१. इन्फ्लुएञ्जा कस्तो खालको रोग हो ?
इन्फ्लुएञ्जा भाइरल रोग हो । एक प्रकारको भाइरस संक्रमणलाई इन्फ्लुएञ्जा भनिन्छ । इन्फ्लुएञ्जाले मुख्यतया हाम्रो श्वास–प्रश्वास नलीमा असर गर्दछ । इन्फ्लुएञ्जा बेला बेलामा महामारीको रुपमा फैलने गर्दछ । इन्फ्लुन्जा, बर्ड फ्लू, स्वाइन फ्लू जस्तै पहिला चराचुरुङ्गी, सुगुर जस्ता प्रजातिमा हुने रोग हो । बेला बेलामा महामारीको रुपमा कडा खालको लक्षण लिएर जनावरबाट मानिसमा संक्रमण भएर माहामारी गराउँछ । सामान्यतया मौसम परिवर्तन हुदाँ गर्मीबाट जाडो र जाडोबाट गर्मी लागेको समयमा पनि इन्फ्लुएञ्जा भाइरस सक्रिय हुन्छ । मानिसको श्वासप्रश्वास प्रणालीमा असर गर्छ । इन्फ्लुन्जा ९० प्रतिशत स्वतः ठीक हुने रोग हो भने १० प्रतिशत बिरामीहरु अस्पताल नै भर्ना गर्नु पर्ने अवस्थामा पुग्छन् ।
२. इन्फ्लुएञ्जाको लक्षणहरु के कस्ता हुन्छन् ?
सामान्यतया यसका लक्षणहरु नाकबाट पानी बग्ने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, भोक नलाग्ने, थकाई लाग्ने, रोग प्रतिरोधात्मक शक्ति कम भएकाहरुमा निमोनिया बढाउने गर्दछ । खासगरी दम, मधुमेह, क्यान्सरका रोगीहरु, मृगौलाका खराबीका कारण औषधी सेवन गरिरहेका मानिस र वृद्धवृद्धाहरुमा यसले निमोनिया गराउँछ । इन्फ्लुएञ्जाले फोक्सोमा निमोनिया गराउँछ । यो जटिल अवस्था हो । इन्फ्लुएञ्जा निमोनिया भएमा श्वास फेर्न अप्ठ्यारो हुने, छिटो छिटो श्वास फेर्ने, अक्सिजन लेबल कम हुने अवस्था हुन्छ ।
३. इन्फ्लुएञ्जा लाग्ने कारणहरु के हुन् ?
गर्मीबाट जाडो र जाडोबाट गर्मी मौसम परिवर्तन हुदाँको समयमा इन्फ्लुएञ्जा भाइरस सक्रिय हुने गर्दछ । इन्फ्लुएञ्जा भाइरसले आफ्नो प्रारुप बदलिएर नयाँ भेरिएन्टको रुपमा आएर असर गर्छ । संसार भरी प्रत्यक्ष रुपमा मानिस, चराचुरुङ्गी र जनावरहरुमा इन्फ्लुएञ्जा भाइरस सक्रिय भएर बसेको हुन्छ । त्यो चराचुरुङ्गी र जनावरहरुको सम्पर्कमा आएका मानिसहरुको माध्यमबाट अर्को मानिसमा सर्ने गर्छ । इन्फ्लुएञ्जा एउटा सरुवा रोग हो । इन्फ्लुएञ्जा पनि श्वास–प्रश्वास सम्बन्धी रोग हो । यो रोग लागे मानिसले खोक्दा, हाच्छयूँ गर्दा एक मानिसबाट अर्को मानिसमा सर्छ । एक जनावरबाट अर्को जनावरमा सर्छ र माहामारीको रुप लिन्छ ।
४. इन्फ्लुएञ्जाको उपचार कसरी गर्न सकिन्छ ?
सामान्यतया धेरै इन्फ्लुएञ्जा संक्रमित रोगीहरु आफै निको हुन्छन् । ९० प्रतिशतभन्दा बढीमा आफ्नो शरीरको रोग प्रतिरोधात्मक शक्तिले ५ देखि ७ दिनसम्म निको हुन्छ । इन्फ्लुएञ्जा भाइरसको रुप बदलिएर नयाँ भेरियन्ट लिएर आएको अवस्थामा रोग प्रतिरोधात्मक शक्ति भएको मानिसलाई पनि निको हुन २ हप्तासम्म पनि ज्वरो, खोकी, रुघा रहन सक्छ । इन्फ्लुएञ्जाले गर्दा निमोनियन नै भएको छ भने एन्टिभाइरल औषधीहरु सेवन गर्नु पर्छ । भ्यान्टिलेटरमा राख्नु पर्ने र अक्सिजन लगाउनु पर्ने पनि अवस्था हुन्छ । अन्य लक्षणहरु देखिएमा पनि उपचार गर्नुपर्छ ।
५. इन्फ्लुएञ्जा लागेको मानिसलाई फेरी पनि लाग्ने सम्भावना कत्तिको हुन्छ ?
एक पटक इन्फ्लुएञ्जाबाट ग्रसित भएको मानिसलाई अर्को एकै प्रकारको पटक इन्फ्लुएञ्जा दोहोरिएर लाग्ने हुदैन । अर्को वर्ष वा हरेक मौसम परिवर्तन हुदाँ ५ इन्फ्लुएञ्जा भाइरसले नयाँ भेरिएन्ट लिएर आउँदा इन्फ्लुएञ्जा लाग्न सक्छ । वृद्धवृद्धा, बालबालिकाहरु, दीर्घरोगीहरुलाई प्रत्येक वर्ष इन्फ्लुएञ्जा भ्याक्सिन दिनुपर्छ । हरेक वर्ष नयाँ इन्फ्लुएञ्जा भाइरस आउने सम्भावना रहन्छ । इन्फ्लुएञ्जा भाइरसले श्वासप्रश्वास प्रणालीमा असर गर्ने भएकाले इन्फ्लुएञ्जा भ्याक्सिन प्रत्येक वर्ष लिनु पर्छ भन्ने मान्यता छ । विकसित देशहरुमा ६० वर्षभन्दा माथिका दीर्घरोगीहरुले इन्फ्लुएञ्जा भ्याक्सिन अनिवार्य रुपमा लगाउँछन् । चिकित्सकको परामर्शमा आउने दीर्घरोगी, दमका रोगी, वृद्धवृद्धा, मृगौलाको बिरामीहरुलाई इन्फ्लुएञ्जा भ्याक्सिन लगाउन अनिवार्य छ । वीरगंजमा पनि इन्फ्लुएञ्जा भाइरसको भ्याक्सिन पाइन्छ । एकदेखि २ हजार रुपैयाँ सम्ममा किन्न पाइन्छ ।
६. इन्फ्लुएञ्जा भ्याक्सिन कत्तिको महंगो छ ?
इन्फ्लुएञ्जा भ्याक्सिन सरकारको तर्फबाट निःशुल्क गरेको छैन । यो अलिकति मंहगो पनि छ । नारायणी अस्पतालमा जो मानिसहरु विमित छन् भने इन्फ्लुएञ्जा भ्याक्सिन बिमाद्धारा उपलब्ध भइरहेको छ । चिकित्सकले दिएको पुर्जाको आधारमा बिमा संस्थाले उपलब्ध गराउँछ ।
७. इन्फ्लुएञ्जा लाग्नबाट कसरी बच्न सकिन्छ ?
अन्य सर्ने श्वास–प्रश्वास रोगको रोकथाम जस्तै यसकोलागि पनि त्यही सावधानी अपनाएमा इन्फ्लुएञ्जा भाइरसबाट पनि बच्न सकिन्छ । इन्फ्लुएञ्जा लागेको मानिस खोक्दा रुमाल वा हातले मुख छोप्ने, रुघाखोकी लागेको बेलामा माक्सको प्रयोग गर्ने, कोही संक्रमित छ भने माक्स लगाएर बस्ने, भौतिक दुरी कायम गर्ने, दैनिक राम्ररी साबुन पानीले हात धुने बानी गरेमा एकबाट अर्कोमा संक्रमित हुन रोकथाम गर्न सकिन्छ । घरमा एक जना संक्रमित छ भने उसले सावधानी नअपनाउँदा घरको पुरै परिवारलाई नै सर्न सक्छ । इन्फ्लुएञ्जा लागेको मानिसको रोग प्रतिरोधात्मक शक्ति बलियो भएमा छिटो रोग निको हुने भएकोले यस्तो समयमा पौष्टिकयुक्त खानेकुरा, झोलिलो खानेकुरा खानुपर्छ । घरेलु औषधी कागती पानी, दुध बेसार, महको प्रयोग गर्दा पनि राम्रो हुन्छ । ज्वरो धेरै छ भने पारासिटामोल, रुघा धेरै छ भने टिएनटी स्टामिन, एन्टिएलर्जीको औषधीहरुको प्रयोग गरेमा औषतमा धेरै आफै ठिक हुन्छ । यसमा जथाभावी एन्टिवाइटिक औषधीको सेवन गर्नु हुदैन । कतिपय मानिसहरु आफै विभिन्न औषधीको सेवन गर्ने गरेका छन् । चिकित्सकको परामर्श बिना कुनै औषधी सेवन गर्नु हुदैन ।
८. इन्फ्लुएञ्जाको जाँच कसरी गर्न सकिन्छ ?
सामान्य फ्लू ३ देखि ५ दिनमा आफै ठिक भएर जान्छ । नाकबाट पानी आउदैन । ५ देखि ७ दिनभन्दा बढी रह्यो । खोकी बढ्दै गयो । सास फेर्न अप्ठ्यारो हुदै गयो भने सामान्य खालको फ्लु होइन । कडा खालको फ्लु हो भन्ने सोचेर चिकित्सककोमा परामर्श लिन जानु पर्छ । अक्सिजन लेवल हेर्न जाँच गर्न सकिन्छ ।
९. अन्त्यमा आम सर्वसाधारणलाई तपाई के सुझाव दिन चाहनुहुन्छ ?
मौसम परिवर्तनसंगै इन्फ्लुन्जाको रोगीहरु बढ्ने गर्छन् । त्यसैले इन्फ्लुएञ्जा लाग्नबाट बच्नुपर्छ । यदि आफूलाई इन्फ्लुएञ्जा लागेको छ भने घर परिवार र अन्य मानिसहरुलाई सर्न नदिन रोकथामका उपायहरु गर्ने । साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, खोक्दा, हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने गर्नुपर्छ । कडा खाले श्वास–प्रश्वासको समस्या देखा परेमा तुरुन्त नजिकैको चिकित्सकसंग परामर्श लिने गर्नु पर्छ ।