पर्सा जिल्लाको ५ वटा गाऊँपालिकाका स्थानीयहरु शुद्ध पानी खानबाट बञ्चित रहेका छन् । जिल्लाको उत्तरी बेल्टमा पर्ने पटेर्वा सुगौली गाऊँपालिकाको सोनबर्षा, जिराभवानी गाउँपालिकाको शंकर सरैया, सेढवा, जगरनाथपुर गाउँपालिकाको जानकीटोला, पांडेपुर, ठोरी गाउँपालिकाको सुवर्णपुर, निर्मलवस्ती, ठोरी, सिकारीवास र सखुवा प्रसौनी गाउँपालिकाको मधुवन मथवल लगायतको ठाउँहरुमा दैनिक प्रयोग हुने पानीको समस्या उत्कर्षमा पुगेको हो ।
नेपाल सरकारको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले खानेपानीको समस्या सामाधानका लागी २०५३ सालदेखि नै विभिन्न साविकका गाविसहरुमा स–साना खानेपानी आयोजना स्थापना गर्दै शुद्ध खानेपानी वितरण गर्दै आएका छन् । तर २०६२ सालदेखि करोडौँको लागतमा आएका आयोजनाहरु असफल भएकै कारण स्थानीयहरु दुषित पानी खान बाध्य भएका हुन् ।
पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत साविकको सोनवर्षा गाविस र जिराभवानी गाउँपालिका अन्तर्गत साविकको शंकर सरैया गाविसमा आएको ठूलठुला आयोजनाहरुले बर्षौंसम्म पनी खानेपानी वितरण गर्न सकेनन् । जसले गर्दा हालसम्म स्थानीयहरुले शुद्ध खानेपानीबाट बञ्चित रहेका छन् । यी दुवै आयोजना सफल हुन नसकेकै कारण पर्साका अरु गाऊँपालिकामा ति आयोजनाहरु आउन नसकेर स्थानीयहरु आर्सेनिक युक्त पानी खान बाध्य भएको उनीहरुले बताए ।
सोनवर्षा गाविस पर्सा वन्यजन्तु आरक्षसंगै जोडिएको भए पनि १०० फिटसम्मका चापाकलमा शुद्ध पानी आउँदैन । आए पनि खाने लायकको हुन्न स्थानीय विर शमसेर गिरीले बताए । यस गाविसको अधिंकाश चापाकलबाट आर्सेनीक भएको पानी जनता खान बाध्य छन् । हामीले यस विषयमा पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गरायौँ तर पाईप र मुहान मर्मत सम्भारका लागी छुट्याईएको रकम खर्च मात्रै भए, शुद्ध खानेपानी भने अझै सम्म नपाएको उनले गुनासो गरे । मर्मत सम्भारको रकम कर्मचारीहरुको कमाई खाने भाडो भएको उनको तर्क छ ।
आर्थिक बर्ष २०६२/०६३ मा पर्सा जिल्लाको पटेर्वा सगौली गाउँपालिका अन्तर्गत साविकको सोनवर्षा गाविसका जनताको स्वास्थ्य खानेपानीका लागी एक करोडौँ ५२ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको खानेपानी आयोजनाको निर्माण भएको १२ वर्ष वितिसक्दा पनी अझैसम्म सञ्चालनमा आउन सकेको छैन । पटक पटक लाखौँ रुपैयाँ मर्मत सम्भारको नाममा खर्चेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साले पुरानो आयोजना रद्द गरी सञ्चालन गरेको अर्को नयाँ आयोजना पनी अहिले बन्द छ । तराई मधेश खानेपानी कार्यक्रम अन्तर्गत कार्यालयले ३० लाखको लागतमा आर्थिक वर्ष २०७३/०७४ मा नयाँ बोरिङ्ग जडान गरेको थियो । तर पम्प विग्रेका कारण सो खानेपानी आयोजना पनि बन्द अवस्थामा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर रामहित यादवले बताए ।
यस्तै आर्थिक वर्ष २०६३/०६४ मा जिल्लाको जिरा भवानी गाऊँपालिका अन्तर्गत साविकको शकर सरैया गाविसका स्थानीयहरुका लागी निर्माण भएको संकरसरैया खानेपानी आयोजनाले पनी १५ दिन समेत पानी वितरण गर्न सकेन । लगभग १ करोड ६५ लाखको लागतमा निर्माण भएको यस आयोजनाको नाममा समेत उपभोक्त समिति मार्फत पटक पटक गरी लाखौँ रुपैयाँ खर्चिएको छ । तर आयोजनाले भने स्थानीयलाई धारोबाट पानी खुवाउन नसकेको स्थानीयको भनाई छ । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ३ मा पर्ने जिल्लाकै विकट मानिने सिकारीबासका स्थानीयहरु अहिले पनि नदीका दुषित पानी खान बाध्य छन् ।
क्षेत्र नं ४ अन्तर्गत पर्ने यो गाऊँमा ५२ घरधुरीका करीब २ सय ७० जनसंख्या रहेको छ । आवागमनमै समस्या भएका कारण यस विकट बस्तीमा खानेपानी जस्तै स्वास्थ्य चौकी, सडक, बिजुली बत्ति, सिंचाई जस्ता सधारण सेवा सुविधाहरु समेत अझै पुग्न सकेको छैन । गाऊँमा खाने पानी सुविधा नभएकै कारण स्थानीयले खाने पानी ल्याउन डोहरम खोला पुग्नुपर्ने बाध्याता रहेको स्थानीय बम भोला महतोले बताए ।
शुद्ध खानेपानी कै समस्याले गर्दा यी गाउँका स्थानीय वासिन्दाहरु बर्षेनी झाडापखाला, ज्वरो र खोकी लगायतको स्वास्थ्य समस्याले महामारीको रुप लिने गरेको छ । तर पनि यहाँका जनताले शुद्ध खानेपानी पाउन सकेको छैन । शुद्ध पानीका लागी गाउँभरी विस्तार गरेको खानेपानीको पाइपहरु स्थानीयले हटाई दिएका छन् । सार्वजनिक स्थानमा जडान भएका धारामा दशकौँ सम्म पनि पानी नआउँदा आक्रोशित गाउँलेहरुले तोडिदिएको स्थानीय शिक्षक सिता चौधरीले बताइन् । उनले भनिन् दशकौँ कु¥यौँ कामै नपर्ने धारो राखेर के गर्ने त्यसैले हामीले घर घर बाटै हटाइसकेका छौँ । विहान उठेदेखि खाना पकाउने, खाने, खुवाउने, कपडा लत्ता सबैका लागी पानी नभई नहुने हो । त्यसैले पनि आर्सेनिक भए पनि हामीले यही पानी खान बाध्य भएको स्थानिय शिक्षक चौधरीले बताइन् ।