उच्च अदालत पाटनका केही न्यायधिशलाई प्रभाव पार्न र आफ्नो पद जोगाउन कृषि सामग्री कम्पनीका प्रवन्ध संचालक ध्याउन्नमा लागेपछि किसानका लागि ल्याउन पर्ने रासायनिक मल भने समयमा आइनपुग्दा डिएपी मलको अभाव भएको छ । अवैधानिक नियुक्ति बचाउन कम्पनीका प्रवन्ध संचालक विष्णु प्रसाद पौडेल हात धोएर अदालतको शरणमा पुगेपछि उनको पद त जोगियो । तर नेपाली किसानले भने समयमा डिएपी मल नपाउँदा जिल्लाका किसान समस्यामा परेका छन् ।
मल खरिदमा युएस डलरको कमिशन हातपार्न खप्पिस मानिने हालका प्रवन्ध संचालक पौडेल त्यसैको बलमा न्यायालयलाई समेत प्रभावमा पार्न पछि नपरेको आरोप लागेको छ । हुन पनि पाटन उच्च अदालतको पछिल्लो निर्णयले उनको पद जोगिएको कृषि मन्त्रालयका केही कर्मचारीको तर्क छ । हुन पनि पाटन उच्च अदालतका दुईदुई वटा आदेशलाई उल्टाई भर्खरै प्रवन्ध संचालक पौडेलकै पक्षमा निर्णय आउनुलाई कृषि सामग्री कम्पनीका विज्ञ कर्मचारी समेत तीनछक्क परेको खुलासा भएको छ ।
उता प्रवन्ध संचालक बचाउन अदालतमै रस्साकस्सी चल्दा यता किसानको लागि ल्याउन पर्ने डिएपी मल भने अभाव भएको भेटिएको छ । मल खरिद गर्दा कमिशन भित्र्याउन खप्पिस प्रवन्ध संचालककै कदममा कृषि मन्त्रालयका सचिवको घुमाउरो साथले कृषि सामग्रीका प्रवन्ध संचालकलाई जोगिन बल मिलेको कृषि मन्त्रालयकै केही कर्मचारीको आरोप पनि छ । उता अवैध लाभका लागि ठूलै चलखेल भइरहँदा यता पर्सा जिल्लामा भने डीएपी मलको चरम अभाव भएको किसानको गुनासो छ । किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साहले किसानलाई मल अभाव भएको पुष्टि गरे । जिल्लामा डीएपी मलको चरम अभाव छ उनले भने । अहिले ‘चैते धान, मकै, उखु, सुर्ती आदि बालीका लागि डीएपी मलको अत्यधिक माग रहेको छ,’ उनको भनाइ छ ।
‘मलको अभावमा बाली नै बिग्रने चिन्ता भएको छ, उखु बालीतर्फ खुटी बालीमा सिंचाईपछि डीएपी मल छर्ने समय बित्दो अवस्थामा छ, किसानले खोजेको बेलामा डीएपी मल पाउन सकिएको छैन पर्साका किसानले विस्तृतमा बताए । ’नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी साह पनि डीएपी मलको चरम अभाव भएको गुनासो गर्छन् । चैते धान रोपाई गरेका र गर्न ठिक्क परेका किसानलाई बढी समस्या भएको उनले गुनासो गरे । ‘जसले चैते धान अझै रोपेका छैनन् उनीहरुलाई निक्कै झन समस्या भएको छ,’ उनले बताए । ‘सिचाईं सुविधा भएर भदैया धान बाली लगाउने सोच बनाएका किसानलाई धानको बिउ छर्न पनि डीएपी मलको अभाव रहेको उनको भनाइ छ । सिमा क्षेत्रमा बसोबास गर्ने किसानले भारतबाट डीएपी मल ल्याए पनि उत्तरी भेगका किसानलाई भने विकल्प नरहेको उनले तर्क छ ।
अहिले किसानलाई चैते धान, उखु बाली र सुर्ती बालीका लागि समेत डीएपी मलको आवश्यकता रहेको छ । मल आपूर्ती गर्ने संस्था कृषि सामग्री कम्पनीसँग डीएपी मलको पर्याप्त मौज्दात नरहेको कम्पनीले पनि जनाएको छ । अभावका समयमा उपलब्ध गराउने संचित मल पनि सकिएको कर्मचारीको भनाइ छ । तालिका अनुसार कृषि सामग्री कम्पनीले डीएपी मल समयमा नभित्र्याउँदा मधेश, बागमती र गण्डकी प्रदेशमा समेत यस वर्ष डीएपी मलको अभाव हुने देखिएको मल बिक्रेताहरुको तर्क छ । हाल कम्पनी प्रादेशिक कार्यालय वीरगन्जसँग २ हजार ५ सय ४५ मे.ट. र वीरगन्ज समेत मधेश प्रदेश भरीका कम्पनीका कार्यालयहरुमा गरी २ हजार ८ सय ८५ मे.ट. डीएपी मल मौज्दात रहेको कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जले जनाएको छ । हाल उपलब्ध डीएपी मल पनि संचित मौज्दात र पठाउन बाँकी कोटाको मल रहेको बुझिएको छ । सिन्धुली, पर्वत, दमौली, गजुरी, पोखरा लगायतका कार्यालयमा अझै पनि कोटाको डीएपी मल परिचालन हुन नसकेको किसानहरुको गुनासो छ ।
यता वीरगन्जस्थित कार्यालयसँग युरिया मल भने पर्याप्त मौज्दात रहेको कार्यालयले जनाएको छ । हाल वीरगन्जमा ८ हजार ७ सय र मधेश प्रदेशभरका कार्यालयहरुमा १८ हजार ९ सय १३ मेटन युरिया मल मौज्दात रहेको पाण्डेको भनाइ छ । हाल युरिया मलको माग कम भएकाले यसको मौज्दात बढेको उनले प्रष्ट पारे । केन्द्रको निर्देशनमा चैते धान बालीलाई लक्षित गरी कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले समेत सञ्चित मौज्दातबाट युरिया र डीएपी मल वितरण गरी रहेको दावी गरिएको छ । सामान्यतया यी संस्थानले सञ्चित मौज्दातको मल आपतकालीन अवस्थाका लागि भनेर राख्ने गरेकोमा यो पटक सो मल पनि वितरण गरिएको तथ्य उजागर भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद, बिजवृद्धी कार्यक्रम जस्ता सरकारी निकायहरुलाई आवश्यक परेको बेला वर्षैभरी उपलब्ध गराउन भण्डारण गरी राख्ने गरिएको मल पनि अहिले खपत भएको बुझिएको छ । नियमित रुपमा भित्रिने मलको कूल परिमाणबाट १० प्रतिशत छुट्याएर यसरी सञ्चित मौज्दात राख्ने चलन रहेको पाइएको छ ।