१. सौन्दर्यकर्मलाई व्यवसायिक रुपमा रोज्नु को कारण के हो ?
घर परिवारका सदस्यले पार्लर व्यवसायमा काम नगरेर सरकारी जागिर गरोस् भन्ने अपेक्षा गरेका थिए । अरु कामभन्दा पार्लर व्यवसाय गर्न सजिलो भएको र सानैदेखि सौन्दर्य प्रति नै रुची भएकोले गर्दा अरु सीपमूलुक तालिमहरुभन्दा पनि व्यूटिसियन तालिम नै लिएँ । प्राकृतिक रुपमा सुन्दर महिलाहरुलाई अझ कृतिम तरिकाले सुन्दर बनाउने र आफू पनि सुन्दर बन्ने रहर जागेकोले यो व्यूटिसियन पेशालाई नै रोजें । आफन्त र मिल्ने साथीहरु पनि व्यूटिसियन पेशामा भएको हुनाले काम गर्न झनै सजिलो भयो । त्यसैले पेशा नै बनाएर व्यूटिसियन भइयो ।
२. पार्लर संचालन गर्न परिवारको साथ सहयोग चाही कत्तिको पाउनु भएको छ ?
हामी महिलाहरुले परिवारको साथ र सहयोग बिना घर बाहिर निस्केर कुनै पनि काम गर्न गाह्रो हुन्छ । हामीले कुनै पनि काम गर्नु छ भने आफ्नो परिवारलाई नै खुशी पारेर गर्नु पर्छ । मलाई व्यूटिसियन पेशामा टिक्न र व्यवसाय संचालन गर्न श्रीमान्को सहयोगले गर्दा नै सफलता मिलेको हो । आज यहाँसम्म आउन उहाँको पूर्ण साथ छ । विवाह पछिका केही वर्ष घर परिवार र बालबच्चा हुर्काउन अलमलिए बसें । अलि पछि मात्र सबै साथीहरुले काम गरेको देखेर अहो मैले पनि केही काम गर्नु पर्छ भनेर पार्लर संचालन गर्ने अठोट गरेर श्रीमानको सहयोगमा व्यवसायी नै बनेको हुँ ।
३. व्यूटिसियन तालिम लिन समय व्यवस्थापन कसरी गर्नु भयो ?
आईए पास गरेपछि व्यूटिसियन सम्बन्धी ३ महिने तालिम लिए । त्यसपछि पार्लर संचालन गर्न त्यति तालिमले मात्र सम्भव नहुने भएकोले घरको काम सिध्याएर बजारमा जाँदा पनि १, २ घण्टा समय मिलाएर करिश्मा व्यूटिपार्लरमा सिक्दै गए । पछि लघु व्यवसाय तथा परामर्श केन्द्रबाट संचालित ३ महिने तालिम लिए । लेभल १, लेभल २ तालिम लिएको छु । तालिम लिने १० जना मध्ये जसले पार्लर संचालन गर्छ । उसलाई पुरस्कार दिने घोषणा गरेका थिए । हामी दुई जना साथी मिलेर घरमा नै पार्लर संचालन गरेर काम थाल्यौं ।
४. सुरुवातमा पार्लर संचालन कत्तिको चुनौतिपूर्ण बन्यो ?
सुरुमा व्यवसाय थाल्दा एक लाख ५० हजार पूँजीबाट सुरुवात गरियो । आज ५ लाख बराबरको बनाइएको छ । पार्लर संचालन गरेको ६ महिनासम्म निकै चुनौति नै भयो । ग्राहकलाई रिझाउन गाह्रो भयो । पार्लरका सामान पनि थप्नु पर्ने घरभाडा पनि तिर्नुपर्ने भएकोले घरभाडा तिर्ने रकम पु¥याउन कठिन भयो । राम्रोसंग आम्दानी नहुन्जेल श्रीमान्ले नै घरभाडा तिर्न सहयोग गर्नुभयो । राम्रोसंग कमाउन लागेपछि पार्लर संचालन गर्न सजिलो भयो । बिस्तारै पार्लर संचालन गर्दा लागेको लगानी पनि तिर्न सफल भयो ।
५. व्यूटिसियन पेशाबाट कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
सुरुमा ग्राहक बनाउन नसक्दा घरबाट नै पार्लरको भाडा तिर्नु परेको थियो । तर अहिले आफैले पार्लरबाट कमाएको पैसाले समान हाल्न, पसलभाडा तिर्न सफल भएको छु । आफूलाई लगाउन मन लागेको सामान, खान मन लागेको कुरा खानको लागि श्रीमानको नै मुख ताक्नु पर्दैन । आफूले कमाएको पैसा आफू खुशीले चलाउन पाएको छु । अहिले पार्लरहरु धेरै खुलेका छन् । तर पनि हामी पुरानो व्यूटिसियन भएकोले पहिलादेखि आइरहने ग्राहकहरु आउँछन् । घरभाडा, सहकर्मीलाई पारिश्रमिक लगायत खर्च गरी आफूलाई पनि आवश्यक पर्ने खर्च गर्न पुगेको छ । आफ्नो घरको काम पनि भ्याएको छु । व्यूटिसियन पेशाबाट अहिले त सन्तुष्ट छु ।
६. संघको अध्यक्ष भएर कार्यभार सम्हाल्दा चाही के–कस्तो चुनौती आउने गरेका छन् ?
पहिला पनि व्यूटिसियन संघको सचिव पदमा बसेर दुई कार्यकाल काम गरेको हो । सचिव पदमाभन्दा अध्यक्ष पदमा बसेर नेतृत्व गर्न केही चुनौति त पक्कै हुन्छ । तर पनि पहिलादेखि नै चिनेको व्यूटिसियन क्षेत्रको नै दिदीबहिनी भएकोले काम गर्न खासै गाह्रो त छैन । तर पनि सबै काम गर्न आफै अग्रसर हुनुपर्ने भएकोले केही गाह्रो भएको महशुस त हुन्छ । तर सबैको साथ सहयोगले गर्दा नेतृत्व गर्न सफल नै भएको छु ।
७. व्यूटिसियन संघको लागि चाहिने आर्थिक कसरी व्यवस्थापन कसरी गर्नुहुन्छ ?
हाम्रो कुनै कार्यक्रम गर्नु पर्दा व्यूटिसियन संघको कमिटीका साथीहरुको बैठक बस्छ । व्यूटिसियन संघको पनि आफ्नो नीति नियम हुन्छ । म एक्लैले मात्र निर्णय गर्ने होइन । कमिटीका साथी सबै मिलेर छलफल गरेर निर्णय गर्छौं । कुनै दातासंग आर्थिक सहयोग माग्छौं । हामीले धेरै ठूलो कार्यक्रम त गरेको छैन । तिजको दरखाने कार्यक्रम गर्दा टिकट सिस्टम गर्ने गरेका छौं । हामी आफू नै रकम संकलन गरेर पनि कार्यक्रम गछौं ।
८. व्यूटिसियन संघलाई कस्तो बनाउने लक्ष्य लिनु भएको छ ?
व्यूटिसियन पेशालाई अझै व्यवस्थित गर्न, महिला उद्यमीहरुको हक अधिकारलाई सुनिश्चित गर्ने चाहना छ । व्यूटिसियन पेशामा पनि धेरै सीपहरु छन् । जति पनि पर्सा जिल्लामा व्यूटिसियन पेशामा आबद्ध महिला दिदी बहिनीहरु हुनुहुन्छ । जो सिटीभिटी अनुसार तालिम प्राप्त गर्न सकेका छैनन् । सबैलाई लेभल २ सम्मको तालिम दिने इच्छा छ । दर्ता नभएका पार्लरहरुलाई दर्ता गर्नको लागि तागेता गरेको छु । जसलाई जे सहयोगको आवश्यक पर्छ म संघको अध्यक्षको हैसियतले त्यो सकेको सहयोग गर्न तयार छु ।
९. यो क्षेत्रमा आउने चाहने नयाँ दिदीबहिनीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
व्यूटिसियन पेशा भनेको व्यापक क्षेत्रमा ओगटेको छ । यस क्षेत्रमा आउन चाहने दिदी बहिनीहरुकोलागि थोरै सिकेर मात्र राम्रोसंग यो पेशामा संचालन गर्न सम्भव छैन । यदी साच्चै नै यो क्षेत्रमा लागेर केही गर्न चाहनु हुन्छ भने राम्रोसंग डिप्लोमासम्मको कोर्ष गरेर आउनुस् । केमिकलको प्रयोग गरेर कृतिम रुपमा नै सुन्दरी बनाउनु पर्ने भएकोले राम्रोसंग सिकेन भने सौन्दर्य हुनुको सट्टा झनै कुरुप बनाइदिने भएकोले राम्रोसंग जानकार हुनु नै जरुरी छ ।