साँघुरो सडक, साघुँरै पेटी र पेटीमै नुनदेखि चुनसम्मको व्यापार वीरगन्जको सौन्दर्यता घटाउने प्रमुख कारण हुन् । वीरगन्ज क्षेत्रको सडक चौडा पार्न कसैले आँट गरेको छैन । वीरगन्जको घन्टाघरदेखि छपकैयासम्मको मूलबजार सडककै कारण कुरुपता झल्काउने ठाउँ हो झै अस्तव्यस्त छ । तथापि शहरको सौन्दर्यीकरणको लागि कतैबाट सडक चौडा पार्ने पहल भएको पाइदैन ।
गणतान्त्रिक नेपालका ७ सय ६१ सरकार मध्ये वीरगन्ज बजार समेटिएको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार पनि यहीं मौजुदा छ । स्थानीय सरकार बनेपछि के—के न गर्छु ? भन्ने जनप्रतिनीधिको निर्वाचनताकाको कशम पनि व्यवहारतः लागु हुन सकेको छैन । त्यसैले पनि वीरगन्जको मुटु वीरगन्ज बजारको सौन्दर्यता कुरुप जस्तै देखिएको हो ।
शहरको केन्द्र भाग भए पनि यहाँ स्तरीय किसिमका घर छैनन् । धेरै त एकतले र जीर्ण घरले वीरगन्जको इज्वत धान्नु परेको छ । बजारको अग्रभागमा रहेका घरका दिवालहरुबाट इँटा र सिमेन्टले आफ्नो सम्बन्धलाई तोड्न थालेका छन् । जिर्ण दिवाल, त्यसमाथि झार र घाँसहरु उम्रिएको परबाटै जो कोहीले देख्न सक्छ । रंगरोगन गरेर चिटिक्क राख्न कतैबाट अनुमति नै छैन झैं परबाटै प्रष्ट देखिन्छ । शहरको केन्द्र भागमा देख्दै विरक्तलाग्दा घरहरु हुनु तिनको बहालकर भने महानगरपालिकाको तथ्याँकमा नसमेटिनु यसको अर्को पाटो छँदैछ ।
एउटा सटर र कोठाको मात्रै हजारौं नतिरी व्यापारीहरुले पुरानो घरमा पनि व्यापार गर्न पाउँदैनन् । पुरानै घरमा लाखलाखको एड्भान्स लिने घरवालाको चाल अझै सुध्रेको छैन । पछिल्लो समयमा व्यापारिक प्रयोजनका लागि बनेको केही अग्ला घरहरु पनि एउटा तलामा घरवाला बसी बाँकी सबै भाडामा लगाएको हुन्छ । तर पनि सरकारको राजश्व मार्न घर भाडामा लगाएको छैन भनी राजश्व मार्ने काम भइरहेको छ । करको दर बढाउने तर दायरा नबढाउने महानगरपालिकालाई यसको निगरानी गर्ने हेक्का छैन ।
भन्न खोजेको के मात्र हो ? भने पुराना र जीर्ण घरहरुको सट्टा शहरलाई आधुनिक शहरका रुपमा विकास गर्न कस्ले रोकिरहेको छ ? बारबार उठ्ने सडक चौडाको कुरा एकपटक निक्र्यौल गरिदिए वीरगन्ज शहरले नयाँ रुप लिनेमा दुईमत नहुने स्थानीयको भनाइ छ ।
२०१३ सालमा वीरगन्जलाई काठमाण्डौसँग जोड्ने त्रिभुवन राजपथ बनाउँदा सडक सिमाको कुनै नियम लागू थिएन । तर त्यसको फाइदा उठाउँदै राजमार्गमै टाँसेर बनाएरका घरहरु आज समस्याका रुपमा छन् उनीहरुले भने । सडक सीमालाई पटक पटक संशोधन गर्दै बढाउँदै लानुको साटो दायाँबायाँ २५ गजबाट २५ मिटर कायम गरिएको कुरो मापदण्ड अनुसार नै लागु गरिनु पर्ने माईस्थानका केही व्यापारिले मध्य नेपाल सन्देश साप्ताहिकलाई बताए ।
लाभ लिइरहेका सडक छेउका वासिन्दाले वर्षौंदेखि भोगचलन गर्दै आएको जमीन र घर भत्काउन तयार नहुनु स्वभाविक हो । तर न सरकार अग्रसर छ ? न देश बनाउाछौं भन्ने यो क्षेत्रका राजनीतिकर्मीहरुमा नै त्यो ल्याकत छ ? यसले पनि मुलुकका धेरै शहरको मुहार फेरिदा वीरगन्जको मुहार फेरिन नसकेको आदर्श नगर क्षेत्रका व्यापारी मध्ये केहीले तर्क गरे ।
वीरगन्ज महानगरपालिकाले त बजार क्षेत्रको दायाँबायाँ १५ मिटर मात्र कायम गर्नुपर्ने निर्णय गरेको छ । नगरप्रमुख विजय कुमार सरावगीको घर पनि यही सडकसँग जोडिएर रहेको कारण अझै यो सडम चौडा हुने र वीरगन्जको मुहार फेरिनेमा आशंका रहेको महानगरपालिका छेउका एक उद्योगीले नाम उल्लेख नगर्ने भन्दै बताए । यो सडक खण्ड अहिलेसम्म राष्ट्रिय राजमार्ग क्षत्रेमै राखिएको छ । त्यसैले पनि नियमानुसार दायाबायाँ २५ मिटर खाली गर्नु पर्ने हो भने यथासिघ्र खाली गरी बजारको मुहार फेर्न सबैको साथ हुनु पर्ने उनको जोड छ ।
यता पुरानो बजार ध्वस्त बनाएर सडक विस्तार गर्न सकिने अवस्था नरहेको मध्यमाञ्चलल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरि सापकोटाले बताए । बजार खण्डको सडकमा के गर्ने भन्ने निर्णय मन्त्रिपरिषदले नै लिनु पर्ने उनको तर्क छ । सडक सीमाको चाँडो निर्धारण नहुँदा वीरगन्जमा व्यापारिक कम्प्लेक्सहरु बन्न सकेका छैनन् । कति सडक छेउका नागरिकसँग सडकसँगै जोडिएको जमीनको लालपूर्जा समेत छ । उनीहरुले नगरपालिकामा केही सम्पत्ति कर तिरिरहेको दावी गरे ।
पुराना र अव्यवस्थित घर बजार क्षेत्रमा हुँदा ‘व्यवसायिक फर्महरु वीरगन्ज बजार भन्दा बाहिर जाँने र लगानी पनि पलायन हुने सम्भावना टट्कारो छ । अर्को तर्फ ठूला व्यापारीहरु पनि वीरगन्जमा लगानी गर्न कति खेर के हुन्छ ? भनी अझै अन्यौलमा रहेको आदर्श नगर चौकमा व्यापार गर्ने एक व्यापारीले बताए । उनले पनि यो बिषयमा नाम उल्लेख नगरिदिनु होला भनी आग्रह गर्दै भने ।