सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी विष्फोट गराएका थिए । माओवादी लडाकुले आईईडी बिस्फोट गराउँदा प्रहरीको गाडी हावामा उडेको थियो ।
गाडीमा सी ६० कमाण्डोहरु सवार रहेको बीबीसीले जनाएको छ । नेपाली समय अनुसार बुधबार दिउँसो पौने १ बजे आक्रमण भएको थियो ।
बिस्फोटपछि सुरक्षाकर्मी र माओवादी लडाकुबीच गोली हानाहान भएको समाचार संस्था एएनआईले जनाएको छ । आक्रमण अघि आज बिहानमात्रै माओवादीहरुले महाराष्ट्रको गढचिरौली जिल्लामा करिब तीन दर्जन सवारी साधन जलाइदिएका थिए ।
गठचिरौली महाराष्ट्रको सबैभन्दा धेरै माओवादी प्रभावित जिल्ला हो । यो घटना त्यो समयमा भएको थियो, जुन बेला राज्यले ‘महाराष्ट्र दिवस’ मनाउने तयारी गरिरहेको थियो । विद्रोहीहरु पनि गतवर्ष २२ अप्रिलका दिन सुरक्षाकर्मीद्वारा मारिएका आफ्ना ४० जना कार्यकर्ताको पहिलो वार्षिकी मनाउने सप्ताहव्यापी कार्यक्रमको अन्तिम चरणमा थिए ।
यसअघि लोकसभा चुनावको एकदिन अगाडि पनि प्रहरीको गस्ती टोलीमाथी नक्सालवादीले आक्रमण गरेका थिए । घटनास्थल छोडेर भाग्नुपूर्व विद्रोहीहरुले गतवर्ष मारिएका आफ्ना साथीको हत्याको बिरुद्ध नाराजुलुस गर्नुका साथै पोष्टर र व्यानर लगाएका थिए ।
के हो सी ६० कमाण्डो ?
माओवादीको गुरिल्ला रणनीतिसंग मुकाबला गर्नका लागि महाराष्ट्र प्रहरीले एक विशेष दलको स्थापना गरेको थियो । त्यसमा स्थानीय जनजाति समुदायका मानिसहरु सामेल थिए ।
१९९२ मा बनेको यस विशेष दलमा ६० स्थानीय जनजाति समूहका मानिसहरु सहभागी थिए । विस्तारै दलको ताकत बढ्दै गयो र नक्सालवादीको विरुद्धमा यसको अपरेशन पनि बढ्न थाल्यो ।
दलमा सहभागी भएका जनजाती समूहका मानिसहरुको स्थानीय जानकारी, भाष तथा संस्कृतीको जानकारी अनुसार चल्ने यो समूह लडाकुको जानकारी लिन सफल थियो । सन् २०१४, २०१५ र २०१६ मा सी ६० कमाण्डोले माओवादी विरुद्ध चलाएका अपरेसनहरुमा सफलता प्राप्त गरेको थियो । तस्वीर : एएनआई