यस धर्तीमा जन्म लिएका हरेक प्राणी आमा नभएको भए यस धतिमा हुने थिएनौं । संसारमा आमा भन्ने कुरा गहिरोसंग बुझेका छौं । भनिन्छ ‘जननि जन्म भूमिश्च, स्वर्गादपी गरियसी’ जन्म दिने आमा र जन्मिएको ठाउँ साच्चिकै स्वर्गसरी नै हुन्छ । शान्त सहनशील सौम्य स्वभावकी पृथ्वी माताले एक डेग पनि नबिर्साइ सूर्यको प्रदक्षिणा नगरेको भए के सूर्यले प्राणयम अद्भूत जीव–जगतको सिर्जना गर्न सक्दथे र ?
आमा ! अहा कति मिठो ! कति ममतामय कति गर्विलो, कति स्नेहमय, कति तपस्यामय, सिर्जनामय, गौरवशाली महान शब्द आमा तिमीले पिताको अत्यन्त सानो बीजकणलाई दस महिनासम्म गर्भमा राखी, आफूले खाएको जस्तो–तस्तो आहारबाट अमृतमय रस बनाएर स्तनपान गराएर सग्बगाउँदो शिशुको सिर्जना गर्दछ्यौ । १० महिनासम्म तिम्रो सपना, जपना, कल्पना गर्भको शिशु हुर्काउने तपश्यामा लागिरहन्छन् । शिशु सन्तति (छोरा–छोरी) लाई लामै समयको प्रजनन् व्यथा सहेर धर्तीमा जन्म दिन्छ्यौ । अनि तिमी आमा कहलिन्छ्यौ ।
त्यो सन्तानले आजको कलियुग, भौतिक युगमा आमाबुबालाई हेला गरेको उपेक्षा गरेको, उनीहरुको सत्य वचन उल्लंघन गरेको देख्छौं, सुन्छौं । सन्तानलाई जन्माउन–हुर्काउन बाबु–आमाको गहन भूमिका हुदाँ हुदै पनि जन्मदिने आमाको अझै बढी दायित्व हुन्छ । आमाको ममता पाएर नै शिशु हुर्कन्छ, बढ्दछ अनि उन्नति पथमा अघि बढ्दछ । अनि आमा–बाबा बनेर अर्को सृष्टि गर्न पुग्दछ । यो संसार एवं गति, प्रक्रियाबाट चलिरहेको हुन्छ । आमा अर्को पाउन सकिदैन । साटेर साटन सकिदैन । आमाभन्दा प्यारो यो संसारमा अरु कुरा पाइदैन । आमाबुबालाई हेलाँ गर्नु, बुढो भएपछि लालन पालननगरी उहाँहरुको ममतालाई भूलेर वृद्धाश्रममा अनाथलाई छाडे झै छाड्नु सामाजिक अपराध नै हो । हिजोआज आमाबुबालाई वृद्ध आश्रममा लगेर छाडिदिने, घरबाट निकाला बाहर गरेर पार्टी, पौवामा पुगे पनि पुगुन, जहाँ गएर मरे पनि मरुन भनेर वाध्यताले होइन, रहरले नै छाडेको भेटिन्छ । कतिपयले वृद्ध–आश्रममा राखेर उचित स्याहार–सुसारको प्रवन्ध गरेको पनि पाइन्छ । आमाबुबाको कारणबाट घर परिवार झगडा भइरहेको, अशान्ति मच्चिरहेको पनि पाइन्छ । घरमा रहुन्जेल, नमरुन्जेल आमालाई आमा भनेर बोल्न पनि नसक्ने, आमा मरे पनि कोलोहोल मच्चाएर रुने सन्तान पनि यहि धर्तीमा देखिने भेटिने गरेको छ । आमा कहिले पनि नबिर्सिने, बिर्सिन नहुने स्मरणीय शब्द हो । वर्षको एक दिन आमाको मुख हेर्ने, मरेर गएका आमालाई फोटो अघि राखेर सम्झने, स्मरण गर्न दिने मातातीर्थ आंैसी धार्मिक परम्परा अनुसार, पितृधर्म बमोजिम मातातिर्थ पर्व, मातातिर्थ आंैसीको अति ठूलो महत्व छ ।
प्रत्येक वर्ष चैत–वैशाखको तिथीमा पर्ने मातातिर्थ औंसीका दिन आमा ज्यूँदो रहनेहरुले आमाको मुख हेरेर, मिठाई, फलफूल खान दिने, कपडा लगाउन ओढ्न दिने गरेको पाइन्छ । टाढा हुनेले आमाको मुख सम्झन्छन् । आमा देवहासन भईसकेकाहरुले मातातिर्थ लगायत पवित्रधाममा पुगेर स्नान गर्ने, श्राद्ध गर्ने, आमालाई सम्झेर एक थोपा आँसु भने पनि आँखाबाट झार्ने गर्दछन् । चलिआएको परम्परा कायम राख्दै आइरहेका छन् । आमा नहुनेहरुले आमाको सम्झना गरेर मनमा पीडा बोक्छन् । आमा हुनेहरुले आमाको मुख हेरेर खुशी हुन्छन् । हर्षासु्र बगाउँछन् । धेरै वर्ष बाँचिरहनुहोस् भनेर शुभकामना व्यक्त गर्छन् । आमालाई खुशी पार्छन् । आमा पनि आफ्नो नजिक सन्तान पाएर देखेर अति खुशी हुन्छन् । मातातिर्थको दिन आमालाई नसम्झने आमाको मुख नहेर्ने सन्तानको पनि कुनै कमि छैन । आमाको मुख हेर्ने मातातिर्थको दिनको परम्परालाई सबै सन्तानले कायम राखेर यो जुनि र पछिल्लो जुनि, दिवंगत आत्माको जीवनमा पनि सुख शान्ति हुन्छ । आफ्नो धर्म, संस्कृति र परम्परा प्रति उदासिन, निरासहुनेहरु बाँचेका भए पनि खुशी हुदैनन् । मातातिर्थको दिन मुख हेर्ने आमालाई सम्झने काम सबै जनाबाट भए विश्वमा शान्ति र कल्याण ह्रास हुने छैन । आमाको साहस र संस्कार, आमाको सहयोग, आमासंगको धार्मिक, साँस्कृतिक र आत्मीय सम्बन्ध आमाको ममता, सम्झना अनि प्रेरणा नै हाम्रो जीवन पद्धति हो । प्रत्येक नयाँ वर्षको औंसीमा मातातिर्थ पर्व आउँछ । मातातिर्थ औंसी आमालाई सम्झने, आमाको मुख हेर्ने प्रमुख दिन हो । २०८१ सालको मातातिर्थ औंसी ८ मे २०२४ का दिन परेको छ । वैशाख २६ गते बुधवार अर्थात मातातिर्थ औंसीका दिन मातातिर्थ काठमाण्डौं लगायत विभिन्न देवतिर्थ, पितृतिर्थमा मेला लाग्दछ । आमाको मुख हेर्ने आमाको नाममा दान धर्म गरिन्छ । गरिब असाहयलाई सहयोग गरिन्छ । एकदिन आमाले पक्कै छोडेर जान्छिन् । धैर्य गरेर बसेर आमाको सम्झना गर्नु बाहेक हामीसंग केही विकल्प छैन । एवंरितले संसार चल्दै आएको छ चलिरहन्छ । आमाबाट टाढा रहेर देश विदेश जहाँ पुगे पनि जति गरे पनि मातातिर्थको दिन हामीले आमालाई बिर्सनै सक्दैनौ । बिर्सन पनि हुदैन । आमाले दुःखसुख भोग्दै हामीलाई यस संसारमा जन्म दिई हुर्काएको सबै सामु प्रष्ट छ । त्यसैले गएको बुधबार परेको मातातीर्थ औंसीको सन्दर्भ पारेर यो बिषय अलि गम्भिरताका साथ मनन् गरिएको हो ।