१.पार्लर व्यवसाय रोजाईमा पर्नुको कारण के हो ?
सानोदेखि नै पार्लर सम्बन्धी धेरै इच्छा भएकोले पार्लर व्यवसाय नै सञ्चालन गरेको हो । वीरगंजका विभिन्न बोडिङ्ग स्कुलहरुमा १५ वर्ष काम गरेको भए पनि स्कुल गर्दा पनि मलाई मेकअप गर्ने रहर धेरै थियो । आफू हुर्काउनु पर्ने बच्चाहरु पनि ठूलो भएपछि अलि फुर्सद भयो । अनि वीरगंजमा र काठमाण्डौंमा पार्लर सिकेर पार्लर खोलेको हो ।
२. पार्लर संचालन गर्न परिवारको कत्तिको साथ पाउनु भएको छ ?
मेरो ईच्छाको काम भएर पनि मलाई पार्लर सम्बन्धी काममा धेरै चासो थियो । मेरो श्रीमानलाई पहिलादेखि नै पार्लरमा रुचि भएको थाहा थियो । मेरो रोजाईको सीप पनि भएकोले पार्लर सिक्न र पार्लर खोल्न सजिलो भयो । मेरो श्रीमानको मैले राम्रो साथ सहयोग पाएको छु ।
३. कति लगानीबाट पार्लर संचालन गर्नु भएको थियो ?
पार्लर संचालन गर्दा शुरुमा ६ लाख लगानीबाट संचालन गरेको हो । पहिला पार्लर संचालन गर्दा राम्रो आम्दानी भएको थियो । तर अहिले धेरै पार्लरहरु खुलेका छन् । तर पनि सिजनको बेलामा राम्रो आम्दानी हुन्छ । अफ सिजनमा कहिले आफ्नो गोजीबाट नै तिर्नुपर्छ ।
४. पार्लर व्यवसायमा नै टिक्न अझ के गर्नुपर्छ ?
पार्लर व्यवसायमा पहिला जति सिक्यो । त्यतिमा नै निर्भर भएर बस्नु हुदैन । समय–समयम आफूलाई नयाँ–नयाँ डिजाइनको अपडेट गरिरहनु पर्छ । म पार्लरमा स्टाफलाई राखेर मेकअप डिजाइन, हेयर डिजाइन अफ सिजनको समयमा बेला–बेलामा काठमाण्डौंमा गएर सिकेर आउछु । अहिले धेरैले पार्लर सिकेर संचालन पनि गरेका छन् । समय अनुसार आफ्नो क्षमता बढाउदै जानुपर्छ ।
५.तपाईले २ वर्षको अवधिमा कति जना दिदीबहिनीहरुलाई सिकाउनु भयो ?
मेरोमा पार्लरको कामभन्दा पनि मेकअपको काम बढी हुनुहुन्छ । पार्लर सिक्नेभन्दा पनि मेकअप सिक्न बढी आउने गर्छन् । १६ जनाले मेकअप सिकेका छन् । सेल्फ मेकअफ सिकेको ५ हजार, वेसिक कोर्ष १२ हजार, एडभान्स कोर्ष २८ हजार गराउने गरेको छु ।
६. तपाई व्यूटिसियन संघमा आबद्ध नहुदाँ कस्तो महशुस भएको छ ?
म कुनै पनि संघमा आबद्ध भएको छैन । आबद्ध भएमात्र सफल हुन्छ भने होइन । म आफ्नो काममा ध्यान दिन्छु । घर परिवारबाट टाढा बसेर दुःखले काम सिक्यो । अब भनेको मेहनत गरेर कमाउने बेला हो । मैले गरेको काम मन पराएर ग्राहकहरु आइरहेका छन् । मलाई संघमा नबस्दा पनि समस्या भएको छैन । मेरो मेकअप टिकटकमा हेरेर काठमाण्डौं, सिमरा, हेटौडाबाट पनि ग्राहकहरु आउने गर्नु भएको छ ।
७. छोटो समयमा सफलता पाउनुको कारण के हो ?
धेरैले पार्लर चलाउन संर्घष गर्नुपर्छ । तर मैले छोटो समयमा नै सफलता पाए । १५ वर्ष वीरगंजका विभिन्न बोडिङ्ग स्कूलहरुमा पढाएको हुनाले धेरै जनालाई चिन्ने मौका पाए । धेरै चिनेको साथी सर्कलले गर्दा पार्लरमा सफलता पाएको हो ।
८. तपाई आफ्नो कामबाट कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
मैले १५ वर्ष शैक्षिक क्षेत्रमा काम गरे । त्यो भन्दा पनि पार्लर संचालन गरेको २ वर्ष भयो । म पार्लर व्यवसायबाट नै सन्तुष्ट छु । मेरो कामबाट सन्तुष्ट भएर एक पटक आएको ग्राहक पटक–पटक आएका छन् । बाहिरको काम गर्दा आफ्नो काम गर्न रमाइलो लाग्छ । आफूलाई मन परेको काम भएर पनि होला । अर्काको काम गर्दा बिदा लिन पनि गाह्रो हुन्छ । त्यसैले म आफ्नो कामबाट खुशी छु ।
९.पार्लर सिक्न चाहने दिदी बहिनीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
कुनै पनि काम रहरले सिक्ने हो । जे काम सिक्न ईच्छा छ । त्यही काम सिक्नु पर्छ । साथीको लहैलहैमा लागेर कुनै पनि काम सिक्नु हुदैन । त्यसबाट कुनै सफलता प्राप्त हुदैन । पार्लर सिक्न ईच्छा छ त सिक्नुस् । छैन भने समय खेर नफाल्नुस् ।