छ वर्षमा तीन सन्तानको जन्म, एकको सुरक्षित गर्भपतन । पर्साको एक २६ वर्षीय महिलाको विवाह पश्चात छ वर्षको अन्तरालको यथार्थ कहानी हो यो ।
दुई वर्षको अन्तराल पनि नभई पटक पटक रहेको गर्भ र तीन सन्तानको आमा हुँदा उनको शरीर एकदमै कमजोर नहुने कुरै भएन । शरीरकै कमजोरीको कारण चिकित्सकको सल्लाह अनुसार ती महिलाको चौथो गर्भलाई भने जन्म नदिएको तथ्य भेटिएको छ । तीन सन्तान पछि अर्को पनि गर्भ रहेपछि चिकित्सकको सल्लाह र परिवारको समन्वय पछि गर्भपतन गराइएको तथ्य फेला परेको छ । त्यसपछि भने उनले परिवार नियोजनको ईम्प्लान्टको सुविधा अपनाएकी छन् ।
त्यसै गरी छिमेकी जिल्ला बाराकी एक २३ वर्षीय अर्की महिलाको पनि एउटा बच्चा अप्रेसनबाट भएको छ । त्यसपछि भने उनले पनि गर्भ निरोधकको साधन प्रयोग गरेकी छैनन् । बरु गर्भ रहे त्यसलाई चिकित्सकको सल्लाह अनुसार गर्भपतन नै गराउने उनको निष्कर्ष छ । शारिरीक अवस्थाको कारण उनी पनि कमजोरी हुँदा परिवारको सल्लाहमा नै अर्को बच्चा तुरुन्त नजन्माउने उनको तर्क छ । तर अस्थायी साधन नै प्रयोग नगरी शारिरीक सम्पर्क गर्ने महिलामा जुनसुकै वेला पनि अर्को गर्भ रहने सम्भावना भने ताजै रहने परिवार नियोजन र सुरक्षित गर्भपतनको क्षेत्रमा दुई दशक विताएका मेरी सर्भिस सेन्टरका चिफ अप्रेसन अफिसर सन्दिप चौरसियाले तर्क गरे । यो जोखिम मोलेर बस्नुभन्दा अस्थायी साधन प्रयोग गर्नु उपयुक्त हुने उनको भनाइ छ । तर कतिपय महिलाहरुले गर्भ रहेपछि गर्भपतन गराउने कुरालाई चाही अस्थायी साधन जस्तो बुझ्न थालेको सो क्षेत्रमा लामो समय विताएका चिफ अप्रेसन अफिसर चौरसियाले बताए । यो बुझाइ नै गलत हो उनले भने । औजार र औषधीबाट सुरक्षित गर्भपतन गराउँदा पनि अस्थायी साधन प्रयोग गरी शरिर र स्वास्थ्य दुवै सुरक्षित राखेजस्तो नहुने उनको सुझाव छ । सुरक्षित गर्भपतन जतिपटक गर्भ रह्यो उतिपटक गराउँदा पनि धेरै पटकको गर्भपतनले समस्या ल्याउन सक्ने उनले तर्क गरे । यो भन्दा उत्तम विकल्प नै अस्थायी साधन प्रयोग रहेको उनको सुझाव छ । इच्छा नभएको गर्भलाई पतन गराउने कुरा त राम्रै हो । तर यसलाई पनि धेरै पटक प्रयोगमा ल्याउनु हुन्न उनले बताए ।
पारिवारिक योजना विना दम्पतिले वा महिला पुरुषले शारिरीक सम्बन्ध राख्दा यदि गल्तीले बच्चा बस्यो भने सम्झदारीमा त्यसलाई गर्भपतन गराउनु नै सुरक्षित गर्भपतन हो । गर्भपतन गराउन १० हप्तासम्मको गर्भमा चाही जोखिम कम हुने २६ वर्षदेखि मेरी स्टोप सेन्टर र अन्य संस्थामा निरन्तर काम गर्दै आएकी संगिता कुमारी कर्णले बताइन् । उनी हाल अढाई वर्षदेखि वीरगंज महानगरपालिकाको घण्टाघर लिंक रोडमा रहेको मेरी सर्भिस सेन्टरमा नर्सिंग अफिसरको रुपमा कार्यरत छन् । सुरक्षित गर्भ पतन नै गराउँदा पनि कहिलेकाही जोखिम हुन सक्ने उनको तर्क छ । औजारबाट गर्दा खेरी पाठेघरको मुख नखुल्ने, त्यस भित्र भएको पिओसिहरु नआउने हुँदा कहिले काही बढि रगत बग्ने पनि हुन सक्छ । तर औषधी खादा पनि धेरै दुखाइ हुने जोखिमहरु हुन चाही सक्छ उनले भनिन् ।
गर्भपतन गराउँदा सरकारको जुन ऐन कानुन छ र सुरक्षित ठाउँमा गएर दक्ष व्यक्तिसँंग गर्भपतन गराउनु उपयुक्त हुने उनको सल्लाह छ । पछिल्लो समय जनचेतनाको कारण हुन सक्छ विगतमा भन्दा सुरक्षित गर्भपतन गराउन आउने महिलाहरुको संख्या केही प्रतिशतले वृद्धि भएको उनको तर्क छ । यसरी सुरक्षित गर्भपतन गराउन आउनेमा १८ वर्षदेखि ५० वर्ष उमेर समूहका महिलाहरु रहेको उनको भनाइ छ ।
कहिले काही १६ वर्षका पनि युवतीहरु आउँछन् उनले भनिन् । तर त्यस्तो केश आफूहरुले चाही नलिने गरेको उनले बताइन् । हामी धेरै जटिल केश वा धेरै कम उमेरको केश आएमा अस्पतालहरु तर्फ रिफर गरिदिन्छौं संगिताले भनिन् । कुनै कुनै सेवाग्राही नजिकको औषधी पसलबाट आफ्नै मनले औषधी खाई निकै जटिल अवस्था भएपछि आफूहरु भएको ठाउँमा आउने गरेको उनको अनुभव छ । कसैले थाहा नपाओस् भनी नजिकको औषधी पसलबाट आफ्नै मनखुशीले औषधी खाने गर्नु घातक रहेको उनको तर्क छ ।
मेरी सर्भिस सेन्टरमा १० हप्तासम्म भएको अवस्थामा सुरक्षित गर्भपतन गर्ने गरिन्छ । जुन व्यक्ति सुरक्षित गर्भपतन गराउन आउँछ त्यो व्यक्तिले स्वेच्छाले गराउन पाउँछ । त्यसमा पनि उमेर अनुसार र नावालिक छ भने त्यसको अभिभावक अनिवार्य हुनु पर्ने र स्वेच्छा पनि चाहिने उनले तर्क गरिन् । मेरी सेन्टरमा विवाहित मात्र नभई अविवाहित पनि आउने गरेको उनले बताइन् । अविवाहितको मात्रा भने विवाहितको तुलनामा निकै कम रहेको उनले अनुभव सुनाइन् । आजकल सेन्टरमा दिनमा ३ वटासम्मको हाराहारीमा सेवाग्राही आउने गरेका छन् उनले भनिन् ।
अहिलेको डाटा अनुसार औजारले नै मान्छे बढि गर्भपतन गराउन थालेका छन् । औषधीको तुलनामा यो अझ जटिल हो अफिसर संगिताले बताइन् । मेरी सर्भिस सेन्टरमा शहर बजारदेखि ग्रामिण भेगसम्मका मान्छेहरु आउन थालेको मेरी सर्भिस सेन्टरले जनाएको छ । शहर तिरका मान्छे बढि पढेलेखेको हुनाले औषधी किनेर आफै खाने भएकोले त्यसको तुलनामा ग्रामिण क्षेत्रका मानिस मेरी सेन्टरका बढि सेवाग्राही रहेको देखिन्छ त्यहाँका कर्मचारीले तर्क गरे । विगतमा जस्तो अन्जानमा गर्भ रहे सहेर नबसी दक्ष व्यक्ति भएको ठाउँमा गएर सुरक्षित गर्भपतन गराउन मेरी सेन्टरका कर्मचारीको सुझाव छ । तर सुरक्षित गर्भपतनलाई धेरै मान्छेले परिवार नियोजनको साधन जस्तो पनि बुझ्न थालेका छन् । यो चाही सम्वेदनशिल पक्ष भएको उनीहरुको भनाइ छ । सुरक्षित गर्भ पतन पनि धेरै पटक गराए त्यो पनि जोखिम निम्तिन सक्ने उनीहरुको तर्क छ ।
अब सुरक्षित गर्भपतनलाई विद्यालयस्तरबाट नै जानकारी गराउन सके यसको प्रभावकारीता हुने स्वास्थ्यकर्मीहरुको सुझाव छ । यसो भयो भने कहाँ जाने, सुरक्षित ठाउँ कुन हो ? सबैलाई जानकारी पनि हुने मेरी सेन्टरकी अफिसर संगिता कर्णको पनि भनाइ छ ।
कानुनी रुपमा प्रतिबन्धित भएता पनि गाउँ घरका मान्छेहरु गएर औषधी पसलबाट नै गर्भपतनको औषधी लिएर खाने गर्छन् । यो विधि पनि असुरक्षित रहेको स्वास्थ्यकर्मीहरुको तर्क छ । सेवाग्राहीको सबै अवस्था बुझेर मात्र औषधी दिनु पर्ने र त्यसको अलावा स्वीकृति प्राप्त गर्भपतन सेन्टरमा गई गर्भपतन गराउनु नकारात्मक असरबाट बच्ने सबैभन्दा उत्तम विकल्प रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
कोही रगत बगिरहेको, पाठेघरको इन्फेक्सन भइरहेको र परिवार नियोजनको सुविधाहरु नअपनाएर नचाहेको बेलामा बच्चा बस्दा त्यसबाट परिवार नै जोखिममा परेकोसम्म अवस्थाका बिरामी आउने भएको हुँदा सुरुमा नै सतर्कता अपनाए यस्ता जोखिम कम गर्न सक्ने उनीहरुको तर्क छ । सुरक्षित गर्भपतनको कानून नेपालमा नहँुदा मातृ मृत्युदर बढि थियो । तर सुरक्षित गर्भपतनका बारे शहर तिर सबै मानिसलाई थाहा छ । अनि गाउँ तिर अझै यसको बारेमा सूचना विस्तार गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । (यो लेख युवाको युथ एक्सेस परियोजनाको फेलोसीपअन्तर्गत लेखिएको हो ।)