पद र गरिमा भन्ने दुईटा शब्दलाई मात्र पनि पहिचान गर्न सकिएन भने मानिसले पाएको ठूलो उपलब्धी खासै अर्थपूर्ण हुँदैन । नेपालको संसद भवनमा गएको आईतबार नेपालका गृहमन्त्रीले दिएको अभिव्यक्ति उहाँको पद र गरिमासँग छेकछन्द मिल्ने देखिदैन थियो । मुलुकको गृहमन्त्रीको त्यो सम्बोधन देशलाई नै गिज्याउने भनी कतिपयले टिप्पणी नै गरिसकेका छन् । समग्रमा यो कुरामा दम छैन भन्न सकिन्न । अहिले त सामाजिक संजालले पनि त्यो झल्कोलाई अझै दिइरहन्छ । तथ्यसम्म पुगेर हेर्ने हो भने नेपालका गृहमन्त्रीको बोलीको पन्तुरो उभिण्डो पारेर घोप्टिएको हो कि ? भन्ने भान हुन्थ्यो । सो दिन उहाँको शब्द भण्डार उभिण्डो परेर घोप्टिएको जस्तो लाग्थ्यो । गृहमन्त्री बोल्दा हुनुपर्ने शब्द चयन र शैलीको पनि त्यहाँ धज्जी उडाइएको देखिन्थ्यो । बडी ल्याङ्वेज र शब्द स्वतः पदीय व्यक्तिले अभिव्यक्त विचारसँग मेल खाँदैनथ्यो । तर नेपालका गृहमन्त्रीलाई त्यसको खासै हेक्का भएझैं देखिएन ।
मुलुकको गृहमन्त्री शैलीमा अब नेपाली उत्रिदै जाने हो र कालोलाई सेतो मात्रै भन्दै जाने हो भने मुलुक कता पुग्छ ? यति त गृहमन्त्रीले हेक्का राखिदिनु पर्छ । ‘मैले पनि अरुले झैं गर्न पाउनु पर्छ’ भन्ने आशय नयाँ पार्टीको अध्यक्षलाई शोभा दिदैन । लज्जाबोधको कुरा त्यहाँ बोल्दा हेक्का पु¥याइनु पर्छ । सदनको कार्वाही चलिरहेका बखत गृहमन्त्रीले बोलेको कुरा हो त्यो । ‘एकबाट बहुजनमा नाँगिएका व्यक्तिको भरोसा नगर्नु’ भन्ने पाका पुस्ताको कुरा यहाँ कम दमदार छैन । संयमताको खाँचो पनि त्यो प्रस्तुतिमा खड्किएको देखिन्छ । गृहमन्त्री मात्र नभई एउटा नयाँ पार्टीको अध्यक्ष समेत पनि हो उहाँ ।
मिडियाको पृष्ठभूमिबाट गएर मन्त्री बन्नासाथ मिडियालाई उपेक्षा गर्ने धुन्दुकारी जस्तो भईदिंदा नयाँ पुस्ताले त्यसलाई रुचाउँछन् भन्ने हुन्न । छोटो समयमा विभिन्न राजनीतिक व्यवस्था बदलेका नेपालका राजनीतिक दलले परिवर्तित समय क्रम ठिकसँग बुझ्न नसकेकै कारण हिजोका टिभी पत्रकारले पनि आज आँङ्ग झार्ने मौका पाएको पनि छर्लङ्ग छ । यो कुरालाई पदको रापतापले छिटो भुल्नु पनि युक्तिसंगत नहुन सक्छ । त्यसैले माथि हेरेर भूईं तहका जनताले सिक्ने ठाउँमा रहेका बखत माथि हुनेले देखाउने हाउभाउ र दिने अभिव्यक्तिको महत्व महत्वपूर्ण हुन्छ । मिडियाले कुनै प्रमाण, दस्तावेज, प्रमाण आदिलाई सही ठानेर समाचार सार्वजनिक गर्ने हो । जुन हालका गृहमन्त्रीले त्यही गरेका थिए । तर त्यो ठाउँबाट के अलि माथि पुगे । तलको धरातल भूल्ने प्रयत्न गृहमन्त्री जत्तिको मानिसलाई सुहाउने छुट छैन ।
अनि मिडिया ट्रायलको कुरा कहाँबाट आयो ? कुनै बिषय उठेपछि अन्तिम निर्णय त मिडियाले होइन, न्यायालयले नै गर्ने हो ! कार्य सम्पादनमा सरकारले अग्रसर हुन पर्ने हो । तर यो कुरा किन भुलिन्छ । मिडियाले त गोप्य कुरा बाहिर ल्याउने नै हो । सहकारी काण्ड पनि त्यसैको उपज हो । के मिडियाले सतही कुरा बाहिर ल्याउनु गलत हो ? अब प्रश्न यता तर्फ पनि सोझिन्छ । सूचना र प्रविधिको युगमा मिडियाको भूमिका कुनै अमुक व्यक्तिले चाहे जस्तो मात्र हुन्न ? नेपाली जनता अमेरिका नघुमे पनि अब त्यति मूर्ख चाही छैनन् । जति ठानिएको छ ।
संसद्को रोस्ट्रमबाट ‘मुलुकको सूचना विदेशीलाई बेच्ने’ यतै कतै छन् भन्ने हो गृहमन्त्रीले ? धम्की होइन हुती भए कार्वाही गरेर देखाउने हो । नत्र मुलुकको गोप्य वा सामरिक महत्वका कुनै सूचना विदेशीलाई उपलब्ध गराउका थाहा पाउने गृहमन्त्री स्वयम् गम्भीर राष्ट्रद्रोही भएको पुष्टि नहोस् ।
_________________________________________________________________________________________________
मध्य नेपाल पत्रिका र मध्य नेपाल डटकम अनलाईनले तयार पारेको समाचार सामाग्री यूट्यूबमा पनि छ । हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस् । तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ ।