२४ जेठ, वीरगन्ज । बुधबार राति आएको हावाहुरीले वीरगन्जका दुई जना घाईते भएका छन् ।
राति करिब एक बजे तिर तेज गतिमा आएको हावाहुरीका कारण ठाँउ ठाँउमा विद्युतको पोल भाँचिएको छ । भने कतिपयको घरको छानो उडाएर क्षति भएको छ । जस्तापाताले छाएको घरको छानो खस्दा वीरगन्जका २ जना घाईते भएको प्रहरीले जनाएको छ ।
हावाहुरीले जस्ताले छाएको छानो खसेपछि वीरगन्ज १५ लक्ष्मणवाका विष्णु यादवका ६ वर्षिय छोरा नितिश यादव र वडा नम्बर २२ का ३० वर्षिय शेखर माझी घाईते भएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।
दुवै घाईतेलाई वीरगन्जको नारायणी अस्पतालमा लैजाँदा उपचार सम्भव नभएपछि रेफर गरिएको डिएसपी भारतीले बताए । घाईते यादव र माझीलाई नारायणी अस्पतालले रेफर गरेपछि यादवको उपचार नेशनल मेडिकल कलेज र ६ वर्षिय बालकको उपचार एलएस न्यूरोमा उपचार भइरहेको जानकारी डिएसपी भारतीले दिए ।
यसैविच हावाहुरीले वीरगन्ज नगर क्षेत्रमा ट्रान्फर्मर सहितको विद्युतिय पोल ढलेको हुँदा आज विहीबार दिनभर विद्युत सेवा अवरुद्ध रहेको छ । विद्युत सेवा अवरुद्ध हुँदा वीरगन्जका सरकारी तथा गैरसरकारी संघसस्थाका कामकाज समेत ठप्प रह्यो ।
विद्यूत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेका अनुसार, रातिको आँधीहुरीले वीरगन्ज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेका छन् भने लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षति भएको छ ।
वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको उनले बताए । यस्तै वीरगन्जको पावरहाउस चोकमा पनि ५ वटा पोल लडेको जानकारी उनले दिए ।
जसका कारण वीरगन्ज महानगर क्षेत्रमा राति साढे १२ बजेदेखि नै विद्युत सेवा अवरुद्ध भएको हो । ठाँउ ठाँउमा ढलेका पोल , तार र ट्रान्सफर्मर मर्मतको काम बिहानैदेखि सुरु गरिएको र अहिलेपनि प्राविधिकहरु त्यसमै लागि रहेको दुबेले बताए ।
मर्मत सम्भारको काम चलिरहेकाले अवरुद्ध विद्युतको आपुर्ति सम्वत आज बेलुकीदेखि सुचारु हुने सम्भावना रहेको दुबेले बताए । वीरगन्जका केही ठाउँमा बत्ति आए पनि धेरै ठाउँमा मर्मत कार्य नसकेको कारण सेवा अवरुद्ध रहेको उनले बताए ।
विद्युत सेवा अवरुद्ध हुँदा तथ्यांक संकलनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक भारतीले बताए । उनले लाईन नभएर क्षतिको विवरण तयार गर्न समस्या भएको बताए ।
क्षतिको विवरण संकलन कार्य भईरहेको कारण के कतिको क्षति भएको छ भन्ने जानकारी लाईन आएपछि डाटा तयारी भएपछि मात्र भन्न सकिने डिएसपी भारतीले बताए ।
उता राजविराजका दीपेन्द्रकुमार चौधरी बिहीबार बिहान रुपनी गाँउपालिका–२ लौवापारस्थित आफ्नो आँपको बगैंचा पुग्दा चिन्तित भए । पाक्न लागेका आँपका दाना अब घर लग्ने र बिक्रीका लागि तयारी गरिरहेका बेला बुधवार साँझ आएको हावाहुरीका कारण करिब सयवटा रुख रहेको उनको बगैंचाका आँप झरे ।
‘बुधबार साँझको हावाहुरीले सामान्य क्षति गरेको होला भन्ने अनुमान थियो । तर बगैंचा पुग्दा मन थाम्न सकिनँ,’ चौधरीले भने,‘रुखका हाँगाहरु भाँचिएका छन्,आँपका दानाहरु ठूलो परिमाणमा हावाहुरीले झारेको छ,केही रुख त जरैबाट पनि उखेलेको छ ।’
चौधरीको बगैंचामा हरेक वर्ष ठूलो परिमाणमा आँप उत्पादन हुने गरेको छ । ‘आफ्नो परिवारलाई आवश्यक बाहेक हरेक वर्ष आँप बेच्दै आएको थिएँ तर बुधबार साँझको हावाहुरीले अब आफैंले पनि पनि आँप किनेर खानुपर्ने अवस्थामा पु¥यायो’ उनले भने ।
राजविराज नगरपालिका– २ राजदेवी टोलका अतुल मिश्रको बस्ती छेवैमा आँपको सानो बगैंचा छ । उनी आँप बेच्दैनन् । आँप लगभग तयार भइसकेको थियो । आफ्नै बारीको आँप तयार भएपछि खाने दिन गनेर बसेका उनको सबै आँप हुरीले झारिदियो । उनका अनुसार लगभग ४० हजार बराबरको आँप झरेको छ ।
सिरहाको मिर्चैया नगरपालिका ९ रमपुराका गुदरी यादवको १६ कठ्ठामा आँपको बगैंचा छ । त्यसमा हरेक वर्ष एकदेखि डेढ लाखसम्मको आँप उत्पादन हुन्छ । उनले बगैंचा एक लाख ४० हजारमा बेचिसकेका छन् । उनले व्यापारीसँग ४० हजार रुपैयाँ अग्रीम नै लिइसकेका छन् । आँप लगभग तयार भइसकेको थियो । व्यापारीले अबको केही दिनमा आँप झार्ने तयारीमा थिए । तर, बुधबारको हुरीले बगैँचाका आधाजति आँप झरेका छन् । रुखमा पनि क्षति पुगेको छ । ‘जुलुमै भयो,’ उनले भने, ‘अब त बगैंचाको दाम पनि आधा घट्ने भयो ।’
चौधरी, मिश्र र यादवको मात्र होइन, बुधबार साँझको हावाहुरीका कारण सप्तरी र सिरहा जिल्लामा ठूलो मात्रामा आँपको नोक्सानी भएको छ । तीब्र गतिको हावाहुरीका कारण जिल्लाका आँप बगैंचाहरुमा सयौं रुखहरुको हाँगा भाँचिएर क्षति भएको छ ।
कृृषि ज्ञान केन्द्र राजविराजका निमित्त प्रमुख किसुनदेव राउतकाअनुसार जिल्लामा साढे ८ हजार हेक्टर क्षेत्रफलमा आँपको बगैंचा छ । त्यसमध्ये साढे ७ हजार हेक्टर उत्पादित क्षेत्र हो । यसवर्ष सप्तरीमा कुल ७० हजार हेक्टर आँप उत्पादन हुने अनुमान गरिएको थियो ।
बुधबार साँझको हावाहुरीले कुल उत्पादनको १२ प्रतिशत क्षति गरेको निमित्त प्रमुख राउतले जानकारी दिए । ‘बुधबारको हावाहुरीले १२ प्रतिशत उत्पादनमा क्षति पुगेको छ,२५ करोड रुपैयाँ भन्दा बढीको क्षति आँप उत्पादनमा भएको छ’ निमित्त प्रमुख राउतले भने ।
सप्तरीको उतरी र पूर्वपश्चिम राजमार्ग क्षेत्रसँगै रहेका बगैंचाहरुमा व्यवसायिक रुपमा आँप उत्पादन हुँदै आएको छ । जिल्लाको उत्तर पश्चिमी सुरुङगा नगरपालिका आँप जोन क्षेत्र नै हो । यो क्षेत्रहरुमा मंजरको अवस्थादेखी नै व्यापारीहरूले उत्पादन खरिद गर्ने गरेका छन् । मञ्जर लाग्ने बेलामा नै लगानी गरेकाहरु बुधबार साँझको हावाहुरीबाट भएको क्षतिले चिन्तत भएका छन् ।
‘हावाहुरीले आँपमा ठूलो क्षति ग¥यो’ अग्निसाइर कृष्णासवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले भने,‘मञ्जर लाग्ने बेलामा नै बगैंचा खरिद गरेकाहरु अहिले तनावमा परेका छन् । हरेक बगैंचामा ठूलो परिमाणमा हावाहुरीले आँप झारेको छ, झारेका दाना मध्ये ठूलो परिमाणको दाना अझै परिपक्व नभएका कारण बिक्रीका लागि पनि उपयुक्त नहुँदा ब्यापारीहरु समस्यामा परेका छन्’ यादवले भने ।
सिरहा जिल्लामा हावाहुरीले आाँप झारिदिदा कतिको क्षति भएको छ भन्ने विवरण कृषि ज्ञान केन्द्र सिरहासँग छैन । ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र कुमार महासेठले क्षतिको यकिन विवरण कतैबाट नआएको बताए ।