विद्युत प्राधिकरणले परिवर्तित समयानुकुल आफ्ना संरचना मर्मत तथा नयाँ प्रयोग गर्न नसक्दा बुधबार राती आएको हावाहुरीमा बढि क्षति व्यहोर्नु परेको स्थानीयको दावी छ । सेवाग्राहीहरुको संख्या दिन–दिनै बढ्ने र विद्युत खपतमा प्राधिकरण र सरकार नै जनतासँग आह्वान गरिरहेको समयमा विद्युत प्राधिकरणले आफ्ना संरचनालाई समयानुकुल परिमार्जन गर्न नसक्दा सानो प्राकृतिक झड्कामा पनि बढि क्षति भोग्न बाध्य हुनु परेको उनीहरुको दावी रहेको हो ।
प्राधिकरणले पुराना पोल तथा संरचना समयानुकुल परिमार्जन गर्न पर्ने स्थानीय बुद्धिजिबीहरुको पनि सुझाव छ । सेवाग्राहीहरुको संख्या हरेक दिन बढ्ने क्रममा छ । तर विद्युतका पोल पुरानै अवस्थामा छन् । नयाँ कंक्रिटका पोलहरु पनि आगामी दिनको भार समेत थेग्ने गरी बनाइनु पर्ने उनीहरुले बताए । गर्मीयाममा हरेक सर्वसाधारणले पंखा चलाउने, एसी, एयरकुलर, फ्रिज जस्ता विभन्न सामग्रीको प्रयोग बढि हुने र विद्युत खपत झन बढ्ने हुन्छ । तथापि प्राधिकरणका ट्रान्सफर्मरहरु पुरानै अवस्थामा थिए । फलतः बुधबार राती आएको हावाहुरीका कारण पर्सामा मात्र ७५ वटा विद्युतका पोल नै ढल्नुका साथै ३ वटा ट्रान्सफर्मर समेत भूईंमा बजारिन पुगेको पाइएको हो । यसो हुँदा प्राधिकरणले क्षति पनि बढि व्यहोर्नु परेको सर्वसाधारणको पनि ठम्याई छ । विद्युत खपतका लागि प्राधिकरणले जनतालाई आह्वान गरिरहेको छ । तर पुराना ट्रान्सफर्मर र विद्युतीय उपकरणहरु समयानुकुल परिस्कृत गर्न भने चुक्दा प्राधिकरणलाई प्राकृतिक र कृतिम दुवै समस्याको भार बढि पर्न गएको स्थानीय बुद्धिजिबीहरुको भनाइ छ ।
बुद्धिजिबी र सर्वसाधारणको कुरामा केही सत्यता नै नभएको भने होइन पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी उत्तम घिमिरेले मध्यनेपालसँग बताए । ‘प्रकृतिका अगाडी कसैले पनि जित्न त सकिन्न । यस्ता विपत्मा कम क्षति हुने गरी पूर्वतयारीहरु त गर्नै पर्छ’ उनले भने । विद्युतका संरचनामा बढि क्षति पुग्दा आम सर्वसाधारण समेत दुईदिनदेखि अध्यारोमा बस्न बाध्य भएका छन् । केही उद्योग कलकारखाना तथा व्यवसायमा समेत प्रभाव परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसको अलावा सरकारी तथा गैर सरकारी कार्यालयहरुले दैनिक सम्पादन गर्दै आएका सेवाहरु समेत केही प्रभावित भएको जिल्ला प्रशासन कार्यालयको तर्क छ । यता विद्युत प्राधिकरण वितरण केन्द्र वीरगन्जका प्रमुख अवधेश दुवेले भने पुराना संरचनाको कारण मात्र क्षति नभएको दावी गरे । प्राकृतिक विपत्ती नै आएपछि पुराना नयाँ भन्ने कुरा हुन्न । कुल ७५ वटा पोल र ३ वटा ट्रान्सफर्मर ढलेको उनले बताए । एउटा ट्रान्सफर्मर चाही पूर्णरुपले परिवर्तन नै गर्नुपर्ने भयो उनले भने । कुल क्षतिको आँकलन त ५० लाख जति रहेको उनको दावी छ ।
बुधबार रातीको हावाहुरीले पोल ढल्दा ट्रान्सफर्मरहरु समेत भूईमा बजारिन पुगेको प्रत्यक्षदर्शीले बताए । बुधबार मध्य रातमा आएको हावाहुरीले स्थानीय एक बालक सहित दुई जना मानिस पनि घाईते भएका छन् । राती करिब १ बजे तिर तेज गतिमा आएको हावाहुरीका कारण ठाँउ ठाँउमा विद्युतको पोल ढलेका र भाँचिएका छन् । केही सर्वसाधारणको घरको छानो समेत उडाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक भारतीले बताए । जस्ता पाताले छाएको घरको छानो खस्दा वीरगन्जमा २ जना घाईते भएको उनको भनाइ छ । हावाहुरीको कारण जस्ता पाताले छाएको छानो खस्दा वीरगन्ज १५ लक्ष्मणवाका विष्णु यादवका ६ वर्षीय छोरा नितिश यादव र वडा नम्बर २२ का ३० वर्षिय शेखर माझी घाईते भएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक भारतीले बताए । उपचारको लागि दुवै घाईतेलाई वीरगन्जको नारायणी अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि अन्य अस्पतालमा रेफर गरिएको उनको भनाइ छ । घाईते यादवको उपचार वीरगन्जकै नेशनल मेडिकल कलेज र ६ वर्षीय बालकको उपचार एलएस न्यूरोमा भइरहेको प्रहरी प्रवक्ता भारतीले बताए ।
हावाहुरीले विद्युत प्राधिकरण नजिकै पावरहाउस चोकमा ट्रान्फर्मर सहितको विद्युतीय पोल ढाल्दा बुधबार रातीदेखि विहीबार शुक्रबारसम्म महानगरका धेरै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध रहेको विद्युत प्राधिकरणले नै सूचना जारी गरी जनाएको छ । विद्युत सेवा अवरुद्ध हुँदा वीरगन्जका सरकारी तथा गैर सरकारी संघ सस्थाका कामकाज समेत ठप्प भएका छन् । फलतः सेवाग्राहीहरुको घेरै काम रोकिएको उनीहरुले खुलासा गरे । रातिको आँधीहुरीले वीरगन्ज महानगरका विभिन्न स्थानमा गरी करिब दुई दर्जन जति विद्युतका पोल ढालेको विद्युत प्राधिकरणले जनाएको छ । जिल्लाको लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षति भएको पनि जनाइएको छ । वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको स्थानीयको पनि दावी छ । तथ्याँक संहलनका क्रममा विद्युतका पोलसँगै किसानको बालीनाली र फलफूलमा सबैभन्दा बढि हानी पुगेको स्थानीय प्रहरीले जनाएको छ । रुखमा पाक्न थालेका र पाक्ने क्रममा रहेका आँप, लिची जस्ता फलफूलमा निकै ठूलो क्षति भएको प्रहरीको दावी छ ।
उता सप्तरीको राजविराज लगायत मधेश प्रदेशका सप्तरी, सर्लाही, सिराहा, धनुषा लगायतका जिल्लामामा आँपका दाना घर लाने र बिक्रीका लागि तयारी अवस्था भए पनि बुधवार राती आएको हावाहुरीका कारण सयौं रुखले आफ्नो फल जोगाउन नसकेको पाइएको छ । कतिपय रुख त आफै ढलेका पनि सप्तरीको राजविराजका दीपेन्द्रकुमार चौधरीले बताए । उनी पनि आँप किसान हुन् । बिहीबार बिहान रुपनी गाँउपालिका–२ लौवापारस्थित आफ्नो आँपको बगैंचा पुग्दा उनले एक दिन अगाडी देखेको बगैंचाको अवस्था दर्दनाक पाएको बताए । मधेश प्रदेशमा चौधरीजस्ता सयौं किसान बुधबार आएको आँधीका कारण पीडित भएको त्यहाँका प्रहरी अधिकारीहरुे बताए ।
कृृषि ज्ञान केन्द्र राजविराजका निमित्त प्रमुख किसुनदेव राउतका अनुसार जिल्लामा साढे ८ हजार हेक्टर क्षेत्रफलमा आँपको बगैंचा थियो । त्यसमध्ये साढे ७ हजार हेक्टर उत्पादित क्षेत्र भए पनि सप्तरीमा मात्र हावाहुरीले ठूलो क्षति पु¥याएको उनको भनाइ छ । बुधबारको हावाहुरीले कुल उत्पादनको १२ प्रतिशत बढि क्षति पु¥याएको निमित्त प्रमुख राउतले दावी गरे । मूल्यमा भन्ने हो भने यो करोडौं हो उनले तर्क गरे ।