विगत दश बर्ष यता वीरगन्जमा महिला तथा बालबालिका बेचबिखन हुनबाट बचाउने कार्यमा सकृय साना हातहरु नेपाल वीरगन्जले गएको सोमबार पनि फेरि दुई किशोरीलाई भारतमा बेचिनबाट जोगाएको छ ।
साना हातहरुको वीरगन्जकी प्रबन्धक रीता थापाको टोलीले वीरगन्ज बसपार्क अगाडी लाग्न थालेका १४ र १५ बर्षका भोजपुरका दुई किशोरीको उद्दार गरेको छ । अनपढ मात्र झुक्किन्छन् भन्ने पनि हुदो रहेन छ भन्ने यो अर्को ज्वलन्त उदाहरण हो । आखिर बेचिने अवस्था सम्म झन्नै कसरी पुगे त १० कक्षामा अध्ययनरत ती किशोरीहरु ? उनीहरुसँग मध्य नेपालले समग्रमा गरेको कुराकानी :-
१) तिमीहरुको नाम के हो ?
‘ए’ राई र ‘बी’ राई (परिवर्तित नाम)
२) घर कहाँ हो ?
भोजपुर
३) बुबा आमा हुनुहुन्छ ?
बुबा विदेशमा हुनुहुन्छ, आमा र दिदी घरमा नै हुनु हुन्छ ।
४) कति उमेर भयो ? र कति कक्षामा पढ्दै थियौं ?
ए (मेरो) उमेर १५ वर्ष । कक्षा १० सम्म पढेर छोडे । बी (मेरो) उमेर १४ बर्ष भयो । म पनि कक्षा १० मा पढ्दै छु ।
५) तिमिहरु कहाँ जान ? के गर्न हिडेका थियौ ?
हामी काठमाडौमा फुपाजुलाई भेटन हिडेका थियौ । फुपाजु काठमाडौमा काम गर्नु हुन्छ । फुपु र फुपाजु काठमाडौमा बस्नु हुन्छ ।
६) घरमा आमासंग सोधेर हिडेको कि यतिकै ?
हामी आमा र दिदीसंग सल्लाह गरेर नै फुपाजुकोमा जानेर भनेर हिडेको हो ।
७) घरबाट कहिले हिडेको ?
घरबाट हामी सावउको १९ गते बिहान ७ बजे हिडेको र गाडी चढने ठाउँमा ९ बजे पुग्यौ १० बजे गाडी आयो अनि चढेर हिडेको ।
८) कुन गाडीमा चढेको ?
बसमा
९) कहाँ जाने वसमा ?
बस खास गरी व्याउलीबाट विराटनगरको लागि हिडेको रहेछ । हामी धरानमा ओर्लिन आटेका थियौ । तर हामीलाई सिट छोडेर उभिएको दाइले भन्नु भयो धरनबाट महँगो पैसा लिन्छ ईटहरीबाट जाम म पनि काठमाडौ जाने हो भन्नु भयो । अनि हामी पनि उनै दाइको विश्वासमा इटहरीबाट सँगै काठमाण्डौ जाउँला भनेर धरानमा ओर्लिएनौं ।
१०) तिमीहरुसंग कति पैसा थियो ?
हामीसंग मम्मीले दिएको पाँच हजार पैसा थियो ।
११) व्याउलीबाट कति भाडाँ लियो ?
१२ सय
१२) त्यो मान्छेसंग कसरी भेट भयो ?
त्यो दाई सिटमा बसिरहेको थियो । हामी आउँदा सिट छोड्नु भयो । अनि गाडीमा नै चिनजान भयो ।
१३) के नाम भन्थ्यो त्यो मान्छेले ? घर कहाँ हो उसको ?
नाम त अर्जुन तामांग भन्नु भयो । घर पनि भोजपुर नै भनेको थियो । यहाँबाट मेमहरुले उसको श्रीमतिलाई फोन गर्दा घर भोजपुर नै हो भन्थ्यो ।
१४) वीरगंज तिमीहरु कसरी आईपुगे त ? काठमाडौ जाने थाहा थिएन ?
काठमाडौ जाने थाहा थियो । तर उसले यताबाट जाने भन्यो । ईटहरीबाट गाडी चढेर यता आयौ । नाईट गाडी चढेकोले बाटो थाहा भएन । हामीले खाने कुरा खान खोज्दा पनि बाटोमा खानु हुदैन उतै गएर खानु पर्छ भन्थ्यो त्यो दाइले ।
१५) कति वर्षको मान्छे थियो ?
त्यही २९/३० वर्षको थियो होला । हेर्दा बुढो बुढो लाग्थ्यो ।
१६) तिमीहरु यता वीरगंजमा आएको अथवा बेचिन लागेको कसरी थाहा भयो ?
हामी काठमाडौ जाने भनेर हिडेको । तर बिहान ५ वजे वीरगंज ल्यायो बसले । त्यस पछि वीरगंजको घण्टाघरमा अनिल लजमा ल्याएर कोठामा बस भन्यो त्यो जिल्लावासी नै भनेको मान्छेले । कोठाको वाहिरबाट ताल्चा लगाएर उ कता न कता गयो त्यो हामीलाई थाहा भएन ।
हामी दिन भरी कोठामा नै वसिरह्यांै । साझ ४ वजे उ आएर जाम रक्सौल घुम्न भन्यो । हामीलाई रक्सौल जान थालेका थियौ अनि मेमहरुले बाटोमा टाँगामा बसेको बेला सोध्नु भयो अनि थाहा भयो हामीलाई त भारत तर्फ पो उसले लादै रहेछ भनेर ।
१७) तिमीहरु किन जान लागेको थियो त ?
हामी त नजाने भनेका थियौ । हामीलाई लिन फुपाजु बसपार्कमा आइसक्नु भएको थियो होला भन्दा अहिले गाडी गई सक्यो । अव रातिमा मात्र गाडी पाउँछ वीरगन्जबाट । तव सम्म त हामी रक्सौलबाट घुमेर आइहाल्छौ । त्यहाँ सस्तोमा लुगाहरु, चुराहरु पाउँछ, भनेर जर्वजस्ती गरेर लान आटेको थियो । हामीलाई विश्वास त लागेको थिएन । तर कर गरेपछि जाम न त भनेर हिडेको थियौं ।
१८) तिमीहरु कक्षा १० मा बढ्ने विद्यार्थीहरु यसरी कसैले फकाएर जानु हुदैन वेचविखनमा परिन्छ भनेर थाहा थिएन ?
थाहा त थियो । तर उसले म त्यस्तो मान्छे होइन । म तिमीहरुलाई काठमाडौ पु¥याइ दिन्छु । म पनि त्यही जाने हो भनेर भन्यो । विश्वास दिलायो अनि हामीहरु राम्रै मान्छे होला भनेर विश्वासमा प¥यौ ।
१९) कुन ठाउँमा पुगे पछि मेमहरु भेटनु भयो ?
हामी बसपार्क कट्न आटेका थियौ । तर धन्न मेमहरुले भेट्नु भयो र जोगियो ।
२०) के सोध्नु भयो मेमले ?
कहाँ जान आटेको भन्नु भयो ? हामीले काठमाडौ जाने भन्यौ । यताबाट रक्सौल पुगिन्छ । काठमाडौ जाने बाटो यता त होइन भन्नु भयो । यतावाट त भारतमा लगेर वेच्छन् भनेर उहाँहरुले भने पछि बल्ल हाम्रो होस् खुल्यो ।
हामीहरु काठमाडौ जाने भनेर भोजपुरवाट आएको । तर हामीलाई थाहा भएन कहाँ आइपुगेका छौं भनेर । मेमले हामीलाई सम्झाउनु भयो । अनि हामीलाई बेचिन आटेको थाहा भयो । त्यो मान्छे त्यहीं थियो । एकछिनमा कोठाबाट समान ल्याउनु पर्ने भनेर भनेर गएको त उतैबाट भाग्यो ।
२१) अहिले घरमा कुराकानी भयो की भएन ? मोवाईल छ की छैन ?
हामीसंग मोवाई त थियो । तर सिम थिएन । अहिले मम्मीसंग घरमा कुरा भयो । हामीलाई लिन आउदै हुनु हुन्छ ।
२२) अव कसैले कही जान भन्यो भने जाने त ?
अव त नजाने । हामीले त राम्रै मान्छे होला भनेर विश्वास गरेका थियौ तर राम्रो मान्छे होइन रहेछ ।