छालासँग सम्बन्धित समस्यामध्ये सबैभन्दा सामान्य समस्या हो, मुसाको समस्या । हात, खुट्टा, गाला, आँखीभौं, नाकको टुप्पो, निधार लगायत शरीरका अन्य अंगमा मुसा आउँदा सौन्दर्यमा पनि असर पारिरहेको हुन्छ ।
मुसाको समस्या विशेषगरी ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को कारणले हुन्छ । यसलाई अंग्रेजीमा वार्ट्स अर्थात् भेरुका भल्गारिस भनिन्छ । ह्युमन प्यापिलोमा भाइरस मानव जातिमा पाइने एक प्रकारको भाइरस हो । यस भाइरसले छालाको सतहलाई माथि उठाइदिन्छ । यो भाइरस सयौं प्रकारको हुन्छ । यो कुन ठाउँमा आउँछ, त्यसको आधारमा प्रकार र यसको असर निर्धारण हुन्छ । यस भाइरसले हुने मुसा सामान्यतया हात र खुट्टामा देखिन्छ ।
यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ, साथै शरीरको एउटा भागबाट अर्को भागमा पनि सर्छ । कसैको अनुहारमा आउँछ भने कसैको हात–खुट्टामा आउँछ । यो गुप्ताङ्गमा पनि आउन सक्छ ।
मुसा कोट्याइरहने वा मुसा चलाएपछि राम्रोसँग हात नधोई अन्य ठाउँमा छोएमा यो रोग सर्छ । यस्तै असुरक्षित यौन सम्पर्कको कारणले पनि यो रोग सर्छ ।
रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा मुसा आउने सम्भावना धेरै हुन्छ । त्यस्तै मोटोपन, मधुमेह, हाइपोथाइराइड भएका बिरामीमा मुसा आउने जोखिम बढी देखिन्छ । त्यस्तै वंशाणुगत रुपमा पनि मुसा आउँछ । घरमा कोही सदस्यलाई मुसा आएको छ भने त्यस परिवारका अरू सदस्यमा मुसा देखिने सम्भावना अधिक हुन्छ ।
मुसालाई सामान्य रूपले नलिऊँ
कतिपय मुसाले क्यान्सरसम्मको जोखिम बढाउँछन् । ‘एचपीभी–१६’, ‘एचपीभी–१८’ संक्रमण बढी जोखिमपूर्ण हुन्छन् । यस्ता भाइरल संक्रमणका कारण मुसा आएका व्यक्तिको यौनाङ्ग र मलद्वारमा पनि मुसा आए क्यान्सरको जोखिम हुन्छ ।
क्यान्सर गराउने यस्ता भाइरसका कारण महिलाको योनीमा मुसा आएको खण्डमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ । पुरुषको यौनाङ्गमा यस्ता भाइरस भएका मुसा आए पुरुषको यौनाङ्गको क्यान्सरको जोखिम हुन्छ ।
उपचार
शरीरको कुनै पनि भागमा मुसा आएमा यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ ।
शरीरमा मुसा देखियो भने सुरुमा औषधि मार्फत उपचार गरिन्छ । ‘सेलिसाइलिक’ नामक एसिडयुक्त मलम लगाउनाले बिस्तारै मुसा हट्दै र घट्दै जान्छ ।
विद्युतीय मेसिनले जलाएर मुसा हटाउन सकिन्छ । अत्यन्तै चिसो हुने खालको लिक्विड नाइट्रोजनले सेकेर पनि मुसा हटाउन सकिन्छ । यसरी चिसोले सेकेर मुसा हटाउने विधिलाई चिकित्सकीय भाषामा क्रायोथेरापी भनिन्छ । शल्यक्रिया गरेर पनि मुसा फाल्न सकिन्छ । साथै लेजर प्रविधिबाट पनि मुसाको उपचार गरिन्छ ।
कति लाग्छ खर्च ?
मुसाको समस्या सामान्य मात्र छ र लगाउने औषधिले मात्र काम गर्यो भने ५०० रुपैयाँदेखि एक हजार रुपैयाँले नै मुसा हट्छ । शल्यक्रिया गर्नुपर्यो भने दुई हजारदेखि पाँच हजारसम्म खर्च लाग्न सक्छ । लेजर गर्नुपर्यो भने ५ हजारदेखि १० हजार रुपैयाँसम्म खर्च लाग्न सक्छ । मुसा कतिवटा छ, कत्रो आकारको छ त्यसको आधारमा खर्चको निर्धारण हुन्छ । साभारः अनलाइन खबर