१. समाज सेवामा लागेको मानिस राजनीतिक क्षेत्रमा आउनुको कारण के हो ?
कक्षा ९ मा पढ्दा–पढ्दै आफ्नो गाउँघर, समाजको विकास गर्ने धेरै चाहना थियो । आफ्नो अध्ययन सकेर विभिन्न संघ–संस्थामा आवद्ध भएर काम गर्न सुरुवात गरें । स्थानीयस्तरमा नै सामाजिक क्षेत्रमा काम गर्ने भएकोले राजनीतिक दलका नेताहरुलाई नजिकबाट नियाल्ने मौका पाए । राजनीतिक क्षेत्रमा सक्रिय भएका गाउँ, समाजको विकास गर्न सक्ने, शिक्षित र सक्षम कुनै पनि दलका व्यक्ति आउन नसकेको कारण राजनीति क्षेत्रमा लाग्नु पर्छ भन्ने सोचेर यता तर्फ लागेको हो ।
२. तपाईको वडालाई समृद्ध बनाउने ५ वर्र्षे योजना के–के छन् ?
वीरगंज महानगरको ३० नम्बर वडा ग्रामिण भेगमा रहेको छ । पछिल्लो समयमा वीरगंज महानगरमा गाभियो । तर विकासको हिसाबले यो वडा महानगरपालिका भन्ने लायक थिएन । घरघरमा सिंहदरबार भन्ने नाराले व्यापक चर्चा त पायो । जनताको घरघरमा दरबार त पुग्यो । तर सिंह भने काठमाण्डौंमा नै रह्यो जस्तो लाग्छ । त्यस्तै वीरगंज महानगरको विकास शहरमुखी भयो । गाउँमुखी हुन सकेन । निर्वाचनमा सार्वजानिक गरेको मेरो प्रतिवद्धता पत्रको डिजाइन निर्वाचन हुनु ५ वर्ष अगाडी नै गरेको थिएँ । सामाजिक संघ–संस्थामा काम गर्दा गर्दै वडामा जे अवश्यक थियो, त्यो विकास गर्न आवश्यकता ठान्दै आफ्नो डायरीमा लेख्दै गएँ । आफू गाउँमा कक्षा ५ पढेर परवानीपुरको उच्च मा.वि विद्यालयमा पढ्न साढे ३ कि.मी.हिडेर जादाँ भोगेका दुःख महशुस गरेर योजना गरेको थिएँ । त्यसैले म निर्वाचित भएपछि शिक्षालाई पहिलो प्राथमिक्ता दिने प्रतिवद्धता गरें । स्वास्थ्य, मठ मन्दिर, मदरसा निर्माण, बाटो निर्माण गर्ने, युवा तथा महिला रोजगारकोलागि, २, ३ वटा साना उद्योग संचालन गर्ने, शिक्षाको हव बनाउने, आम जनतालाई आधारभूत आवश्यकताहरु वडामा नै उपलब्ध गराउने योजना निर्धार गरी त्यसै अनुसार काम गरिरहेको छु ।
३. तपाईले २ वर्षमा के–के गर्न सफल हुनु भयो ?
गाउँमा कक्षा ५ पढेर परवानीपुरको उच्च मा.वि. मा पढ्न साढे ३ कि.मी.हिडेर जादाँ भोगेका दुःख महशुस गरेर शिक्षालाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता गरे अनुसार कक्षा ८ सम्म भएको विद्यालयललाई कक्षा १० सम्म संचालन गराउन सफल भएँ । सरकारी विद्यालयका २ सय विद्यार्थीलाई ड्रेस, टाई, बेल्ट वडाको बजेटबाट व्यवस्थापन गरें । वडाका आधारभूत, मदरसा र ३ वटा मा.वि. का सबै बालबालिकाहरुलाई विद्यालय शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर निःशुल्क कापी, डटपेन, दिएका छांै । बालबालिकाहरुको लागि मंगलबार लगाउने ड्रेसको व्यवस्था गरेका छौं । मा.वि. संचालन गर्नमा केही व्यक्तिहरुले रोकावट गरे पनि धेरै मेहनत गरेर मा.वि. संचालन गराइएको छ । सरकारी विद्यालय पनि बोडिङ्ग विद्यालयभन्दा केही कम छैनन् । नमुनाको रुपमा चिनाउन प्रयास गरेको छु । छोरीहरुको शिक्षालाई प्राथमिकतामा राखेर कक्षा १० पास गरी ११ कक्षामा भर्ना भएका छोरीहरुलाई हरेक वर्ष कम्प्युटर दिने घोषणा गरेको छु । गत वर्ष वडाका १७ जना छात्रालाई वितरण गरिएको थियो । यो वर्ष कक्षा १० पास भएका २६ जना छात्राहरुलाई दिने तयारीको अन्तिम चरणमा पुगेका छौं । वडाको स्वास्थ्य चौकी महानगरको दोस्रो स्थानमा पर्न सफल भएको छ । ३ करोडको हाराहारीको जग्गा उपलब्ध गराएर निर्वाचन पूर्व नै स्वास्थ्य चौकी निर्माण गरेका छौं । त्यो स्वास्थ्य चौकीलाई सफा, सुन्दर र सेवाग्राहीहरुलाई जाँच गर्न र बस्नका लागि सहज वातावरण मिलाइएको छ । विद्यालय, स्वास्थ्य चौकी, मन्दिर, वडाको चौक–चौकमा सि.सि क्यामेरा जडान गरिएको छ । वडामा नै कन्ट्रोल रुम राखेर वडा कार्यालयबाट नै निगरानी गर्ने गरेका छौं । वडाबाट बाहिर गएको समयमा पनि आफ्नो मोबाइलमा एप्स राखेर वडाको गतिविधि नियालिरहेको हुन्छु । स्वयमसेविकाहरुलाई सरकारले १ हजार मात्र दिएको थियो । उनीहरुलाई सो रकम कम हुन्छ भनी स्वास्थ्य चौकी अगाडी ५ वटा सटर निर्माण गरेर त्यसबाट उठेको पैसाले ९ जना स्वयमसेविकाहरुलाई थप भत्ता दिन तयारी गरिरहेका छौं । डाक्टरसंग कुरा गर्न सजिलो होस्, गर्भवती महिलाहरुको अवस्थाको बारेमा जानकारी लिन सकुन भनी स्क्रिन टच मोबाइल र सिम दिने निर्णय गरेका छौं । वडाको हरेक पोलमा उज्यालो वीरगंजको बत्ति जडान गरेका छौं । वडाको हिसाबले सबैभन्दा कम बजेट आए पनि प्रदेश, महानगर, संघबाट, मन्त्रीहरुको सहयोग लिएर विकास निर्माणका काम गरिएको छ । ४ विगा २ कठ्ठा व्यक्तिको नाममा गएको जग्गा नेपाल सरकारको नाममा फिर्ता गराएर “स्वाती भिलेज पार्क” निर्माण कार्य सुरु भइरहेको छ । हिमाल आइरनले कब्जा गरेको ६ कठ्ठा जग्गा फिर्ता गराइएको छ । पिपरा गुठीको २ विग्गाको हाराहारीमा रहेको जग्गा र हिमाल आइरनले कब्जा गरेर व्यक्तिको नाममा पास गरेको जग्गालाई फिर्ता गरी खेलकुद मैदान बनाएका छौं । अबका योजनाको काम भनेको रोजगार सृजना गर्ने तर्फ छ । वडामा २, ३ वटा साना–साना उद्योगहरु स्थापना गरेर युवा तथा महिलाहरुलाई रोजगारी दिने कामलाई प्राथमिकतामा राखिएको छ । वडालाई महानगरको नमूनाको रुपमा बनाउने लक्ष्य छ ।
४.महानगरको भौतिक पूवार्धार विकासको संयोजक भएर काम गर्न कत्तिको चुनौती थियो ?
भौतिक पूर्वाधारको संयोजक भएर काम गर्दा महानगरपालिकाको ३२ वटा वडालाई मध्य नजर गरेर भौतिक पूर्वाधार निर्माणको काम बजेट विनियोजन गर्नुपर्ने हुन्छ । महानगरको सबैको भन्दा कम बजेट मेरो वडाको नै हुन्छ । कुनै पनि वडाका वडाध्यक्षले भन्न सकेका छैनन् । आफ्नो वडालाई प्राथमिकतामा राखेर काम गरेको छ । मेरो वडाको विकासकालागि प्रदेश,संघ, पूर्वमन्त्री प्रदिप यादव, मेयरको सहयोगबाट व्यवस्थित गरेको छु । काम गर्दा आफ्नो स्वार्थ राखेर गरेमा विवाद हुन्छ । जो मानिस निश्वार्थ भावले काम गर्छ भने खासै चुनौती हुदैन । वडाध्यक्ष र मेयरसंग सहकार्य गरेर नै काम गर्ने भएकोले काम गर्न पनि सहज नै भएको छ ।
५.तपाइको कार्यकालको अन्त्यमा वडालाई आम जनताले कस्तो देख्न पाउने छन् ?
मेरो कार्यकालमा जे काम गर्नु पर्ने हो । मेरो प्रतिवद्धता अनुसार सुरुवात गरिसकेको छु । बजेटको अभावले सबै काम तुरुन्त सम्भव नभए पनि कार्यकालको अन्त्यसम्म चुनावमा प्रतिवद्धता गरेको काम पूरा गर्ने सोचमा छु । वडाको हरेक ठाउँमा झिलिमिली उज्यालो, हराभरा भएको वडा आम जनताले देख्न पाउने छन् । शिक्षाको हवको रुपमा मेरो वडालाई स्थापित गर्नेछु । मेरो साढे ६ सय मतदाता, विपक्षी दलका नेता, मेरो प्रतिद्धन्द्धी उमेद्वार लगायत सबैको साथ प्रशंसाले गर्दा अझै काम गर्न उत्साह थपिएको छ ।
६.सामाजिक क्षेत्रबाट आएर राजनीतिक क्षेत्रमा नेतृत्व गर्दा चुनौती भएन ?
पहिलादेखि नै म सामाजिक काममा लागेको हुनाले नेतृत्व गर्नको लागि भने खासै समस्याहरु भएन । विद्यार्थी जिवनमा पनि खाजा खाने पैसा बचाएर कापी, कलम किन्न नसकेर पढ्न जान नपाएका बालबालिकाहरुको लागि सहयोग गर्थें । विद्यार्थी जिवनदेखि नै आफ्नो वडाको विकास गर्ने सपना थियो । सामाजिक काम गर्दै आएकोले सबैसंग चिनजान भएकोले काम गर्न मलाई खासै चुनौती भएन ।
७. तपाईलाई आगामी दिनमा पनि राजनीतिकमा देख्न पाइन्छ कि ?
मैले मेरो वडाको समृद्ध र विकासकोलागि राजनीतिमा आउनु परेको हो । यो कार्यकालमा मैले बजेटले भ्याउन सक्ने जति काम त गर्छु । मेरो योजनामा परेका बजेटले भ्याउन नसकेका काम गर्नका लागि अर्को कार्यकाल पनि वडाको नै नेतृत्व गर्ने इच्छा छ । पहिला आफ्नो घर, गाउँलाई नै राम्रो बनाउनु पर्छ । आफ्नो गाउँ ठाउँको विकास गरेपछि मात्र अन्य ठाउँका जनताको लागि पनि काम गर्नु पर्छ । तबमात्र उनीहरुले पनि विश्वास गर्छन् । हामी माथि गएर मात्र हुदैन । तल्लोस्तरदेखि नै सुधार गर्दै जानु पर्छ ।
८.अन्त्यमा के भन्न चाहनु हुन्छ ?
महानगरपालिकाको विकासले छुन नसकेको पीछडिएको वडाका जनताले भोगेका दुःखहरुलाई निवारण गर्न लागिपरेर काम गर्छु । ‘गरे के हुन्न’ भने भनाईलाई महानगरको नै नमुना वडाको रुपमा बनाउने चाहनामा मेरा वडावासी, सहकर्मी पक्ष, विपक्षीहरु सबैले साथ दिनु भएकोमा धन्यवाद पनि दिन चाहन्छु । मेरो वडाको अवस्थिति र मेरो कामलाई औल्याई त्यो कुरा सार्वजनिक गर्ने मिडियाकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु ।