वीरगन्जमा आइतबार बजार अनुगमन समिति सुनचाँदी पसलहरुको अनुगमनका लागि पुग्दा अधिकांश पसलेहरु पसल नै बन्द गरेर बसेका छन् । अनुगमनका लागि पुग्नु अगावै अधिकांश सुनचाँदी पसलेहरु पसल नै बन्द गरेर हिडेको अनुगमन टोललीमा संलग्न गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका कर्मचारी मनिष गुप्ताले जानकारी दिए ।
गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका निरीक्षक रामप्रसाद लम्सालको नेतृत्वमा आइतबार सुनचाँदी पसलहरुको अनुगमन गर्न सरोकारवाला निकायका प्रतिनिधि संलग्न टोली खटिएको थियो । उक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्सा, पर्सा ,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, जिल्ला प्रहरी कार्यालय पर्सा र उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका प्रतिनिधीहरुको सहभागीता रहेको थिए ।
अनुगमन टोली आइतबार वीरगन्जको माईस्थान र मिनाबजार क्षेत्रमा रहेका सुनचाँदी पसलहरुको अनुगमनका लागि निस्किएको थियो । तर अनुगमनमा पुग्दा अधिकांश सुनचाँदी पसलेहरुले पसल नै बन्द गरेर हिडेको र अनुगमनमा असहयोग गरेको अनुगमन टोलीमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका सचिव अजित भुजेलले तर्क दिए ।
अधिकांश पसलेहरुले पसल नै बन्द गरेर हिडेकोले ६ वटा पसलमा भने अनुगमन गरिएको बताउँदै गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका कर्मचारी गुप्ताले बताए । अनुगमन गरिएका पसललहरुमा गुणस्तर तथा नापतौलमा कुनै त्रुटी फेला नपरेपनि पसलको नविकरण भने नगरिएको भेटिएकाले तीन दिनभित्र नवीकरण गराउन निर्देशन दिइएको गुप्ताले जानकारी दिए ।
उनका अनुसार, सुनचाँदी पसलेहरुले व्यापारिक नियमको पालना गरे नगरेको तौल र शुद्धताको मापन पालना भए नभएको तथा कर तिरे नतिरेको बारेमा अनुगमन गर्न टोली खटिएको थियो ।व्यपारीलाई डर त्रास दिनका लागि नभई सुनचाँदी पसलहरुले मापदण्ड र नियमको पालना गरे नगरेको तथा ग्राहकहरु उनिहरुबाट ठगिर्दै आएको अवस्था भए नभएका बारेमा अनुगमन गर्न खोजिएको उनले बताए ।