वर्षभरीमा कुन कार्यक्रम बढि हुन्छ ? भनी नियाल्ने हो भने रक्तदान कार्यक्रम अरु कार्यक्रमको तुलना सबैभन्दा बढी हुने गरेको पाइएको छ । प्रत्यक्षरुपमा मानिसको जीवनसँग सरोकार राख्ने रगत संकलन गर्नुपर्ने भएकोले पनि यो कार्यक्रम अधिक रुपमा प्राथमिकतामा पर्ने गरेको पाइएको हो ।
गएको वर्ष पर्सामा १६ हजार ३ सय ३ पोका रगत खपत भएको रक्त संचार केन्द्रको तथ्याँकले पुष्टि गरेको छ । तथापि रक्तदान कार्यक्रमको संख्या भने यति नै भन्ने खुलाइएको छैन । तर पनि जिल्लाका विभिन्न ठाउँमा भएका कार्यक्रमबाट मात्र १४ हजार ५ सय ८३ पोका रगत संकलन भएको तथ्याँक भने रक्तसंचार केन्द्रबाट लिएको भनी व्लड डोनर्स एशोसिएसन पर्साले उपलब्ध गराएको छ । यो तथ्याँक २०८० वैशाखदेखि २०८१ वैशाखसम्म जिल्लाको विभिन्न ठाउँमा भएका कार्यक्रममा रगत संकलन भएको तथ्याँक हो । संकलन र खपतको अवस्थालाई नियाल्दा १ हजार ८ सय ४७ पोका रगत भने कार्यक्रममा संकलन नभई रक्त संचार केन्द्रमा नै संकलन भएको पनि व्लड डोनर्स एशोसिएसनले जनाएको छ । यो रगत नियमित रगत दान गर्ने रक्तदाताहरु, जन्म दिनमा रक्तदान गर्ने सचेत नागरिक, ताजा रगत चाहिने बिरामीका केही आफन्त र दूर्घटनामा परेका मानिस बचाउन तत्काल रक्तदान गर्नुपर्ने लगायतका व्यक्तिले दिएको रगत रहेको ब्लड डोनर्स एशोसिएसन पर्साका अध्यक्ष शत्रुघ्न नेपालले बताए । ‘विगतको तुलनामा रक्तदान कार्यक्रममा र रक्त संचार केन्द्रमा नै पुगी रगत दान गर्ने मानिसहरुको संख्या वृद्धि हुनु आम सर्वसाधारणमा समेत चेतनास्तर वृद्धि भएको प्रष्ट हुन्छ’ उनले भने । तथापि रगत खपतको दरमा पनि धेरै वृद्धि भएकोले खपतको तुलनामा भने अझै संख्या बढाउन पर्ने अध्यक्ष नेपालको सुझाव छ ।
महिलाको उपस्थिति बढ्दै
पर्सामा एक वर्षको अवधिमा संकलित १६ हजार ३ सय ३ पोका रगत मध्ये सबैभन्दा बढि रगत खपतको दर भने महिलाहरुमा प्रयोग भएको व्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंहले बताए । जति पोका रगत जम्मा भयो, उति नै मानिसले रक्तदान गरेको पनि हो । यो रगत मध्ये १३ हजार ६ सय १४ जना पुरुष र १ हजार २९ जना महिलाहरुले दान गरेका थिए । यसरी समग्रमा हेर्ने हो भने पुरुषभन्दा महिलाहरुले निकै कम रगत दान गरेको तथ्याँकले चाही देखाउँछ । तर विगतका वर्षहरुभन्दा गतवर्ष पर्सामा रक्तदान गर्ने महिलाहरुको संख्या चाही बढेको पाइएको छ । पुरुषहरुलाईभन्दा महिलाहरुलाई नै बढी रगत आवश्यक पर्ने कुरा पनि विस्तारै सतहमा आउन थालेपछि पहिलेभन्दा महिलाहरु पनि रक्तदान गर्न उत्सुक देखिन थालेको सचिव सिंहले बताए । यो चेतनास्तर उनीहरुमा बढेको कारण पनि पहिलेभन्दा गतबर्ष संख्यात्मक रुपमा महिलाको उपस्थिति वृद्धि भएको रक्तसंचार केन्द्रका कर्मचारी राजन श्रीवास्तवले बताए । तर पुरुषको तुलनामा भने अझै महिला संख्या कम रहेको उनको भनाइ छ ।
महिलाहरुले पुरुष सरह रक्तदान गर्न नसक्नुका केही कारण रहेको नेपाल रेडक्रश सोसाइटी पर्सा उपसभापति एवं रक्तसंचार केन्द्र वीरगन्जको संयोजक मधु राणाले बताइन् । पुरुषहरु समेत रक्तदान गर्न नमान्ने समयदेखि रक्तदान गर्दै आएकी उनी स्वयम् २८ पटक रक्तदान गरेकी महिला पनि हुन् । चेतनास्तर भएर पनि शारिरीक अवस्थाले महिलालाई महिनामा १७ दिन मात्र रक्तदान गर्न मिल्ने दिन हुन्छ । यसका अलावा अन्य दिन रक्तदान गर्न मिल्दैन । अनि रक्तदान गर्ने समयको अन्तराल पनि मिलाउँदा तीन महिना पछि रक्तदान गर्न मिल्ने समयमा पनि शारिरिक अवस्थाले महिलालाई अनुकुल नहुन सक्छ उनले तर्क गरिन् । खास गरी महिलाहरुले महिनावारी हुँदा, सुत्केरी भएको लामो समय र स्तनपान गराउन्जेल रक्तदान गर्न नमिल्ने तीन चरण भएकोले पनि पुरुषको तुलनामा महिलाको संख्या केही कमी हुने संयोजक राणाले तर्क गरिन् ।
एकैदिनमा बढि संकलन गर्ने ईप्रका पटेर्वासुगौली
समिक्षा अवधिमा सबैभन्दा बढी रगत संकलन गर्ने संस्था राउन्ड टेबुल रहेको दावी गरिएको छ । उसले साताव्यापी कार्यक्रम गरी ४ सय ६५ पोका रगत संकलन गरेको रक्त संचार केन्द्रले जनाएको छ । तर एकै दिन बढी रगत संकलन गरेर पर्सामा गत वर्ष पहिलो नम्बरमा भने ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली दर्ज भएको छ । उसले एकैदिन ३ सय पोका रगत संकलन गरेको थियो । यसपछि धेरै रगत संकलन गर्नेमा रेडियो वीरगंज छ । उसले २ सय ४५ पोका रगत सङ्कलन गरेको छ ।
व्लड डोनर्स एशोसिएसन पर्साले गएको वर्ष एकै ठाउँमा ५० पोकाभन्दा बढि रगत संकलन गर्ने संस्थाहरु र बढि पटक रगत दान गर्ने रक्तदाताहरुलाई शुक्रबार वीरगन्जमा सम्मान गरेको छ । रक्तदाता समूह (ब्लोदान) वीरगंजले विश्व रक्तदाता दिवसको अवसरमा जेठ ३२ गते शुक्रबार रक्तदान गर्ने विभिन्न संघ संस्था, व्यक्तिहरूलाई सम्मान गरेको हो । बढी रक्तदान गरेका सङ्घसंस्था, व्यक्तिहरू ८१ जना, आकस्मिक रक्तदान गर्ने ५४ जना र रक्तदान कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने व्यक्ति तथा पालिकाहरू १७ समेत गरी १५२ जनालाई सम्मानित गरिएको एशोसिएसनले जनाएको छ । गत वर्ष त्री–दिवसीयरूपमा विश्व रक्तदाता दिवस मनाउँदै आएको एशोसिएसनले यो पटक अत्यधिक गर्मीका कारण एक दिन सम्मान कार्यक्रम मात्र गरेर दिवस पनि मनाएको छ । मधेश भन्ना साथ गर्मी ठाउँ भन्ने सबैलाई थाहा छ । यस्तो समयमा रगतको खपत समेत बढि हुने हुँदा रक्तदान गरी अरुको जीवन बचाउने कार्यमा संलग्न जुनसुकै संस्था र व्यक्ति धन्यवादका पात्र भएको व्लड डोनर्स एशोसिएसनले सो क्रममा जनाएको थियो ।
पर्सा, बारा र रौतहटका विभिन्न १५ पालिकाले आफ्ना पालिका क्षेत्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन रक्त संचार केन्द्रमा सिफारिस गरी पुण्यको काम सुरु गरेको पनि खुलेको छ । गरीब विपन्न समुदाय भित्र र पहुँचमा नहुनेहरुलाई रगत चाहिए रगत खपत भए वापतको एक हजार ५० रुपैया पालिकाले व्यहोर्ने गरी रेडक्रश सोसाइटीसँग ती पालिकाले सम्झौता गरेको खुलेको छ । यता रक्त संचार केन्द्र पर्सामा गएको वर्ष दुई व्यक्ति सहित पर्सा, बारा, रौतहट गरी १५ वटा गापा र केही वडाले समेत गरीब, असहायहरूको लागि निःशुल्क रगत उपलब्ध गराउन आर्थिक सहयोग उपलब्ध गराएको रक्त संचार केन्द्रले जनाएको हो ।