१.पार्लर व्यवसाय तर्फ आकर्षण हुनुको कारण के हो ?
व्यूटिसियन बनेर सानैदेखि पार्लर व्यवसायमा काम गर्ने इच्छा थियो । पार्लर व्यवसाय धेरै मन पर्ने भएकोले मैले पार्लर व्यवसाय नै रोजेको हो । यो व्यवसाय गर्दा घरको काम गरेर गर्न सकिने पेशा हो । आफ्नो सीप र क्षमताले ग्राहकहरुलाई सन्तुष्ट पारेर कमाउने पेशा भएकोले आफूलाई परिश्रम गर्ने बानीको विकास हुन्छ । आफ्नो इच्छा अनुसार काम गर्ने भएकोले घरमा आवश्यक परेको समयमा बिदामा बस्न पनि सजिलो हुन्छ । परिवार र बच्चाहरुको पनि रेखदेख गर्न सजिलो हुने भएकोले पार्लर व्यवसाय नै रोजेको हो ।
२. पार्लर संचालन गर्दा परिवारको कस्तो सहयोग पाउनु भएको छ ?
परिवारको साथ र सहयोग विना कुनै पनि काम गर्न सकिदैन । मैले विवाह भएपछि नै व्यूटिसियन तालिम सिकेको हो । मलाई पूर्णरुपमा श्रीमानले सहयोग गरेका छन् । पार्लर सिक्दादेखि संचालन गर्दाको अवस्थासम्म लाग्ने सबै खर्च श्रीमानले नै जुटाइदिनु भएको छ । अहिले पार्लरमा काम गरेर जादाँ ढिलो हुन्छ । तर बच्चाहरु पनि विद्यालयबाट आएपछि उनीहरुको रेखदेख गरेर मलाई पनि उहाँले सहयोग गरिदिनुहुन्छ । घर बाहिर गएर काम गर्नुपर्दा पनि परिवारबाट कुनै रोकावट हुदैन । त्यसैले गर्दा आजसम्म यो पेशामा टिक्न सकेको छु ।
३. पार्लर व्यवसाय संचालन गर्दा सुरुवातको अवस्था कस्तो थियो ?
पार्लर व्यवसाय संचालन गर्दा ५ लाखबाट सुरु गरेको थिए । पार्लर सुरु गरेको केही महिनासम्म व्यापार अगाडी बढाउन समय लाग्यो । त्यसपछि भने खर्च कटाएर ३० हजार आम्दानी हुन्थ्यो । अहिले ७ लाखको कूल पूँजी भएको छ । कुनै महिनामा आम्दानी केही कम हुन्छ । तर पनि भाडा तिरेर पनि १५ हजार जति आम्दानी हुन्छ । अन्य महिनामा भने राम्रो नै आम्दानी भएको छ ।
४. अहिलेसम्म कति जनालाई पार्लर सिकाउन सफल हुनु भएको छ ?
मेहेन्दी र व्यूटिसियन दुबै तालिम दिने गरेको छु । अन्य पार्लरकोभन्दा कममा नै सिकाउने गरेको छु । व्यूटिसियन तालिम एडभान्स लेभल सम्मको कोर्षकोलागि ३० हजारमा सिकाउने गरेको छु । सिक्नेहरुको लागि प्रमाण पत्र दिने व्यवस्था पनि गरेको छु । अहिलेसम्म ६ जनालाई सिकाएको छु । मेरोमा सिकेका बहिनीहरुले अर्को पार्लरहरुमा काम गरिरहेका छन् ।
५. तपाई व्यूटिसियन पेशाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मेरो इच्छाले नै यो व्यवसायमा लागेको हो । घरमा बसेर आफ्नो घरको काम भ्याएर पनि कमाउन सकेको छु । कहिले काँही अफ सिजनमा व्यापार नहुदाँ दिक्क लागेको हुन्छ । के गरौं भन्ने मनमा हुन्छ । तर सिजनमा राम्रो व्यापार भएकोले गर्दा फेरि राम्रो आम्दानी हुन्छ । सबै दुःख बिर्सिन्छ । जे जस्तो भए पनि अब यो व्यवसाय छाडेर अर्को तर्फ जाने सोचमा छैन । म पार्लर व्यवसायबाट सन्तुष्ट छु । आफ्नो खर्चका साथै परिवारको लागि पनि केही सहयोग गर्न सफल भएको छु । अझै पार्लर व्यवसायलाई नै बढाएर ठूलो बनाउने इच्छा छ ।
६. व्यवसायलाई अगाडी बढाउन थप के हुनुपर्छ जस्तो लाग्छ ?
वीरगंजको व्यूटिसियनहरुमा एकमत छैन । पार्लरको रेटमा एकरुपता हुनुपर्छ । मैले ५० रुपैयाँमा गर्ने काम अर्को पार्लरमा कतै ३० रुपैयाँमा हुन्छ त कतै ७० पनि पर्छ । ग्राहकहरुले कतै सस्तो कतै महंगो किन हुन्छ भनेर प्रश्न गर्छन् । रेटलिष्ट सबै पार्लरमा हुन्छ । तर पनि ग्राहकलाई रेट लिष्टभन्दा घटाएर लिने पनि गरेको पाइन्छ । जसले गर्दा ग्राहकहरु कम आउने, भएकोले व्यवसाय राम्रोसंग फष्टाउन सक्दैन । व्यूटिसियन संघ र व्यूटिसियनहरुले रेट लिष्ट अनुसार नै ग्राहकहरुलाई पैसा लिने गरे राम्रो हुने थियो । सबैले एक रेटमा नै ग्राहकहरुलाई सेवा दिंदा राम्रो हुन्छ ।