वीरगंजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । अत्यधिक गर्मीमा रक्तदान न्यून हुने र बिरामीहरुको बढ्दो चापको कारणले गर्दा रगतको आवश्यकता बढी हुने हुँदा रगतको चरम अभाव भएको रक्तसञ्चार केन्द्र वीरगन्जका राजन श्रीवास्तवले बताए ।
हालै रक्तसञ्चार केन्द्रमा सबै समूहको रगत निकै अभाव भएको छ । बि पोजेटिभ, ओ पोजेटिभ, ए पोजेटिभ, एबी पोजेटिभ, एबी नेगेटिभ, बी नेगेटिभ, ओ नेगेटिभ, ए नेगेटिभ लगायतका समूहको रगत रक्तसञ्चार केन्द्रमा अभाव भएको श्रीवास्तवले जानकारी दिए ।
केन्द्रबाट दिनहु ६० देखि ८० पोका सम्म जाने गरेको र रगत संकलन भने एकदमै न्यून रहेको रक्तकेन्द्रका श्रीवास्तवले जनाए । झनै डाक्टरहरुले ताजा रगत ल्याउन भन्दै केन्द्रमा पठाउने र रगतका विभिन्न तत्वहरु समेत माग गर्दा समस्या झेल्नु परेको उनको भनाई छ ।
"एउटै बिरामीलाई चारपाँच पोकासम्म माग भईरहेको छ , तर संकलन भनै निकै कम भईरहेको", उनले भने । हामीले रक्तदानका लागि विभिन्न दाता संस्थाहरु सँग समन्यव गरिरहेको उनले जिकिर गरे ।
आउने शनिबार तीन वटा संस्थाले वीरगन्जका विभिन्न स्थानमा रक्तदानको आयोजना गर्ने भएकोले रक्तदान गरेर सहयोग गर्न पनि आग्रह गरिएको छ ।