नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले प्रतियोगितामा बलिङ बाहेक फिल्डिङ र ब्याटिङमा भने त्यस्तो प्रभाव पार्ने नसकेको बताएका छन् । अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने तर्क दिए ।
बिहीबार टी–२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको बताए।
उनले अमेरिका र वेस्ट इण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको दाबी गरे ।
उनले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैं खुला रहेको बताए ।
उनले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘पहिलो गेममा हामी सबैलाई पुरै आत्मविश्वास थियो । तर मैदानको स्थितिले राम्रो नतिजा निकाल्न सकिएन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन । सम्पूर्ण खेलको कुरा गर्दा बलरहरुले एकदमै राम्रो खेले । सबैको लागि ठाउँ खाली छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ। हामीले बेस्ट १५ खेलाडी लिएर गएका थियौं । ब्याट्सम्यानलाई भने निकै च्यालेन्ज थियो । ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि निकै कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौं । ब्याटिङमा पनि सुधार गर्न जरूरी छ।’
हामीले टोलीमा उत्कृष्ट १५ खेलाडी लिएर विश्वकपमा भाग लिएको कप्तान पौडेलले जिकिर गरे ।