‘हिरोलाई जिरो र जिरोलाई हिरो’ बनाउन खप्पिस पत्रकारहरु अब विस्तारै आफै राजनीतिको मियो तर्फ हानिन थालेका छन् । पत्रकारिताको माध्यमबाट सुझाव सल्लाह दिएर मात्र राजनीति नसंग्लिएपछि राजनीतिको मियो तर्फ पनि पत्रकारहरु आफै पनि हानिन थालेका हुन् ।
राज्यको मूल नीति नै राजनीति भए पनि वर्तमानमा ‘राजनीति’ नदीको शिरबाट बगेको धमिलो पानी झैं तटीय क्षेत्रसम्म धमिलो देखिए जस्तो जनताले महसुस गरिरहेका छन् । जनहितभन्दा धनहितमा केन्द्रीत अधिकाँश राजनीतिकर्मीहरुको कारण पुनः राजा फर्काउने डम्फु पनि कता–कता बज्न थालेका छन् । यसै लपेटोमा धमिलो राजनीति संग्ल्याउन भन्दै केही पत्रकारहरु आफै पनि राजनीतिको मुहान र तटीय क्षेत्रमा अग्रसर हुन थालेका छन् । यो मानेमा नेकपा एमाले पर्साको भर्खरै सम्पन्न नवौं जिल्ला अधिवेशनबाट आएको नेतृत्व नै पत्रकारको हातमा पुगेको छ । पत्रकारिताबाट राजनीतिमा सकृय नेतागणले धमिलो राजनीति संग्ल्याउन सक्छन् या सक्दैनन् त्यो हेर्न र भन्न त केही समय कुर्नै पर्ने हुन्छ । तर एमाले पर्साको नयाँ कार्य समितिको नेतृत्व अहिले पत्रकारकै पोल्टामा परेको चाही निर्विकल्प ताजा उदाहरण हो । त्यसै गरी एकाडेमिक योग्यताका आधारमा पर्सेली राजनीतिमा पार्टीकै जिल्ला अध्यक्ष समेत पत्रकार र डाक्टर समेत पुगेको पनि पहिलो उदाहरण नै हो ।
पर्सेली इतिहासमा पार्टी अध्यक्ष पत्रकार तथा डाक्टर भन्ने कुरा एमालेले आफ्नो पार्टीका सालीन व्यक्तित्व डा.विश्वम्भर शर्मालाई अघि सारेर साविकको निरन्तरतालाई क्रमभंग गरेको छ । यो अर्थमा एमाले अरु पार्टीभन्दा परिवर्तनकामी छ भन्ने सन्देश पनि दिन सकेको छ । एमाले पर्साका निर्विरोध निर्वाचित अध्यक्ष डा. शर्मा नेपाल पत्रकार महासंघ पर्सा शाखा र प्रेस चौतारी नेपाल पर्साको साधारण सदस्य पनि हुन् । यसको अतिरिक्त कार्य समितिको संगठन हाँक्ने अर्को ठूलो पद ‘सचिव’मा पनि पर्साका अर्का जुझारु पत्रकार महेश दास निर्वाचनबाट गुणवान राजनीतिकर्मी नवराज शर्मालाई पछि पार्दै निर्वाचित भए । एमाले पर्साको नयाँ कार्य समितिका यी दुई पत्रकार मात्र नभई वीरगन्जको प्रतिष्ठित पत्रिका प्रतीक दैनिकका सम्पादक अर्थात अर्का पत्रकार गोविन्द प्रताप श्रेष्ठलाई पनि एमाले पर्साको नर्वौ जिल्ला अधिवेशनले निर्विरोध लेखा समिति उपाध्यक्षमा निर्वाचित गरेको छ । राजनीतिको मेरुदण्डतर्फ यतिमा मात्र पत्रकारको प्रवेश सिमित छैन । १ सय २७ सदस्य कार्य समितिमा नेपाल पत्रकार महासंघका पर्सा शाखाका अध्यक्ष अनुप तिवारी, प्रेस चौतारी नेपाल पर्साका सह–सचवि कृष्णा कुशवाहा र अघिल्लो स्थानीय तहको निर्वाचनसम्म पर्सामा चर्चित पत्रकारका रुपमा स्थापित थोरै अगाडी सम्मका पत्रकार पवन तिवारी समेत यो पटक एमाले पर्साको कार्य समितिमा निर्विरोध निर्वाचित भएर राजनीतिको मियोमा पत्रकारहरुको उपस्थिति गर्विलो बनाउन सफल भएका छन् ।
लेख्ने–बोल्ने मात्र नभई राजनीति संग्ल्याउने ठाउँमै पत्रकार
राजनीतिलाई स–गौरव गर्ने बनाइनु पर्छ भनी लेखेर, बोलेर सुझाव दिने मात्र नभई अब राजनीति सग्लो बनाईनु पर्ने ठाउँमा पत्रकार आफै पुग्न थालेको देखिएको छ । यसै तथ्यलाई पुष्टि गरेको छ नेकपा एमाले पर्साको ९ औं जिल्ला अधिवेशनबाट प्रेस चौतारीमा आबद्ध ६ जना पत्रकारको एकै साथ कार्य समितिमा प्रवेशले । पत्रकारको नेतृत्वले राम्रो काम गर्न सके देशभरी सकारात्मक सन्देश दिने स्थानीय बुद्धिजिबीहरुको तर्क छ । राजनीतिकर्मीले पत्रकारलाई सामान्य आँक्ने र समाचारका माध्यमबाट पत्रकारले दिएका सुझाव र सल्लाह दुुत्कार्दै अगाडी बढ्ने शैलीको पनि यस्ता कार्यले क्रमभंग गर्न बल दिने पनि उनीहरुको भनाइ छ । लालबाबु शेख, गीता भण्डारी, आरोहन साह र राकेश कुमार साह गरी अझ चार पत्रकार प्रतिस्पर्धामा थोरैले मात्र पछि परेका छन् । उनीहरु पनि पार्टीको आन्तरिक प्रतिस्पर्धामा हारेका नभई अगाडी बढ्ने प्रयासमा लागेका छन् ।
राजनीतिकर्मीहरुको बानी परिवर्तन गर्न आगामी दिनमा चुक्नु हुन्न भन्ने सन्देश पनि पत्रकारहरुको समूहगत पार्टी प्रवेशले फरक सन्देश दिएको छ । यसै गरी अन्य पेशा र बौद्धिक क्षेत्रका मानिसहरु राजनीतितर्फ अग्रसर भए धमिलिन थालेको राजनीति संग्लो बगाउन नसकिने चाही हुँदैन । तर त्यहाँ पुग्नेले काम राम्रो गर्न पर्ने पनि पर्सेली बुद्धिजिबीले औल्याए । ५ दिनसम्म सहमतीय कसरथले पनि नयाँ कार्य समितिका सबै पद टुंगो लाग्न नसकेपछि निर्वाचनमा गएर पनि पत्रकार समेत राजनीतिकर्मीलाई पछि पार्दै अगाडी आउन सक्नु राम्रै पक्ष भएको एमालेजनको पनि भनाइ छ । एमाले पर्साको अधिवेशन उद्घघाटन भएको छैटौं दिन ३९ वटा पदका लागि निर्वाचन हुँदा जिल्ला सचिव जस्तो गरिमामय पदमा पनि पर्साका सकृय पत्रकार महेश दास निर्वाचित भएका हुन् । एमाले पर्साको अध्यक्षमा भने तीन दिन अगाडी नै सर्वसम्मत नेतृत्वमा डा.विश्वम्भर शर्मा निर्वाचित भइसकेका थिए । निर्वाचन प्रकृयाबाट टुंगो लगाइएका ३९ पदमा पनि निर्विरोध निर्वाचित अध्यक्ष डा.शर्माकै खेमाका पदाधिकारी र सदस्यहरु ब्ढि विजयी भएको एमाले पर्साका स्थानीय नेताकार्यकर्ताको तर्क छ । निर्वाचनको सबै मतगणना भने गएको आइतबार साँझ मात्र सकिएको थियो ।
निर्वाचनबाट निर्वाचित हुनेहरुमा पर्साको छिपहरमाई गाउँपालिकामा दुई–दुईपटक अध्यक्षमा निर्वाचित जनप्रतिनिधि समेत रहेका मनोज कुमार गुप्ता उपाध्यक्ष, सचिव महेश दास, सह सचिव नविजान मियाँ अन्सारी, महिला उपसचिव सीता देवी लामा, लेखा समिति अध्यक्ष शिवजी गुप्ता, सचिव सागिर अहमद सहित, महिला, दलित, आदिवासी र मुस्लिम क्लष्टर तर्फ यो पटक नयाँपुराना अनुहार मिसिएर एमालेको नयाँ जिल्ला कार्यसमिति बनेको छ ।
को हुन् अध्यक्ष डा शर्मा ?
पर्शुराम शर्मा र सुमित्रा देवीको कोखबाट २०१७ जेठ ४ गते जन्मिएका डा.विश्वम्भर शर्माको विद्यालयस्तरको पढाई वीरगन्जको माईस्थान विद्यापीठ मा.वि.बाट भएको हो । यहिबाट एसएलसीसम्मको विद्यालयस्तरीय शिक्षा सकेपछि उनी उच्च शिक्षाका लागि तयार भएका थिए । अध्ययनको उत्तराद्र्धसम्म पुग्दा डा.शर्माले नेपाली र पत्रकारिता दुवै तर्फबाट स्नातकोत्तर (एमए) र भोजपुरीबाट पीएचडी (विद्यावारिधी) गर्न सफल भएका हुन् । विद्यार्थी जीवनमा रहेकै बेलादेखि चित्रण साप्ताहिक, रातो युगधारा साप्ताहिक लगायतका पत्रिकामा सम्वाददाताको काम गर्न समेत भ्याएको उनले जनाए । यसरी पत्रकारिता तर्फ जोडिन पुगेका डा. शर्मा पछि प्रेस चौतारी नेपाल पर्साको संस्थापक सदस्य, पत्रकार महासंघको पनि तीन दशक बढि समयदेखि सदस्य भई पत्रकारका संगठनमा पनि आबद्ध रहँदै आएका छन् । अरुको पत्रिकामा मात्र रिपोर्टिङ्ग गर्ने मात्र नभई आफ्नै सम्पादकत्वमा रहने गरी नव सौगात साप्ताहिक १२ बर्ष सम्म संचालन गरेका डा. शर्मा पछिल्लो समय भने शैक्षिक र राजनीतिक क्षेत्रमा बढि सकृय भएका थिए । त्यसैको प्रतिफल एमालेको नवौं जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित पर्सा जिल्ला अध्यक्ष भएका छन् ।
राजनीति तर्फ भने भारतले सिक्किम विलय गरेपछि २०३२ सालमा त्यसको विरोध गर्ने पार्टीको लाइन अनुसार नै विद्यार्थीहरुले गरेको आन्दोलनको पर्सामा नेतृत्वकर्ता भएर बाहिर निस्केको उनले विगत सम्झिए । २०३६ को जनमत संग्रहका वेला भएका आन्दोलनमा पनि नेतृत्वकर्ताको भूमिकामा रहेका उनी हालको एमाले साविकको माले निकटको अनेरास्ववियुको एकताको पाँचौं राष्ट्रिय अधिवेशनमा संगठनको प्रतिनिधि समेत भएका व्यक्ति हुन् । पार्टी तर्फ भने विद्यार्थी आन्दोलनसँगै पार्टीको स्थानीय नेतृत्व अर्थात साविकको माले कालदेखि नै सम्पर्कमा रही अहिलेसम्म निरन्तर पार्टीमा समेत सकृय रहेका छन् । सो क्रममा युवा संघको जिल्ला अध्यक्ष, पार्टीको वीरगन्ज नगर सचिव, जिल्ला कमिटि सचिवालय सदस्य, कार्यवाहक सचिव, हुँदै पार्टीको जिल्ला संयोजक र अहिले पूर्ण अध्यक्ष हुन सफल भएका हुन् ।
पार्टीलाई सशक्त पार्ने अध्यक्ष डा.शर्माको प्रतिवद्धता
एमाले पर्साका नव निर्वाचित अध्यक्ष डा.विश्वम्भर शर्माले आफ्नो काँधमा नेतृत्व आएलगत्तै पर्सेली संचारकर्मी सामु पार्टीका सबै साथीहरुलाई मिलाएर एकढिक्का बनाई अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् । आफूहरु अधिवेशनमा एउटा प्रकृयाका लागि मात्र आन्तरिक गृहकार्यमा जुटेकोले यो जित र हार भन्ने हुँदैन । पार्टीको काम गर्ने ठाउँमा कस्को भूमिका सकृय हुने भन्ने मात्र निक्र्योल गर्नु पर्ने विधानतः व्यवस्था भए अनुसार यो पटक आफ्नो नेतृत्वमा त्यो जिम्मेवारी आइपरेको उनको भनाइ छ । आन्तरिक रुपमा कार्यकर्ता बीचमा गृहकार्य गरिएकोले यसलाई बाहिरी आवरणमा उतारिराख्न नपर्ने उनले सबै नेता कार्यकर्ता तर्फ संकेत गर्दै बताए । राजनीतिमा बढेको जनताको वितृष्णा कसरी कम गर्ने ? राजनीति जनहितभन्दा धनहितमा बढि अल्झियो भन्ने जनताको आरोप भूईं तहका कार्यकर्ता र जनतामा कसरी न्यूनिकरण गर्ने भन्ने कुरामा अहिलेको कार्य समिति सजग भएर काम गर्ने निर्वाचित पदाधिकारीहरुको पनि दावी छ । ‘राजनीति धमिलियो भन्ने कुरामा हामी सचेत छौं । यसलाई रोक्ने काममा हाम्रो सकृयता हुन्छ’ उनीहरुले भने ।
एमालेको ९ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र गएको बैशाख १७ गते पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए । अन्तिम परिणाम भने बैशाख २३ गते साँझ मात्र आइसकेको थियो ।
पार्टी उपाध्यक्ष मनोज कुमार गुप्ता
पर्साका १४ पालिका मध्ये २०७४ सालमा छिपहरमाई गाउँपालिकाका प्रमुखमा निर्वाचित मनोज प्रसाद गुप्ता २०७९ को स्थानीय तहको निर्वाचनमा पनि दोस्रो पटक पालिका प्रमुखमा निर्वाचत भएको जिल्लाका चर्चित युवा राजनीतिकर्मी हुन् । सुरुमा माओवादी केन्द्रको तर्फबाट छिपहरमाई गाउँपालिकामा निर्वाचित उनी २०७८ असारमा एमालेमा प्रवेश गरी अझ सकृय राजनीति गरिरहेका छन् । पार्टी संगठन र जनताको सेवा प्रवाह दुवै मोर्चामा सकृय उनी पर्साका अरु पालिकामा कसैले पनि दोहो¥याउन नसकेको अवस्था पनि जनताको मन जित्न सफल भएर नै पुनः निर्वाचित हुन सफल युवा राजनीतिकर्मी समेत हुन् । यहाँका १४ पालिकाका साविकका पालिका प्रमुख पराजित हुँदा छिपहरमाई गाउँपालिकाले भने पुनः उनलाई नै पाएको हो । छोरी बीमा कार्यक्रम मधेश प्रदेश सरकारले सुरु गर्नुपूर्व आफ्नो पालिकामा सुरु लगायत नमूना कार्य सम्पादन गरेको कारण एमाले पार्टी उपाध्यक्ष गुप्ता कार्यकर्ता बीचमा पनि लोकप्रिय नेता मानिन्छन् । २०७८ सालमा एमाले प्रवेश गरी जिल्ला सचिवको महत्वपूर्ण भूमिकामा सहज कार्यसम्पादन गर्न सफल मनोज गुप्ता अहिले एमाले पार्टीको चर्चित जिल्ला उपाध्यक्षमा सर्वाधिक मत सहित निर्वाचित भएका छन् । युवा भए पनि समाज सेवामा लगाव राख्ने उनी राजनीतिबाट जनताको सेवा गर्न निकै प्रभावशाली कार्य सम्पादन गर्न सधैं तत्पर देखिन्छन् । पर्सामा डेड दशक पछि एमालेको निर्वाचनबाटै नयाँ कार्य समिति निर्वाचित हुँदा पर्साको नवौं जिल्ला अधिवेशनमा कार्यकर्ताको मत बढि गुप्ताकै पक्षमा परेको छ । उनी पर्साका एमाले नेताहरुमा उदियमान नेता मानिन्छन् ।
को हुन् सचिव दास ?
राजकुमारलाल दास र प्रेमकला दासको कोखबाट २०३४ साल जेठ १५ गते जन्मिएका महेश दास सो परिवारको कान्छो छोरो हुन् । वीरगन्ज ३ छपकैयाका स्थायी वासिन्दा उनको शिक्षा वीरगन्जको त्रिजुद्ध महावीर रघुवीर राम मा.विबाट सुरु भएको हो । विद्यालयस्तरीय शिक्षा पछि वीरगन्जकै ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र तह उर्तीर्ण र एनपीआईबाट पत्रकारितामा डिप्लोमा गरेका दासको राजनीतिक यात्रा भने साविकको नेकपा माक्सवादीको मातृ संगठनमा नेपाल प्रगतिशिल विद्यार्थी युनियन (नेप्रवियु) बाट सुरु भएको थियो । हालको एमाले पार्टी बन्नु पूर्व नेप्रवियुको विद्यालय प्रारम्भिक कमिटि अध्यक्षदेखि उनी हालसम्म पत्रकारिता अलि बढि सकृय भए पनि राजनीतिमा पनि उत्तिकै कृयाशिल थिए । एमाले पार्टी निर्माणसँगै अनेरास्ववियु विद्यालय नगर कमिटि सचिव, ठाराब क्याम्पसमा प्रारम्भिक कमिटि अध्यक्ष, अनेरास्ववियुको जिल्ला कमिटि सदस्य, पार्टीको भातृ संगठन प्रजातात्कि राष्ट्रिय युवा (प्ररायु) संघ वीरगन्ज वडा नम्बर ३ को अध्यक्ष, प्ररायु संघको वीरगन्ज नगर सचिव, प्ररायु संघको जिल्ला कमिटि सदस्य, नेकपा एमाले, पर्सा वीरगन्ज–३ को वडा सचिव, पार्टी नगर कमिटि सदस्य, तीन पटक पार्टी जिल्ला कमिटि सदस्य, हाल पार्टीको महानगर कमिटि उपाध्यक्ष, र केन्द्रिय प्रचार तथा प्रकाशन विभाग सदस्य रहेका महेश दास भर्खरै सम्पन्न एमाले पर्साको सचिवमा निर्वाचित भएका हुन् ।
पत्रकारिता तर्फ छापा, रेडियो र टेलिभिजन तिनै प्रकारका संचारमाध्यमको लामो अनुभव सुरुमा सौर्य साप्ताहिक हुँदै दृष्टि साप्ताहिक, घटना र विचार साप्ताहिक, रासस, गोर्खापत्र दैनिक, स्पेश टाइम्स दैनिक लगायत ब्रोड सिट छापा माध्यम लामो अनुभव सम्हालेका छन् । टेलिभिन पत्रकारिता तर्फ पनि नेपालको पहिलो नीजि टेलिभिजन च्यानल नेपाल र पहिलो न्यूज च्यानल एभिन्यूज टिभिमा स्थापना कालदेखि व्यूरो चिफको रुपमा कार्यरत रहिआएका थिए । अहिले पनि एभिन्यूज टिभीको मधेश प्रदेश प्रमुख रहँदै आएका उनी मोफसलको पहिलो नीजि एफएम रेडियो मनकामना एफ एम हुँदै भोजपुरिया एफएमका प्रमुख कार्यकारी निर्देशक भए । त्यसै गरी न्यू मिडिया तर्फ डाइनामिक मिडिया प्रा.लि.को अध्यक्ष एवं पब्लिक रिडर्स डट कमको प्रधान सम्पादक समेत हुन् ।
नेपालको पुरानो मिडिया हाउस गोरखा पत्र संस्थानको संचालक समिति सदस्य, समेत नियुक्त भएका एमाले पर्साका सचिव दासले पुरस्कार सम्मान तर्फ प्रवल जन सेवा श्री चतुर्थ र प्रेस काउन्सिल पत्रकारिता पुरस्कार, महामहिम राष्ट्रपतिबाट ग्रहण गरिसकेका छन् । नेपाल पत्रकार महासंघले स्व.गोपाल गिरी पत्रकारिता पुरस्कार सहित सम्मान गरेका दासले विभिन्न संघ संस्थाहरुबाट दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।
विद्यार्थी कालदेखि स्काउट, रेडक्रस, युथ भिजन लगायत विभिन्न दर्जनौ सामाजिक संघ संस्थामा आबद्ध रहँदै हाल चित्रगुप्त समिति वीरगन्ज, मैथिली साहित्य परिषद् वीरगन्ज, शक्तिपीठ काली गुठी वीरगन्जको अध्यक्ष र विभिन्न संघ संस्थामा समेत आबद्ध उनी संचार राजनीति तर्फ पनि २०५१ सालबाट पत्रकारितामा आबद्धता भएका हुन् । सो क्रममा पत्रकारिता क्षेत्र पार्टी निकट प्रेस चौतारी नेपाल पर्सा जिल्ला कमिटि सचिव, चौतारीकै तेस्रो महाधिवेशन पाल्पाबाट केन्द्रिय सदस्य निर्वाचित, चौथो महाधिवेशन हेटौडाबाट केन्द्रिय सदस्य तथा मध्यमाञ्चल प्रमुख, पाँचौं महाधिवेशन किर्तिपुरबाट केन्द्रिय उपाध्यक्ष निर्वाचित हुँदै नेपाल पत्रकार महासंघको एक पटक केन्द्रीय सदस्य, पुनः केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक भएका थिए ।
विभिन्न संगठनको अनुभव सम्हालेका सचिव दासको पार्टीमा आबद्धता २०५२ साल चैत १२ गतेबाट भएको हो ।
उपसचिवः नविजान मियाँ
नविजान मियाँ अन्सारी, यासिन मियाँ अंसारीका सुपुत्र हुन् । हालको वीरगन्ज–२९ साविक वस्डीलवाका स्थायी वासिन्दा उनी आफ्ना बुबाको राजनीतिबाट प्रेरित भएका छन् । उनका बुबा यासिन मियाँले २०४९ र २०५४ सालमा उमालेकै तर्फबाट निर्वाचन लडी जनताको सेवा गरेका थिए । नविजान पनि एमालेबार्ट दुई पटक वडा अध्यक्षमा प्रतिस्पर्धा गरी जनताकै बीचमा रहेका स्थानीय नेता हुन् । उनी पनि पार्टीमा २०७० सालदेखि संगठित सदस्यका रुपमा आबद्ध छन् । पार्टीमा वडा कमिटि अध्यक्ष, मुस्लिम इत्तेहास संगठनमा पनि आबद्ध उनी सामाजिक काम गर्दै ग्रामिण समस्या गाउँमा नै मिलाउन आएका एमालेका सकृय सदस्य हुन् । किसानी पेसा रहेर पनि जनताको काममा सकृय हुन रुचाउने उनी यो पटक एमालेको जिल्ला उप सचिवमा निर्वाचित हुन सफल भएका हुन् ।
उप सचिव :सीता तामाङ
बाबु बाजे नै कम्यूनिष्ट पार्टीमा आबद्ध रहेको परिवारमा २०३५ सालमा जन्मिएकी सीता तामाङ विवाह पश्चात पनि एमालेको राजनीति गर्ने घरमा नै पुगेकी हुन् । माइती र घरपरिवार नै एमाले भएकोले आफूले पनि एमालेको राजनीति गर्न सहज भएको उनी बताउँछिन् । डेड दशक बढि समयदेखि पार्टीको संगठित सदस्यता लिएकी उनी अहिले पर्सागढी नगरपालिकाको ३ नम्बर वडाको वडा सदस्य समेत हुन् । वडाका नागरिकको प्रतिनिधिसँगै नगरपालिकाको बोर्ड सदस्य समेत रहेकी सीता पर्सागढी ३ कै स्थायी वासिन्दा हुन् । एमालेको १६ बर्ष पछि पर्सामा भएको निर्वाचनमा उनी पनि आफ्नो प्रतिस्पर्धीलाई उछिन्दै महिला तर्फ पार्टीको उपसचिव पदमा निर्वाचित भएकी हुन् ।