जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस राष्ट्रिय दिवसको रुपमा नेपालमा मनाउन लागेको १८ वर्ष भइसकेको छ । २०६३ साल जेठ २१ गते नेपालमा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो । तथापि अझनेपालमा जातीय छुवाछुतको अन्त्य भने हुन सकेको छैन । नीति बन्ने र दिवस मनाइने अन्य दिवसको अवस्था छ । छुवाछुत उन्मूलन दिवस चाही सार्थकता नजिक पुगेको छ कि छैन ? भन्ने बिषयमा छुवाछुत उन्मूलन दिवसको कत्तिको सार्थकता भएको छ ? भन्ने बिषयमा विभिन्न व्यक्तिहरुसँग लिएको प्रतिक्रिया :
१. आम जनता यो छुवाछुतको कारणले कहि न कहि पछाडी परिरहेका छौं । हामी आफ्नो मानव सभ्यतालाई बिसिरहेका पो छौं कि । हिन्दु, मुस्लिम, शिख, इसाई जति पनि धर्म छन् ती धर्मावलम्बीहरु बीचमा नै पनि पछाडी परेको समूदाय वा छुवाछुतको घेरामा परेको पाइन्छ । यो राम्रो संकेत होइन । पछाडी परेको व्यक्ति वा समूदायलाई मूलधारमा ल्याउन सकियो भने पुरानो अवधारणहरु पनि स्वतः निस्तेज भएर जान्छ । त्यसै गरी सबै व्यक्तिलाई विकासको अवधारणामा ल्याउनुपर्छ । सबैलाई एउटा समान अवसरहरु दिनु पर्दछ । कसैले–कसैलाई होच्याउनु हुदैन । सबै व्यक्तिलाई समान अवसर पाए मात्र समाज रुपान्तरणमा सहि सिद्ध हुन सक्छ । हरेक व्यक्तिलाई आर्थिक, भौतिक, शैक्षिक, हरेक रुपमा मजबुत हुने अवस्था सृजना गर्नु पर्छ । यसो भए छुवाछुत पनि आफै हटेर जान्छ ।
२. जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस हरेक वर्ष जेठ २१ गते मनाइन्छ । २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको सम्झनामा यो दिवस मनाइन्छ । तर छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १८ वर्ष बिते पनि समाजमा छुवाछुत विद्यमान छ । दलित मात्रै नभएर महिला तथा समग्र सीमान्तकृत समुदाय नै विभेदको जन्जिरमा बाँधिएको छ । अहिले पनि अजित मिजार, नवराज वि.क. जस्ताले ज्यानको आहुती दिनुपर्छ भने दलित युवाले गैर दलित युवतीसँग प्रेम गरे पनि विवाह गर्न सोच्नु पर्छ । अनि कसरी हामीले यो दिवस मनाउन सक्छौ ? यहाँ प्रेम र विवाहको मात्रै कुरा होइन, हाम्रै पर्सा जिल्लामा अहिले पनि धेरै ठाउँमा हुने धार्मिक क्रियाकलापमा दलित समुदायलाई पूजापाठमा रोक लगाइन्छ । दलित भएकै कारण एक विद्यालयका प्रधानाध्यापकलाई हटाउन गैर दलित शिक्षकहरुले षड्यन्त्र गर्छन् । जनप्रतिनीधिहरु पनि उनैको पक्षमा वकालत गर्छन् । कसरी समानताको प्रत्याभूति दलितले गर्छन् । संविधानमा सबैले सम्मानपूर्वक बाँच्न पाउने, कुनै पनि किसिमको विभेद गर्न नपाइने जस्ता व्यवस्थाहरु कार्यान्वयनको पक्षमा अत्यन्तै कमजोर छन् । प्रशासनिकदेखि राजनीतिक तहसम्म दलितलाई विभिन्न बहानामा बाधा अड्चन आइपर्छन् । जातीय विभेद जस्ता जघन्य अपराध संविधानले मानिसक्दा पनि कानून कार्यन्वयनको तहमा गैर दलित जमातले मिलाउन र लुकाउन खोज्ने प्रवृति जिवित छ । जातिय विभेद तथा छुवाछुत विरुद्धको लडाई अझै पनि जारी राख्नु पर्ने अवस्था छ ।
३. सबैभन्दा पहिला स्थानीय तहमा छुवाछुत उन्मूलन दिवस मनाएको छैन । अहिले देशव्यापी नै दलित भनेर दलितका बालबालिकाको बलात्कार भइरहेको छ । मलाई जहाँसम्म लाग्छ यसले कुनै पनि सार्थकता पाएको छैन । यसको लागि नीति ऐन छ । नीति ऐनको आधारमा रहेर मानिसहरु आफ्नो अधिकार माग्न गइरहेका छन् । अधिकार पाउन खोजिरहेका छन् । छुवाछुत हटाउनको लागि ऐन तथा नियमहरुलाई राम्रो सित लागु गर्नु पर्दछ । कसैले जातीय छुवाछुत गरिरहेको छ, वा जातको हिसाबले विभेद गरिहेको छ भने स्थानीय सरकारले धेरै कडा नियम बनाई कार्यान्वयन गर्नु पर्छ ।
४. जातीय छुवाछुत भनेको यो १८ औं शताब्दीको कुरा हो । हामी २० औं शताब्दी पार गरिसकेका छौं । वर्तमानमा मानिस कहाँदेखि लिएर कहाँसम्म पुगिसको छ । वर्तमानमा छुवाछुतको बारेमा जुन मानिसमा सोच छ, त्यसको सोच एकदम नकारात्मक हो । किनभने जीवन भनेको सबभन्दा उत्तम प्राणी हो । त्यसकारण छुवाछुतलाई त्यागेर हरेक समुदायले हरेक प्राणीलाई मानव समाजलाई कल्याण गर्ने छुवाछुतको अन्त्य गरी आफ्नो पहिचानलाई बनाउनु पर्छ । जबसम्म मानिसहरुमा जनचेतना हुदैन । जुन मानिसले आफुलाई म माथिल्लो जातको हँु भनेर सोचिरहेको छ । जातजाती धर्मले होइन कर्मले हुन्छ । त्यसकारण मानिसहरुलाई त्यो दिवसलाई एकदमै राम्रोसंग मनाउनु पर्छ । छुवाछुतलाई अन्त्य गर्नको लागि तल्लोस्तरबाट वा हाम्रो पालिकास्तरबाट नै हरेक समुदायले, हरेक शिक्षित वर्गले त्यसलाई समन्वयात्मक कायए गरेर अन्त्य गर्नुपर्छ ।
५. जातीय छुवाछुत एकदमै नराम्रो कुरा हो । पहिला पहिलाको एकदमै सकुचित मानसिकता भएको मानिसहरु थिए । अहिले पनि त्यस्ता केही व्यक्तिहरु छन् । समाजमा त्यस्ता व्यक्ति भएसम्म यो जातिय विभेद चाही हट्न सक्दैन । यो हटाउनको लागि सर्वप्रथम अहिलेको युवापिडीमा राम्रो सोचको विकास हुनुपर्ने हुन्छ । छुवाछुत उन्मूलन दिवस मनाउनु र त्यसलाई व्यवहारमा उर्तानुमा धेरै फरक छ । हामीहरुले कार्यक्रमा ठुला– ठुला भाषण गरेर मात्र हुदैन । सर्वप्रथम आफ्नो सोच बदल्नु पर्छ । कुनै ठूलो जातिको भएपनि फोहोरी तरिकाले बसोबास गरिरहेको छ भने त्योे नराम्रो हो । जुन मानिस तल्लो जातको भए पनि त्यो शिक्षित छ एकदमै राम्रो सित बसिरहेको छ भने त्यो राम्रो हो । त्यस्ता मानिसहरुलाई भेदभाव गर्नु भनेको नराम्रो हो । त्यसैले हामीले यो दिवसलाई राम्रोसँग मनाउनु पर्छ ।
६. जति पनि जातिको नाममा वर्गको नाममा भेदभाव भइरहेको छ । त्यसलाई अन्त्य गर्नु पर्छ । हामीहरुले यसलाई व्यवहारिक रुपमा नै कार्यन्वयनमा ल्याउनुपर्छ । हाम्रो जति पनि संस्कृति संस्कारहरु छन् । त्यसमा पनि भेदभावको भावना उत्पन्न भएको छ । विवाहदेखि लिएर चाडपर्व सम्ममा छुवाछुत भइरहेको छ । वर्तमान समयमा आएर पनि मानिसहरु सोच चाहि पुरानो नै रहेको देखिन्छ । मैले आफूमाथि पनि छुवाछुत भोगेको छु । म एउटा दलित परिवारबाट प्रतिनिधित्व गर्छु । मानिसहरु भन्छन् दलितको घरको पानी चल्दैन । दलित हो भनेर मान्छेहरु धेरै हेप्ने गर्छन् । छुवाछुत उन्मूलन दिवस कहाँ मानिसहरु मनाउँछन् ? छुवाछुतको शुभकामना सामाजिक संजालमा हालेर मात्र हुदैन । हामीहरुले यो दिवस यस्तो मनाउनु पर्छ कि यो सबैलाई समान व्यवहार होस् । तव मात्र यो दिवसको सार्थकता हुन्छ ।
७. नेपालमा १८ औं राष्ट्रिय जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाइरहदाँ अझै पनि जातिय विभेदको अन्त्य भइसकेको छैन । सरकार र संघ संस्थाहरुले जति नारा लगाए पनि जस्ताको त्यस्तै छ । शहरी क्षेत्रमा कार्यक्रमहरु हुन्छ । तर ग्रामिण भेगमा भने जातीय विभेद कम भएको छैन । सरकारबाट दलित वर्गलाई दिने भनिएको छात्रवृति पनि नामको मात्र छ । तल्लो स्थानीयस्तरको दलित वर्गसम्म पुग्न सकेको छैन । पछाडी परेका वर्गहरुको उठान गर्न सरकारले राम्रो शिक्षा दिक्षा लिने, रोजगारको क्षेत्रमा पनि अगाडी बढाउने गरेर सहयोग गर्न सकिन्छ । स्थानीय तहमा जातिय छुवाछुतको विषयमा जनचेतना जगाउनु पर्छ । जातिय छुवाछुत गर्नेलाई कडाभन्दा कडा कानुनी व्यवस्था बनाउनुका साथै लागु गर्नु पर्छ ।
८. आधुनिक युगमा आएर पनि सोच पुरानो नै छ । छुवाछुतको सोच राख्नु भनेको एकदमै नराम्रो सोच हो । छुवाछुत भनेको एउटा विकृति हो । जसबाट हामी सबैले टाढा बस्नुपर्छ । तर अहिले पनि धेरै मानिसहरु हेर्दा छुवाछुतमा लागेका छन् । हामीहरु आफ्नो पर्वहरु मनाउँदा हेर्छौं कि त्यहाँ पनि मान्छेहरु अलग बिलग बसेको हुन्छ । मानव त सबै मानव नै हो भन्ने सोचको विकास भएको छ । तर पनि आफ्नो जिवनमा कोई तल्लो जातको मानिस आएर नछोओस् भन्ने खालको सोच राखेको हुन्छ । हामीहरुले आफ्नो जातलाई लिएर आफ्नो वर्गलाई लिएर छुवाछुत गर्छौं । तर यस्तो गर्नु हुँदैन । तर अहिले त राजनीतिदेखि लिएर शैक्षिक क्षेत्रसम्ममा छुवाछुत तथा भेदभाव समाप्त भइसकेको छैन ।