पर्सा जिल्ला भन्नासाथ लामो सडक संजालले नछोएको जिल्ला भन्ने बुझ्न खासै गाह्रो छैन । तर गाह्रो त त्यो छ, जुन छोटो दूरीकै सडक संजालमा पनि सवारी दूर्घटनाको संख्या ५ सय २९ वटा र त्यसमा ज्यान गुमाउने मानिसको संख्या चाही ३९ जनासम्म । एक वर्षभन्दा कम समय अर्थात ९ महिनामा नै यत्रो मानिसको अनाहकमा ज्यान जानु दुःखद् पक्ष हो ।
यो तथ्याँक चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनादेखि चैत महिनासम्म अर्थात ९ महिनाको मात्र पनि हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जिल्लाभरी भएका सवारी दूर्घटना र मृत्यु भएका मानिसको तथ्याँक राख्ने गरेको छ । यो तथ्याँक केलाउँदा लामो दूरीले नछोएको छोटो दूरीको सडक संजाल भएको जिल्लामा पनि यत्रो धेरै सडक दूर्घटना र मानिसको मृत्यु हुनु राम्रो संकेत होइन । गएको श्रावणदेखि चैतसम्मको अवधिमा जिल्लाभर भएका ५ सय २९ वटा सवारी दूर्घटनामा ३३ जना पुरुष, ५ जना महिला र १ जना बालिकाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरिक्षक भाष्कर खतिवडाले बताए ।
पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने अहिलेको आर्थिक वर्षमा सवारी दुर्घटना बढेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७७/७८ मा भने सवारी दूर्घटनाको संख्या १७७ वटा रहेको र सो वर्ष २८ जनाको मात्र मृत्यु भएको पर्सा ट्राफिकको तथ्याँकमा उल्लेख गरिएको छ । त्यसै गरी आर्थिक वर्ष २०७८/७९ मा ३ सय ८४ वटा सवारी दुर्घटना भएको देखिए पनि त्यसमा ज्यान गुमाउनेको संख्या १० जनाले बढेर ३८ पुगेको देखाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा पनि ४ सय ९८ वटा सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ । गत वर्ष २९ जना पुरुष, ५ जना महिला र ५ जना बालकले सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए । त्यही वर्ष दुर्घटनामा परी ९३ जना गम्भिर घाईते भएको खुलेको छ ।
४०६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । चार आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएको कार्यालयको तथ्याँकमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा १०४ वटा मोटरसाइकल दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा २ सय ८४ वटा मोटरसाइकल दुर्घटना भएको पनि तथ्याँकमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० मा ३ सय २६ वटा मोटरसाइकल दुर्घटना भएको देखिन्छ ।
हरेक वर्ष सवारीका दूर्घटना र मृतकको संख्या बढ्दै जानुलाई सवारी साधनको चाप बढ्नु र सडक संजालको स्तर वृद्धि अझै चुस्त हुन नसक्नु जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाको तर्क छ । अहिले दुई पाङ्ग्रे सवारी साधनको चाप अत्यधिक बढेको छ । ‘घरघरमा व्यक्तिपिच्छे मोटरसाइकल वा स्कुटी छ, हाम्रो देशमा सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन सकियो भने केही हदसम्म दूर्घटनाको संख्या कम हुन सक्ने उनले बताए । सवारी साधनको चापसँगै लापरवाही पनि बढ्दा दुर्घटनाको जोखिम बढेको उनको भनाय छ ।
ट्राफिक नियम सम्बन्धी सचेतना जगाउने र सडक कालोपत्रे हुने क्रम बढ्दै जाँदा पनि दुर्घटनाको दर बढ्नुको कारण सवारी चालक र सडक यात्रीको पनि लापरवाही रहेको पर्सा ट्राफिकको तर्क छ । सवारी चालक एवम् नागरिकले बेवास्ता गर्ने र लापरवाही गर्ने गरेको उनको ट्राफिक प्रमुख प्रहरी निरीक्षक खतिवडाको पनि तर्क छ । व्यक्ति स्वयम् जिम्मेवार भएर सतर्कताका साथ सवारी साधन चलाएमा दुर्घटनाको दर धेरै कम हुने उनले दावी गरे । ‘हामी कहाँ अनुशासन भएन, सबै ठाउँमा ट्राफिक प्रहरी र प्रहरी पुग्न सक्दैन । व्यक्ति आफै जिम्मेवार हुनु पर्छ । हामीले चेकजाँच गर्ने पनि तपाईहरुकै सुरक्षाका लागि हो उनले भने । ‘यहाँकै व्यक्तिहरु पनि काठमाण्डौ वा विदेश गए भने ट्राफिक नियमको पालना गर्छन्, १५ मिनेट, आधा घण्टासम्म कुर्न सक्छन् । तर यहाँ २ मिनेट पनि कुर्न सक्दैनन् । भाग्न खोज्छन् ।’ ट्राफिक नियमको पालना गर्ने संस्कार विकास गर्नु पर्ने आवश्यक्ता छ उनले अथ्र्याए । पर्सा जिल्लामा ५० देखि ६० जना ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रण तथा सबै ठाउँको निगरानी गर्न नसकिने भएकाले व्यक्ति स्वयम जिम्मेवार हुनुपर्ने र जनप्रतिनीधि एवम् स्थानीय सरकारले सडक तथा सवारीको व्यवस्थापन गर्नु पर्नेमा ट्राफिक प्रहरी निरीक्षक खतिवडाको सुझाव छ ।