१. सुरक्षित गर्भपतनको बारेमा बताइदिनुस् न ?
परिवार योजना बिना बसेको गर्भलाई हटाउनु नै गर्भपतन हो । कुनै पनि दम्पत्तिलाई बच्चा आवश्यक नभएको अवस्थामा गर्भ रहन गएको खण्डमा दम्पत्तिका आपसी समझदारीमा सुरक्षित रुपमा गर्भपतन गराउन पाउने प्रावधान नै सुरक्षित गर्भपतन हो । गर्भपतन गराउँदा सरकारी ऐन,कानून नीति नियमको परिधि भित्र रहेर सरकारले मान्यता दिएको सुरक्षित स्थानमा गएर तालिम प्राप्त व्यक्तिसंग गर्नुपर्ने हुन्छ ।
२. गर्भपतन गराउन कुन उमेर सम्मका महिला आउँछन् ?
मेरी सर्भिस सेन्टरमा १८ वर्षदेखि ४५ वर्षसम्मका महिलाहरु आउने गरेका छन् । एका दुई १६ वर्ष उमेरका पनि आउने गरेको छन् । तर यस्ता सेवाग्राहीहरुलाई नारायणी अस्पतालमा रिफर गर्ने गरेका छौं । कुनै महिलाको स्वास्थ्य अवस्था र साइज हेरेर यहाँ सम्भव हुने सेवाग्राहीलाई मात्र सुरक्षित गर्भपतन गराउछौं ।
३. कस्ता समस्या भएका महिलाहरु गर्भपतन गराउन आउँछन् ?
धेरै जसो महिलाहरु परिवार योजना अनुरुप नै गर्भ रहेको तर बच्चाको धड्कन नभएकोले गर्भपतन गराउन आउँछन् । कतिपयको २ वटा बच्चा भएर पनि गल्तीले गर्भ रहेको अवस्थामा आउँछन् । गल्तीले आफै गर्भपतन भएर धेरै रगत बगेका महिलाहरु पनि आउने गर्छन । सुरक्षित गर्भपतन गरेको महिलाहरुमा पनि धेरै रगत बगेर पनि आउने गरेका छन् । सन्तानको रहर पुगिसकेको अनिश्चित गर्भ रहेका महिलाहरु पनि सुरक्षित गर्भपतनकोलागि आउने गर्छन् ।
४.गर्भपतन गर्न आउँदा गर्भ रहेको कसरी यकीन गर्नुहुन्छ ?
सरकारले १२ हप्तासम्म गर्भपतन गराउन कानूनी मान्यता दिएको भएपनि मेरी सर्भिस सेन्टरमा हामी १० हप्तासम्मको सुरक्षित गर्भपतन गराउछौं । १० हप्ता भन्दा माथिको गर्भ भएका महिलाहरुलाई सरकारी अस्पतालमा रिफर गर्ने गरेका छौं । उमेर पुगेका महिलाहरुको १० हप्तासम्मको गर्भ महिलाको मञ्जुरीनामामा स्वइच्छाले गर्भपतन गराउछौं । नाबालकको हकमा अभिभावकको मञ्जुरीनामा लिएर मात्र गर्भपतन गराउँछौं ।
५. गर्भपतन गराउन जादाँ कत्तिको गोप्यनियता हुन्छ ?
हाम्रोमा आउने सबै सेवाग्राहीहरुलाई परामर्श गर्दा गोप्य रुपमा गर्ने गरेको छौं । कसले के सेवा लिइरहेको छ । बाहिरको कसैलाई पनि जानकारी नदिई गोप्य रुपमा गर्ने । सेवाग्राहीको कार्ड कर्मचारी आफैले भित्र लैजाने, अविवाहितहरु धेरै जना सेवाग्राहीको बीचमा कुरा गर्न नचाहदाँ आराम कक्षमा राखेर त्यही कार्ड भरेर गोप्यनीयताको साथ सुरक्षित गर्भपतन गराउछौं । गर्भपतन गराउन आउने कतिपय महिलाहरु जाँच गरेर गर्भ रहेको निश्चित गरेर आउँछन् । कतिपय महिनावारी समय भन्दा बढी समयसम्म नभएको गर्भरहेको अनिश्चित भएकाहरुलाई पिसाब जाँच, पाठेघरको जाँच, अल्ट्रसाउण्ड गरेर गर्भ भए नभएको पत्ता लगाए पछि गर्भपतन गराउँछौं । दैनिक २ देखि ३ जनाको हाराहारीमा गर्भपतन गरेका छौं ।
६. सुरक्षित गर्भपतन गराउँदा पनि जोखिम कत्तिको हुन्छ ?
सुरक्षित गर्भपतन गराउँदा पनि जोखिम हुन सक्छ । हामी गर्भरहेको १० हप्ताको मात्र गर्भपतन गछौं । औषधी र औजारले गर्भपतन गराउँदा त्यसमा जोखिम कम छ । औजारले गर्भपतन गर्दा पनि कहिलेकाँही पाठेघरको मुख नखुल्ने, पाठेघर भित्र भएको पियुषहरु नआउनाले धेरै रगतहरु बग्ने हुन्छ । औषधीको सेवन गर्दा पनि धेरै दुखाई हुने, रगत बग्न सक्छ । औषधी र औजार दुबैबाट गर्भपतन गर्न तालिम लिएकोले दुवै तरिका सहज लाग्छ । कतिपय सेवाग्राही औजारबाट नगरी औषधीबाट नै गर्ने भनेर निर्णय गर्छन् । औषधी एक पटक खाएर गएपछि दोहो¥याएर आउनु पर्दैन । औजारबाट गर्भपतन गर्दा औषधी खुवाएर सफा गर्नुपर्छ । फेरि फ्लोअपमा आउनु पर्ने भएकोले झन्झट हुन्छ । अहिले सम्म सबै भन्दा बढी औजारको प्रयोग गरेर नै गर्भपतन गर्नेको संख्या बढी छ ।
७. सुरक्षित गर्भपतनको राम्रो,नराम्रो पक्ष के छ ?
सुरक्षित गर्भपतन गर्न सेन्टरहरु खोलेको जानकारी पाउँदा असुरक्षित गर्भपतन गर्दैनन् । सुरक्षित गर्भपतन हुदाँ महिलाहरुमा धेरै रगत बग्दैन । महिलाहरुमा जोखिमपूर्ण अवस्था हुने डर हुदैन । भने केही महिलाको स्वास्थ्यमा असर पर्न सक्छ । पटक–पटक गर्भपतन गर्दा पाठेघरमा समस्या आउन सक्छ । शरीरमा रगतको कमी हुन सक्छ । कहिले काँही पाठेघरमा प्वाल पर्न सक्छ ।
८. सुरक्षित गर्भपतनको बारेमा अझै के गर्दा उचित हुन्छ ?
सामान्यतया किशोरीहरुमा सुरक्षित गर्भपतनको विषयमा व्यापक जनचेतना जगाउन जरुरी छ । विद्यालयस्तरको पाठ्यक्रममा नै सुरक्षित गर्भपतनको विषय शिर्षक राखेर अध्ययन गराउनु पर्छ । यदी गर्भ रहेको खण्डमा कहाँ गएर सुरक्षित गर्भपतन गराउने विषयमा जानकारी गराउनु पर्छ । परिवार नियोजनको बारेमा काम गर्ने धेरै संघ–संस्थाहरु छन् । गाउँ–गाउँमा स्वयमसेविकाहरु छन् । उनीहरुलाई तालिम दिनु पर्छ । यस्ता समस्या आएको खण्डमा कहाँ पठाउने जस्ता विषयहरुमा स्वयमसेविकाहरुलाई तालिम दिनुपर्छ । यस्ता समस्या आउनु अगाडी नै परिवार नियोजनको साधन प्रयोग गर्न सचेत गराउनु पर्छ ।
९. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
गर्भपतन गराउनु राम्रो कुरा होइन । यदी गर्भरहेको खण्डमा सरकारले मान्यता दिएका सेन्टर तथा अस्पतालहरुमा गएर तालिम प्राप्त व्यक्तिसंग सुरक्षित गर्भपतन गर्नुपर्छ । दम्पत्तिहरुले सकेसम्म परिवार नियोजनको साधनहरुको प्रयोग गर्नुपर्छ । परिवार नियोजनका साधनहरुको बारेमा विद्यालय तथा क्याम्पस स्तरमा किशोरकिशोरीहरुलाई सचेत गराउनुपर्छ ।