यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगि नै नेपालमा प्रवेश भएको छ । नेपालमा जुन १३ मा मनसुन प्रवेश गर्ने भएता पनि यस वर्ष तीन दिन छिटो आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नेपालको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर अगाडि बढ्ने छ ।
गएको वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो । नेपालमा औसतमा जुन १३ मा शुरु भएर अक्टोबर २ सम्म सरदर एक सय १२ दिन मनसुन रहन्छ ।
मनसुन भनेको हावा वहने दिशा परिवर्तन हुनु हो । मनसुन सामान्यतया एशिया र दक्षिणपूर्वी एशियामा सम्बन्धित छ । भारतीय उपमहाद्वीपमा हुने उच्च तापमानले बङ्गालको खाडीबाट मनसुनी हावा आउने गर्छ । हिन्द महासागरको पानी वाफ बनेर हावामा मिसिन्छ । वाफसहितको हावा भारत, नेपाल, श्रीलङ्का र बङ्गलादेशलगायतका देशतर्फ वहन्छ । तातो हावा चिसिएपछि पानी पार्छ । हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ ।
मनसुन भन्ने बित्तिकै धेरै मानिसले भारी वर्षा भनेर सोच्ने गर्छन् । तर यो हावाको दिशा परिवर्तन मात्रै भएकाले मनसुनले सुक्खासमेत गराउन सक्छ । नेपालको सन्दर्भमा बङ्गालको खाडीबाट आउने हुँदा जलवाष्पयुक्त हावा धेरै हुन्छ । त्यसैले यहाँ चिसिएपछि बदली र वर्षाको सम्भावना धेरै हुन्छ ।
नेपालमा कृषिका लागि मनसुन आवश्यक छ । कैयौँ ठाउँहरूमा सिँचाइको सुविधा उपलब्ध नहुँदा वर्षामै निर्भर हुनुपर्छ । धान, कोदोलगायतका खेतीसँगै बिजुली उत्पादनका लागि पनि मनसुनी वर्षा आवश्यक छ । मनसुन कमजोर र ढिला भित्रिँदा कृषि उत्पादन र अन्य आर्थिक गतिविधिमा ठूलो क्षति हुने गरेको छ । तर पछिल्लो समय मनसुन भन्नासाथ कृषि प्रणालीभन्दा पनि बाढी, पहिरोलगायतका प्रकोपको चिन्ता धेरै हुने गरेको छ । कुनै ठाउँमा एकै पटक धेरै पानी पर्ने, मनसुनको शुरुमै हिमालतिर पानी पर्ने लगायतका परिवर्तन र सडकलगायतका विकासका कामले बाढी, पहिरोको जोखिम बढाउँदा नेपालमा मनसुनको सम्बन्ध धेरै विपद्सँग देखिन थालेको हो ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ । पानी धेरै पर्ने अनुमानसँगै गृह मन्त्रालयले विपद्बाट हुने क्षति घटाउनेसहित उद्धार र राहतका लागि कमान्ड पोस्ट नै स्थापना गरेर काम शुरु गरेको छ ।