१४ जेठ, वीरगंज । ‘सफा सुन्दर हाम्रो शहर, वीरगन्ज नगर’ भन्ने नारा पछिल्लो समय सार्थकता नजिक लम्किरहेको छ ।
जनताको अपेक्षा र महानगरको नारा अनुसार व्यवहार सार्थकता तर्फ लम्किनु नराम्रो होइन । नारा अनुसार यो कार्य ढिलो चाँडो हुनु पर्ने थियो । त्यसै अनुरुप महानगरको कार्यसम्पादन पनि एउटा ठोस दिशातर्फ उन्मुख हुनु सर्वसाधारणको हित अनुकुल नै भएको धेरैको ठम्याई छ । नगरवासीको हकमा यो राम्रो पक्ष भएको सर्वसाधारण पनि बताउँछन् ।
सरसफाईसँगै गर्मीमा शहर बजार आउने सर्वसाधारणले शितल ताप्ने प्रतिक्षालय (चौतारी) अब महानगरको प्राथमिकतामा पर्नु पर्ने यहाँका बुद्धिजिबीहरुको सुझाव छ । सरसफाईमा वीरगंज महानगरका मेयर राजेशमान सिंह लागिपरेकै छन् । यो राम्रो पक्ष हो ।
सरसफाईसँगै यो गर्मी मौसममा काम बिशेषले बजारमा आउने मानिसलाई शितल ताप्न मिल्ने प्रतिक्षालयहरु पनि ठाउँ–ठाउँमा निर्माण गर्न महानगरपालिका चुक्न नहुने यहाँ बुद्धिजिबीहरुको थप सुझाव पनि छ । गाउँ–घर वा बाहिरी जिल्ला तथा छिमेकी मुलुकबाट समेत विभिन्न काम बिशेषले वीरगन्जमा आउने मानिस अहिले प्रतिक्षालयको अभावमा समस्या खेप्न बाध्य छन् ।
यसलाई मध्यनजर गरी साविककोभन्दा वीरगन्ज सभ्य र सुन्दर भएको थप पुष्टि गर्न सबै सुचकांकसँगै सर्वसाधारणको सेवालाई पनि अझ परिस्कृत गर्न पर्ने स्थानीयको पनि महानगरलाई सुझाव छ । विगत दुई वर्षदेखि वीरगंजका मुख्य शहर तथा वडाहरु निकै नै सफा, सुन्दर देखिएका छन् ।
आफ्नो नामकोलागि पनि विकासको होडवाजी नै चलेको छ । तर प्रतिक्षालय तर्फ भने कसैको ध्यान नगएको उनीहरुको तर्क छ । महानगरभित्र यात्रु तथा सेवाग्रहीहरुको लागि प्रतिक्षालय पनि भइदिने हो भने महानगरको गरिमा अझ उच्चो हुने पनि स्थानीयको सुझाव छ ।
वीरगंज महानगरले महानगरपालिका अगाडी प्रतिक्षालय निर्माण गरेको छ । तर अरु स्थानमा सार्वजनिक यात्रु प्रतिक्षालय निर्माण हुन नसकेको वीरगन्जवासीको गुनासो छ ।
आर्थिक नगरीे वीरगंजको मुटुका रुपमा रहेको घण्टाघर चोक, अन्य वडाहरु, बसपार्क लगायतका स्थानहरुमा पनि सार्वजनिक प्रतिक्षालय नहुदाँ अहिलेको टन्टलापुर घाम र अब आउने वर्षे झरीमा वीरगन्ज बजारमा आउने सेवाग्राही समस्यामा पर्ने ठाडो प्रक्षेपण स्थानीय अगुवाहरुको पनि छ ।
पर्साको सदरमुकाममा वीरगन्ज बाहिरबाट रोजगारीको खोजीमा आउने मजदुर, किनमेल गर्न आउने सेवाग्राही तथा यात्रुहरुलाई सार्वजनिक प्रतिक्षालय (चौतारी) नहुदाँ निकै समस्या परेको वीरगंज–४ की महिला सदस्य, (कार्यपालिका सदस्य)राधा कार्कीले बताइन् । वीरगंजमा सार्वजनिक स्थलमा बस्ने प्रतिक्षालय (चौतारी) हरुको अति नै आवश्यकता रहेको उनको पनि तर्क छ ।
यहाँका हरेक वडा, वीरगंज महानगरकाका विभिन्न ठाउँमा प्रतिक्षालय निर्माण हुनु सार्थक हुने पर्सागढी नगरपालिका–८ का कपिलदेव महतो थारुले पनि बताए । उनी काम बिशेषले वीरगंज बजारमा आएका हुन् ।
केही यात्रुलाई वीरगन्जको माईस्थानमा बस्न मिल्ने केही ठाउँको व्यवस्था गर्न खोजिए पनि दिनको चर्को घाममा यो विश्राम स्थल अलि प्रभावकारी नभएको थारुको तर्क छ । चिनेको सुन पसलमा आश्रय लिएर बस्नु परेको गुनासो उनले गरे । सार्वजनिक स्थलमा विश्राम गर्ने ठाउँको व्यवस्थापन राम्रो गर्नु पर्ने उनको सुझाव छ ।
ठोरी गाउँपालिका–४ का ठाकुर प्रसाद न्यौपाने पनि वीरगन्जमा घुमघाम गर्दै माईस्थान पुग्दा पहिले बस्ने ठाउँ हुने गरे पनि अहिले विकास निर्माणको नयाँ प्रारुपले अलि समस्या बढेको स्वीकारर्छन् । उनी जिल्ला समन्वय समिति पर्साका निवर्तमान उपाध्यक्ष पनि हुन् । गहवामाई मन्दिरमा बस्ने ठाउँ पाउँदा अत्यन्तै खुशी लाग्थ्यो ।
अहिले पुरानो संरचना भत्काएर नयाँ बनाउने क्रममा रहेकोले सर्वसाधारणलाई तत्काल बस्न ठोस ठाउँ नभएको उनले पनि तर्क गरे । सार्वजनिक स्थलमा चौतारीसंगै, खानेपानी, शौचालय समेत भइदिए त्यसले नगरको शोभा नै बढाउने उनको भनाइ छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–५, का कमल प्रसाद बराल विदेशमा शहरहरुको बीचमा पार्क हुने भए पनि मधेश प्रदेशको एक मात्र महानगरपालिकामा सर्वसाधारणले शितलताप्ने कुनै प्रतिक्षालय (चौतारी) नहुनु राम्रो संकेत नभएको तर्क गर्छन् । वीरगंज महानगरले जसरी सरसफाईमा ध्यान दिएको छ । त्यसै गरी चौक चौराहामा चौतारी पनि निर्माण गरिदिए राम्रो सन्देश जाने उनले सुझाव दिए । यसले महानगरवासीको लागि मात्र नभएर जिल्लाको सदरमुकामको समेत पहिचान उच्च राख्ने उनको थप तर्क छ ।
बस पार्क, घण्टाघर, माईस्थान, आदर्शनगर वडाका वीचमा पनि बनाउनु पर्नेमा उनले जिकिर गरे । वीरगंज महानगरपालिका– ८ पूर्व महिला सदस्य सविता गिरी दिनहुँ काम गर्न वीरगंज बजारमा नै आश्रित हुनु पर्ने भएकोले यस्ता ठाउँहरुमा प्रतिक्षालय बनाउनु पर्नेमा जोड दिन्छिन् ।
वीरगंज महानगरका विपद् व्यवस्थापन वन तथा वातावरणको संयोजक प्रदिप चौरसिया पनि आवश्यकताका आधारमा अबथ प कामलाई महानगरले प्राथमिकता दिइरहेको दावी गर्छन् ।
यता वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख राजेशमान सिंहले हालसम्म गरिएका काम खासै नभएको तर्क गर्दै अझै धेरै काम गर्न बाँकी रहेको दावी गर्छन् । सरसफाईमा राम्रो काम भएको बाहिरसम्म सन्देश गए पनि उनी यत्तिमा धेरै खुसी देखिदैनन् । भन्छन् ‘बैभव वीरगन्ज मेरो अवधारणा हो । म यसको लागि अझै धेरै काम गर्ने पक्षमा छु ।’ त्यो धेरै कामहरु मध्ये महानगरमा प्रतिक्षालयदेखि अन्य धेरै काम गर्नु पर्ने छ उनले भने ।
महानगरपालिकाले अहिले पुराना संरचना भत्काएर नयाँ निर्माण पनि निर्माण गर्ने तरखरमा छ । त्यस अभियानमा बालबालिकादेखि वृद्धवृद्धासम्म गर्मीको समय या जाडोमा हुने जमघटलाई हृदयंगम गरी सर्वसाधारणलाई सेवा दिन महानगर तल्लिन रहेको वीरगन्ज महानगरको भनाइ छ । वीरगन्ज महानगरपालिकाले वीरगंजलाई हराभरा बनाउन अभियानको रुपमा नै काम गरिरहेको पनि महानगरले जनाएको छ ।
वीरगंजको घण्टाघरमा आवागमन बढी हुने हुनाले विभिन्न ठाउँबाट रोजगारको लागि आउने मानिस घण्टाघरको सडकपेटी र टेलिकमको पेटीमा नै बस्न वाध्य छन् । यो कुरा महानगरले राम्रोसँग हेरिरहेको छ ।
ती सर्वसाधारण सहित महानगरमा जुनसुकै कामले पनि आउने मानिसलाई लक्षित गरी विभिन्न ठाउँमा महानगले प्रतिक्षालय (चौतारी) बनाउने कुरा नबिर्सेको वीरगंज महानगरपालिकाको विपद् व्यवस्थापन वन तथा वातावरण संयोजक प्रदिप चौरसियाले पनि तर्क गरे ।
_________________________________________________________________________________________________
मध्य नेपाल पत्रिका र मध्य नेपाल डटकम अनलाईनले तयार पारेको समाचार सामाग्री यूट्यूबमा पनि छ । हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस् । तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ ।