१. मानिसलाई लाग्ने मानसिक रोग भनेको के हो ?
रोग भन्ने कुरा नै जुनसुकै भए पनि गाह्रो हो । मानिस भनेको मनबाट उत्पन्न हुने रोगहरुबाट झन बढि ग्रसित हुन्छ । मनको विकारहरु, मानसिक वेदना, भावनाका रोगहरु रोग हो । मनबाट उत्पन्न हुने बेचैनी, उदासिन्ता, छटपटी, अनावश्यक कुराहरु बोल्ने, धेरै बोल्ने, धेरै कम बोल्ने यस्ता सबै लक्षणहरु हुन् । मन भनेको मष्तिक हो । दिमाखबाट उत्पन्न हुने रोग नै मानसिक रोग हो ।
२. मानसिक रोग कति किसिमका हुन्छन् ?
मानसिक रोग मुख्यतयाः दुई किसिमका छन् । साधारण मानसिक रोग र कडा मानसिक रोग । प्रायः गरेर बढी मात्रामा साधारण मानसिक रोग नै लाग्ने गरेको भेटिएको छ । मानिसलाई लाग्ने साधारण मानसिक रोग पनि दुई किसिमका हुन्छन् । उदासिन्ता र आत्तिने जस्ता दुई प्रकार छन् ।
३. साधारण मानसिक रोगका लक्षण के हुन्छन् ?
उदासिनतालाई अंग्रेजीमा डिप्रेशन पनि भनिन्छ । डिप्रेशनमा जाने मानिस उदास रहने, कुनै काम गर्नमा मन नलाग्ने, पहिले रुचाउने कुराहरु नरुचाउने, कुरा गर्न नचाहने, एकोहोरो भएर बस्ने, रुने र मनमा नकारात्मक भावनाहरु ल्याउने जस्तै मेरो जीवन बेकार छ । म बाँच्न लायक छैन । म मरेको बेश हुन्थ्यो भने जस्ता नकारात्मक भावनाहरु आउने, आफुलाई नै दोषि ठान्ने, मैले गर्दा मेरो घर परिवार, समाजमा नै नराम्रो हुन गयो भन्ने उदासिन्ताको लक्षण हो । आत्तिने रोगलाई अंग्रेजीमा एङजाइटी डिसोड् भनिन्छ । यस रोगमा एकदमै धड्कनको चाल बढ्ने, पसिना बढी आउने, अनिन्द्राको समस्या हुने एक ठाउँ नटिक्ने, घड्कन बढने, छटपटी हुने आत्तिने रोगका लक्षण हो । साधारण खालका रोगीहरु नै बढी मात्रामा उपचारका लागी आउने गरेका छन् ।
४.कडा मानसिक रोगका लक्षणहरु चाही के हुन्छन् ?
कडा मानसिक रोग भनेको व्यवहारमा उत्तेजना आउने, तोडफोड गर्ने, धेरै रिसाउने, घरबाट बाहिर भाग्न खोज्ने, नभएको आवाज सुन्ने, नभएको कुराहरु देख्ने, परिवार, समाजको मानिस कसैले मेरो हानी पु¥याउन लागेको हो कि भनेर बढी शंका गर्ने, आफ्नो श्रीमतिलाई पनि अरुसंग सम्बन्ध छ कि शंका गर्ने कडा मानसिक रोगका लक्षणहरु हुन् ।
५.मानसिक रोग लाग्नुका कारण के हुन् ?
मानसिक रोग लाग्नुका कारण कुनै एउटा नै हो भन्ने छैन । अन्य धेरै कारणहरु मिलेर मानसिक रोग उत्पन्न गराउँछ । जस्तै बायोलोजिकल, साइकोलोजिकल र सोसलबाट मानसिक रोग उत्पन्न हुन्छ । बायोलोजिकल भनेको वंशाणुगत गुण हो । आफ्नो परिवारमा कसैलाई मानसिक रोग छ भने त्यो परिवारको कुनै पनि सदस्यलाई हुने गर्दछ । मानिसको आफ्नो व्यक्तिगत स्वभाव कस्तो छ । कोही मानिसले कुनै समय र अवस्थालाई नकारात्मक रुपमा लिने गर्दा डिप्रेशन तथा आत्तिने रोगमा जाने हुन्छ । तेस्रो कारण समाजमा, घर परिवारमा ठूलो घटना घट्यो, भुकम्प आएर नोक्सान, व्यापार व्यवसायमा घाटा हुदाँ, घरमा आफन्तको मृत्यु हुदाँ पनि कतिपयलाई मानसिक रोग लाग्न सक्छ ।
६.मानसिक रोग लागेको कसरी थाहा पाउने ?
मनसिक रोग लागेको चिन्न परिवारको व्यक्तिले तुलना गर्नुपर्छ । पुरानो व्यवहारबाट लगातार दुई हप्ता, एक, दुई महिना सम्म पनि व्यवहार परिवर्तन देखाउँछ भने मानसिक रोग भनेर चिन्न सक्छौ । उदाहरणका रुपमा लिनु पर्दा कुनै मानिस स्वभावले नै धेरै बोल्ने, हसिलो अनुहार राख्छ भने त्यस अवस्थालाई मानसिक रोग मानिदैन् । स्वभावले चुपचाप बस्ने मानिस एक्कासी धेरै बोल्न थाल्ने, सामाजिक र आफ्नो व्यक्तिगत काम र कर्तव्य गर्न नसकेको छ भने मानसिक रोग भनेर चिन्न सकिन्छ । जब व्यक्तिले आफ्नो काम र जिम्मेवारी बहन गर्न सक्छ भने धेरै बोले पनि मानसिक रोगी भन्न मिल्दैन् । सामाजिक रुपले व्यवसायिक रुपले असर परेको र आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको अवस्था छ भने रोगको रुपमा बुझेर उपचार गराउनु पर्छ ।
७.यो रोगको उपचार विधि के हुन्छ ?
मानसिक रोगीको उपचार औषधी मात्र गरेर हुदैन । रोगीको काउन्सिलिङ्ग गरेर मात्र हुदैन । दुबै कुराको मिश्रण चाहिन्छ । उपयुक्त समयमा छिटोभन्दा छिटो उपचार गरेमा छिटो ठिक हुने हुन्छ । त्यसको लागी औषधी सुरु गर्नु पर्ने हुन्छ । रोगी र रोगीको घरको मानिसलाई परार्मश दिने, रोगी र रोगीको घरको मानिसलाई रोगको बारेमा ज्ञान दिन्छौं । रोगी र रोगीको घरको मानिसलाई औषधीको कोर्ष र औषधीको असरको वारेमा ज्ञान दिनु पनि उपचार विधि हो । औषधी लामो समयसम्म खानु पर्ने हुन्छ । सर्वसाधारण जनताले मानसिक रोगको औषधी बाचुन्जेल खानुपर्छ भन्ने डरले पनि कतिपय मानिस उपचार गर्नै पनि आएका छैनन् । कुनै मानसिक रोगमा औषधीहरु ३ देखि ६ महिनामा नै बन्द गर्नुपर्ने हुन्छ भने कुनै मानसिक रोगमा १० औं वर्षसम्म पनि खानुपर्ने हुन्छ । तथापि यो रोग निको नै हुँदैन भन्ने चाही होइन ।
८.यो रोगको औषधी खाँदा मानिसको शारिरिक अवस्था पनि परिवर्तन हुन्छ ?
मानसिक रोगीहरुमा औषधीको सेवनले गर्दा बढी भोक लाग्ने लक्षण देखिन्छ । भोक बढी लाग्दाँ कार्बोहाइडे«ट भएको खाना भात, मिठाइ,मासुहरु शरिरलाई चाहिने भन्दा बढी खाने गर्छन् । शारिरीक कसरत भने गरेका हुदैनन् । मानसिक रोगका सबै औषधीले मानिस मोटाउँछ भने होइन । औषधी सेवन गर्ने धेरै रोगीहरु नियमित व्ययाम र खानपानमा नियन्त्रण गरेका कारण मोटाएका छैनन् । औषधी सेवन गर्ने मानसिक रोगीहरुले खानपान र व्यायममा विशेष ध्यान दिनुपर्छ ।
९. मानसिक रोग बारे थाहा पाउनै पर्छ ?
समाजमा मानसिक रोगीहरु, मानसिक रोगको उपचार गर्ने डाक्टरहरु, मानसिक रोगको औषधीहरु प्रति मानिसहरुको मनमा घृणा, डर, आफ्नो रोगीले औषधी सेवन गरेको छ भनेर कसैले नभन्ने, लुकाउने, ढाकछोप गर्ने डर, कलंकलाई जित्नुपर्छ । यसलाई जितेन भने विस्तारै मानसिक रोगले समाजलाई रोगी बनाउँदै खोक्रो बनाउँछ । हाम्रो कार्य क्षमतामा पनि कम हुन्छ । जुन उमेरमा काम गरेर घरपरिवारलाई पाल्नुपर्ने हो । रोगलाई लुकाएर रोगले नै खाइरहेको हुन्छ । त्यसको विरुद्ध हामी उठनु पर्छ । हामीले उपचार गराउन लाज मान्नु भएन । समयमा नै धामी झाक्रिकोमा नगएर सुरुमा नै उपचार गराए त्या रोगी छिटो ठिक हुन्छ । तपाईको घर परिवार र समाजमा जो कोही मानसिक रोगी छन् भने लाज नमानी समयमा उपचार गर्न पठाऔं । मानसिक रोगको उपचार महङ्गो छैन् । जाँचहरु पनि धेरै हुदैन् । औषधी सेवन गर्नेहरुले पनि गर्न बन्द गर्नु हुदैन । सम्वन्धित विशेषज्ञसंग परामर्श गरेर मात्र औषधी खाने या बन्द गर्ने गर्नुपर्छ ।
१०.अन्त्यमा मानसिक रोग लाग्नबाट कसरी बच्न सकिन्छ ?
मानसिक रोग लाग्नुका अनेक कारणहरु छन् । कमै मानिसलाई मानसिक रोग लाग्छ । वंशाणुगत गुणहरुलाई त कसैले पनि बदल्न सक्दैन । तर मनोसामाजिक कारणहरुलाई नियन्त्रण गर्न सके मानसिक रोगबाट बच्न सकिन्छ । नियमित शारीरिक व्ययाम गर्ने, स्वस्थ्यकर खानेकुरा खाने, मौसम अनुसारका फलफूल खाने, जाँड ,रक्सी, लागुपदार्थबाट टाढा रहनु नै यो रोगलाई निम्ता नदिनु हो ।