पर्साको सदरमुकाम वीरगजस्थित घण्टाघर चोक उत्तरतर्फ विपी उद्यानको जग्गामा विभिन्न साना सवारी र तरकारी बजार संचालनका लागि महानगरपालिकाले ठाउँ छोडिदिएको छ । त्यहाँ तरकारी बजार र साना सवारी संचालनका लागि सेवा दिने र लिने मानिस पुग्ने गर्छन् । त्यसै ठाउँको पश्चिम तर्फ सरकारी विद्यालय रेल्वे मा.वि. अवस्थित छ । तरकारी बजारका ग्राहक र सवारी संचालक तथा सेवाग्राही त्यो ठाउँमा जाँदा कतिपय त्यहि दिशापिसाब गर्न पनि पछि पर्दैनन् । एक त खुल्ला ठाउँ त्यसमा पनि विद्यालय छेवैमा दिसापिसाब विसर्जन गर्ने साविककै मानवीय स्वभाव, त्यो निकै अस्वाभाविक देखिएको हो ।
खुला शौच गर्ने साविकको बानीले रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र गुरुवर्गमा त्यसले नकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको छ । हाट बजार क्षेत्रमा आउने सर्वसाधारण, व्यापारी तथा सवारीचालक विशेषगरी (पुरुषहरु) ले विद्यालय तर्फ फर्केर खुल्लमखुल्ला दिसापिसाब गर्दा विद्यालयमा अध्ययनरत छात्रछात्रा र शिक्षक÷शिक्षिकालाई मर्नु लाजमर्दो भएको छ । सो ठाउँको दक्षिणतर्फ एक मिनेटकै दुरीमा वीरगन्ज महानगरको सार्वजनिक शौचालय अवस्थित छ । तर कतिपय मानिसको साविकी स्वभाव र लापर्वाह बानीले सानो उमेरसमूहका बालबालिकामा खुल्ला ठाउँमा दिसापिसाब गर्नु हुन्न भन्ने सरकारी नीतिलाई समेत गिज्याइरहेको छ ।
नजिकैको हाट बजारमा आउने केही वेसरम सर्वसाधारणको खुल्ला दिसापिसाब विर्सजन कार्यले विद्यालयका बालबालिकामा नराम्रो मनोवैज्ञानिक असर पारेको रेल्वे माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) प्रभुप्रसाद रौनियारले बताए । ‘हाटबजारमा आउनेहरुले विद्यालयतर्फ फर्किएर शौच गरिरहेको दृश्य देख्दा शिक्षक÷शिक्षिका समेत लज्जित हुन परेको उनको तर्क छ । ‘विद्यालयको पर्खाल होचो भएकाले पनि शौच गरिरहेको दृश्य नचाहेर पनि छर्लङ्ग देखिने हुँदा गुरुवर्ग र विद्यार्थीमा नराम्रो प्रभाव परेको उनले बताए । यो समस्याको विषयमा सम्बन्धित निकायमा मौखिक जानकारी गराई सकिएको पनि उनको भनाइ छ । विद्यालयमा साढे ६ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् प्रअ रौनियारले भने । कलिला उमेरका बालबालिकालाई यस्ता दृश्यले मनोवैज्ञानिक असर पारेको उनको दावी छ ।
वीरगन्ज महानगरपालिका–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले बजारमा आउनेले खुला शौच गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकमा पनि नकारात्मक असर परेको बताए । ‘खुला तरकारी बजारमा आउनेले खुला शौच गर्ने विषयमा बारम्बार नगर कार्यपालिकाको बैठकमा आवाज उठाउँदै आइरहेको छु उनले भने । तर पनि यसलाई व्यवस्थित गर्न नसकिएको उनको तर्क छ । विद्यालयका गरुवर्ग र विद्यार्थीलाई लज्जित हुन नपर्ने गरी काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने उनले दावी गरे । ‘सो समस्या समाधानको लागि विद्यालय प्राङ्गणमा अग्लो खालको पर्खाल लगाउनु पर्ने हुन्छ । त्यसो गर्न नसकिने हो भने बजारमा खुला शौच गर्न रोक लगाउन जरुरी भइसकेको छ’ वडाध्यक्ष गुप्ताले भने । विद्यालय नजिकै जभाभावी दिसाविसाब गर्दा छात्रा र शिक्षिकालाई अझै धेरै अप्ठ्यारो महसुस भइरहेको उनको तर्क छ । ‘वडासँग पर्याप्त बजेट नभएकाले यो समस्या समाधान गर्न अलि सकिएको छैन । ‘अब यो समस्याको विषयमा गम्भीर भएर समाधान गर्नेतर्फ अग्रसर भइसकेका छौं उनले बताए । आफू जनप्रतिनिधि भएर आएसँगै प्रत्येक वर्ष विद्यालयको लागि बजेट विनियोजन गर्दै आइरहेको पनि उनको दावी छ । ‘पहिलो वर्ष विद्यालयको छानो र सिँढी संरचना बनाउन तीन लाख बजेट उपलब्ध गराएका थियौं,’ ‘यो वर्ष पनि विद्यालय प्राङ्गणमा नाली निर्माण गर्न रु पाँच लाख बजेट विनियोजन भएको छ । सो बजेटले अहिले निर्माणसम्बन्धी काम पनि हुँदैछ वडाध्यक्ष गुप्ताले बताए । बजारक्षेत्रसँगै जोडिएको सार्वजनिक शौचालय पनि छ । सो सार्वजनिक शौचालयमा शौच गर्ने मूल्य धेरै भएको प्रयोगकर्ताको गुनासो छ । सो सार्वजनिक शौचालयमा पिसाब फेरेको रु १०, दिसा गरेको १५ र नुहाउनेका लागि रु ४० तोकिएको कारण सेवाग्राही उता कम मोडिएको हुन सक्ने उनको भनाइ छ । वडाध्यक्ष गुप्ताले सार्वजनिक शौचालयको मूल्य बढी र सर्वसाधारणमा जनचेतनाको कमीले खुला दिसापिसाबलाई बढावा पुगेको हुनेसक्ने उनको तर्क छ । जिल्ला नै खुल्ला दिसापिसाब मुक्त क्षेत्र घोषणा भइसकेको भए पनि सहरको मुटुमा नै दुर्गन्ध फैलिने र विद्यालयकै वातावरणमा प्रभाव पार्ने गरी खुल्ला दिसापिसाब हुनु गलत भएको स्थानीयको पनि भनाइ छ । जथाभावी रुपमा शौच गर्नेलाई नियन्त्रण गर्न कर्मचारी परिचालन गरिने महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले दावी गरे । ‘हामीसँग कर्मचारी अभावको कारणले २४ सै घण्टा कर्मचारी खटाउन सक्ने अवस्थामा छैनौँ ।
तथापि महानगरले बजार क्षेत्रमा अनुगमनका लागि कर्मचारी खटाउँदा कोही दोषी पाइए महानगरले नछोड्ने उनको तर्क छ । अव्यवस्थित रुपमा सञ्चालन हँुदै आएको हाटबजारलाई हटाएर पार्क बनाउने योजना महानगरको छ । ‘अहिले अव्यवस्थित रुपमा राखेको हाटबजार पनि हटाइन्छ । यसो भए स्वतः त्यहाँ छेउको विद्यालयका शिक्षक वर्ग र विद्यार्थीले अवगाल देख्न पर्दैन सरसफाई प्रमुख मियाँले दावी गरे ।