पर्सा जिल्लामा दोस्रो चरणको राष्ट्रिय पोलियो खोप अभियान आइतवारदेखि शुरू भएको छ। जेठ १३–१६ गतेसम्म पहिलो चरणको राष्ट्रिय खोप अभियान सम्पन्न भएलगत्तै दोस्रो चरणको पोलियो खोप अभियान शुरू भएको स्वास्थ्य कार्यालय, पर्साका खोप अधिकृत जयमोद ठाकुरले बताए।
पहिलो चरणमा वीरगंज महानगरपालिकाका १ देखि १६ वटा वडा, बहुदरमाई नपा, छिपहरमाई, पकाहामैनपुर, धोबिनी, विन्ध्यवासिनी र ठोरी गाउँपालिका गरी आठवटा पालिकामा खोप अभियान सञ्चालित भएको थियो भने वीरगंज महानगरका १७ देखि ३२ नं वडा, पर्सागढी, पोखरिया नगरपालिका, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिकामा खोप अभियान शुरू भएको हो। दोस्रो चरणको खोप अभियान जेठ २६ गतेसम्म सञ्चालन हुने र यस अवधिमा १६ हजार बालबालिकालाई पोलियो खोप खुवाइने लक्ष्य छ।
२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मेका बालबालिकाहरूलाई लक्षित गरेर राष्ट्रिय पोलियो खोप अभियान सरकारले सञ्चालन गरेको हो।
सो अवधिमा खोप अभाव भएकोले सरकारले कार्यक्रम सञ्चालन गर्न नसकेको र अहिले सोही उमेर समूहका बालबालिकालाई लक्षित गरेर राष्ट्रिय पोलियो खोप अभियान २०८१ सञ्चालन गरेको हो।
पर्सा जिल्लामा सो अवधिमा खोप लिनबाट वञ्चित ३१ हजार ८१२ जना बालबालिकालाई दुई चरणमा खोप दिने लक्ष्य रहेको खोप अधिकृत ठाकुरले बताए। दोस्रँे चरणको खोप अभियानमा ७०८ जना स्वयंसेविका, एक हजार ४१६ जना स्वयंसेवक, ११२ जना स्वास्थ्यकर्मी र तीनजना चिकित्सक खटिएका खोप अधिकृत ठाकुरले बताए। खोप लगाउने क्रममा हुने सम्भावित जोखिम व्यवस्थापनको लागि ११२ जना स्वास्थ्यकर्मी र नारायणी अस्पतालका तीनजना चिकित्सक अभियानमा संलग्न रहेका उनले जानकारी गराए।