वीरगञ्जको मुख्य सडक विस्तारको विषयमा परेको मुद्दा हेर्न नभ्याईनेमा परेर फेरी अर्को पेशी तोकिएको छ । आगामी असार ९ गतेका लागि यही मुद्दाको अर्काे पेशी तोकिएको यो २४ औं पटक हो ।
सर्वाेच्च अदालतको ७ नम्बर इजलासको १ नम्बरमा परेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको हो । सर्वाेच्च अदालतमा विचाराधिन रहेको वीरगञ्ज महानगरपालिकाको मुख्य सडक (मेनरोड) विस्तारको मुद्दाको सुनुवाइ फेरि सरेको हो ।
त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक, शङ्कराचार्यद्वार हुँदै मितेरीपुल सम्मको मुख्य सडक विस्तारको मुद्दा पेशी आज आइतबारका लागि थियो ।
मुख्य सडक विस्तारको मुद्दाको पेशी आइतबार सर्वोच्च अदालतका न्यायधिशद्वय डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको सयुक्त इजलाशमा परेको थियो । निवेदक लक्ष्मण साह रौनियार, राजकुमारी देवी तुलस्यान, भरत प्रसाद रौनियार र वीरेन्द्र कुमार संघाईले दायर गरेको रिट आजको पेशीमा पहिलो नम्वरमै परेको थियो ।
त्रिभुवन राजपथ अन्र्तगत पर्ने सडक विस्तारका लागि तोड्ने विषयमा वीरगञ्ज महानगरपालिका र सडक आसपासका घरधनीबीचको मुद्दा लामो समयदेखि अल्झिएको छ ।
सडक बिस्तार गर्न नमिल्ने भनेर वीरगञ्ज युवा तथा व्यापारी सडक पिडित संघर्ष समितिको मुद्दाको पेशी सरीरहँदा घरधनीहरुले पुनः अर्काे मुद्दा दर्ता गराएका छन् । परवानीपुरदेखि गण्डक, पावरहाउस वीरगञ्जदेखि शंकराचार्य गेटसम्मको सडकलाई त्रिभुवन राजपथबाट मन्त्रीपरिषद्को निर्णयले नै हटाइसकेको हुँदा २०२१, २०३४ को राजपत्रमा प्रकाशित सूचना र २०७६ साल भदौ ६ गते प्रतिक दैनिकमा प्रकाशित सूचनाको औचित्य समाप्त भएकोले त्यो सूचना बदर गरी पाउँ भनी २० जनाको समूहले नयाँ मुद्दा दर्ता गराएको जवाहर प्रसाद गुप्ताले बताए ।