न समाचारको टुप्पो, न फेद, न छेऊ, न भित्तो, न टाउको, न पुच्छर ‘समाचार’ भन्ने बुझ्नै नपर्ने, लेख्नको त कुरा अलि परै छाडौं । पत्रकारका नाममा मनपरी चल्ने, पत्रकारकै आडमा ल्याप्प ठूला–बडाहरुसँग हात मिलाउन पाउने, त्यसैका आडमा वैध वाहेक अवैध आयमा पेट भर्न धाउने, लेख्न नपरी धक्कु लगाउन जान्ने यत्ति भए पत्रकार ! पत्रकार संगठनका ठालुहरुको चाकडीमा खुट्टा फड्कार्न माहिर, ‘कसैको स्तुति गाएका–संजालमा आएका’ अनि अनलाईनमा छाएका कुरा कपी र पेष्ट गर्न सक्ने झन् हेमानको पत्रकार ! अरुका उत्पादनमा कैंची चलाउने, अर्कै व्यसयायमा बल्छी समाउने, लेखेर भविष्य देखेर भएका पत्रकार सबै अलपत्रकार मान्ने, अरुको मुखैमा बुम कोच्न सक्ने क्या गज्जब ! भइगयो नि पत्रकार ! यत्ति गर्न जाने रजगजको पत्रकार ! यो पेशैसँग आजित भएका पत्रकारको दोहोलो काड्न जान्ने झन् बडेमाका पत्रकार । पत्रकारको छाता संगठन केन्द्रको रोजाइमा भागबण्डाको खोजाइमा पनि स्वतः यस्तै मात्र बढि पर्न सक्ने । पत्रकार हुनलाई कम्ती गाह्रो छ । तर पत्रकारिता नै गर्ने कलमजिबीहरुलाई प्रतिष्ठा जोगाउन मुख लुकाउन धौ–धौ परिरहेको हेक्का कसैलाई छैन ।
न जागिर, न तलब अनि, न त उपदान तथा पेन्सन ? हैन पत्रकारितामा कत्रो आकर्षण ? महासंघको रोजाइमा पनि यस्तै बढी पर्ने । वास्तविक पत्रकारको कित्ता चाही अब कुन हुने ? तोकिएको महानिर्वाचनको तिथि–मिति वास्ता नहुने । तर भागबण्डाका खेताला पत्रकारको खोजी अबिचलित रहिरह्यो । श्रमजिबी पत्रकारको हितमा लड्ने छाता संगठनको यस्तो हुर्मत । चौकी–चौकी धाउने, व्याक डेटमा समेत केहीले सूचना छाप्ने, सिफारिस र दलालीमा आफ्नो भविष्य देख्ने, बर्षौंको कठोर मेहेनतले सम्पादक बनेका सम्पादकले सम्पादन गर्दा निहीत स्वार्थको समाचार नआए पकेट अनलाइन खोल्ने, स्वरोजगार पत्रकारका नाममा ‘वान मेन इन्टरप्राइजेज’ बन्ने र सरकारी हुण्डीमा रमाउने अब पत्रकारको परिभाषा समाजले अपेक्षा गरेको र ऐनाका रुपमा भइए जस्तो रह्यो त ? महासंघले पनि शुद्धिकरणका नाममा अझ कर्तूतका पारखीहरुलाई भित्र्याउने मनोरोगले पेशाबाट पलायन हुनेको संख्यामा पनि ठूलै प्रतिशत नसमेटिएका भन्ने छैन ।
नीति, थिति र विधानमा रहन पर्ने आफै आचार संहितामा रहने पत्रकारहरुको छाता संगठनको यस्तो मजाक उडाइनु कुनै अर्थमा युक्तिसंगत छैन । अब भर्खरै पत्रकारितामा प्रवेश गरी एक डेड दशक संचार गृह संचालन गर्दैै गरेका पत्रकारितामा भविष्य खोज्दै गरेका पत्रकारहरुलाई यस्ता हर्कतले कस्तो छाप छोड्ला ? व्यक्तिगत र दलगत संगठनका मसिहाहरुको स्वार्थमा पत्रकारहरुलाई गिजोल्दा यो पेशा प्रति गलत संदेश गएको मात्र छैन, यसले कालान्तरसम्म पार्ने प्रभाव र महासंघको गरिमामा नराम्रो झापड हानेको छ ।
नेतृत्वको मूल बागडोर सम्हालेका वरिष्ठ पत्रकारहरुले पालुवा पत्रकार नेताहरुको विधान र थिति प्रतिको हेलचेक्र्याईलाई टुलुटुलु बसेर हेर्न अब सुहाउँदैन । यो आम मानिसले मजाक उडाउने र पत्रकारलाई हेर्ने दृष्टिकोणको भद्धा मजाकले पत्रकारहरुकै ओज घटाएको छ । यस्तो वातावरण सृजना हुन दिनु हुन्न । अझै यतातर्फ ध्यान नदिने हो भने यसले सिंगो पत्रकारिताको मर्ममा ठूंङ्ग मार्ने मात्र नभई पत्रकारको सुरक्षा प्रति पनि झन भयानक अवस्थाको निम्तो दिन सक्छ । सत्य–तथ्य कन्टेन्ट बाहिर ल्याउन पर्ने पत्रकारलाई यत्तिकै चुनौति छ । अझ साविकको पत्रकारितामा प्रविधि र सञ्जालले हस्तक्षेप गरेको परिवेशमा पत्रकारिताको गहनतालाई कम आँक्न कसैलाई छुट छैन । सबैलाई चेतना भया ।