पर्सा, बारा र रौतहटको कृषियोग्य जमिन सिंचाई गर्न गण्डक नहरबाट आउने पानी निर्धारित समयभन्दा निकै बिलम्ब भएको छ । नारायणी सिँचाइ परियोजना अन्तर्गत गण्डक नहरको पानीले यो क्षेत्र सिञ्चित गर्न राजाकै शासनकालमा संरचना बनाइएको थियो । तर ५० वर्ष पुरानो सरकारी योजना बाराको जमुनी नदीसम्म झाँगिए पनि जनहितमा कार्य सम्पादन गर्ने शासकका पालासम्म आइपुग्दा पनि प्रभावकारी बन्न नसकेको हो ।
यो नहरमा भारतले भैसालोटनबाट पानी छोड्न पर्छ । बैशाखको २७ गतेदेखि धान सिजनका लागि नहरमा पानी छोड्ने सम्झौता अनुसार उताबाट अहिलेसम्म नहरमा पानी छोडिएको छैन । छिमेकी मुलुक भारतले हरेक वर्ष खडेरीभरि आफ्नोतर्फ पानी बढि प्रयोग गरी असार १५ देखिमात्र बल्ल नेपालतर्फ पानी छोड्ने गरेको यहाँका किसानको अनुभव छ । हुन पनि धान खेतीको सिजनका लागि विगत अढाई दशकयता १५ असारमा मात्र भारतले नेपालका लागि पानी छोड्ने गरेको गण्डक नहरको व्यवस्थापन हेरिरहेको नेपाल तर्फको नियामक निकाय नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जले जनाएको छ ।
नेपाल र भारत दुई देशको सम्झौता अनुसार भारतले धान सिजनका लागि २७ वैशाखदेखि कात्तिकसम्म र गहँु सिजनका लागि १० पुसदेखि ११ चैतसम्म अर्थात् २५ डिसेम्बरदेखि २५ मार्चसम्म नहरमा पानी छोड्ने सम्झौता पत्रमा उल्लेख गरिएको देखिन्छ । तर धानखेतीको सिजनमा झण्डै डेड महिना अगाडी नै छोड्न पर्ने पानी भारतले अहिलेसम्म नछोड्दा पानी बग्ने गण्डक नहरमा चौपाया भेटिन्छन् । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले पनि अहिलेसम्म पानी नछोडेको जनाएको छ । यो पटक असार १५ नै नपु¥याई अलि अगाडी पानी छोडिदिन पत्रकार गरिएको नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी सुरेश साहले बताए । नीतिगत रुपमा किसानले पाउनु पर्ने पानी अझैसम्म नपाउँदा पनि नेपाल सरकार, मधेस प्रदेश सरकार र जिम्मेवार निकाय वा व्यक्तिले किसानको हितमा नबोलेको यस क्षेत्रका किसानको आरोप छ । गएको असार ५ गते भने प्रतिनिध सभा बैठकमा एमालेका प्रतिनिधिसभा सदस्य प्रभु हजाराले यो विषय उठाए थिए । तथापि कार्य सम्पादनमा भने सोचेजस्तो परिणाम नआउने किसानहरुको तर्क छ ।
मध्य तराईको अन्न भण्डार पर्सा, बारा र रौतहटको ३७ हजार ४ सय हेक्टर जमिन सिंचाईका लागि भनी राजाका पालामा बनेको संरचना जीर्ण छ । निरंकुश राजतन्त्रले केही गरेन भन्नेहरुले राजाका पालामा बनेको संरचनाको मर्मत सहित गर्न नसकेको तीतो यथार्थ नेपाली सामु रहेको पनि किसानको कटाक्ष छ । वर्तमान सरकार र त्यहाँ पुग्ने नेताहरूमा किसानमैत्री सोच नै नभएको पर्साको उदयपुरघुर्मीका किसान शम्भु यादवले आरोप लगाए । ‘किसानको पक्षमा नयाँ व्यवस्थाका कसैले पनि ठोस् काम नगरेको उनको दावी छ । खेतका बीचबाट गएको नहरमा पानी छैन । अहिलेसम्म पर्साका धेरै किसानको व्याडमा बीउ राख्न सकिएको छैन उनले दुखेसो गरे । आकाशे पानी नआउने समयसम्म प्रतिक्षा गर्नु वाहेक किसानको अर्को विकल्प छैन उनले गुनासो गरे ।
तीन जिल्लाको ३७ हजार ४ सय हेक्टर जमिन सिंचाई गर्न पानी ल्याउने मूल नहरको लम्बाइ ८१ किलोमिटर छ । त्यसैगरी, मूलशाखा नहर १ सय ३७ किमी, शाखा नहर २ सय ३३ किमी, उपशाखा नहर ४ सय ८ दशमलव ५ किमी, प्र–शाखा नहर १ हजार ४ सय किमी र डे«न (निकास) नहर पनि ३ सय ८ किमी रहेको नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । पछिल्लो समय मूल र मूलशाखा नहरबाहेक साना तथा निकास नहर किसान आफैंले र विकास निर्माणका नाममा पुरेको समेत छ । त्यसै गरी नहरको डिलमा नै बसेर व्यवसाय गर्ने बहानामा पनि नहर अतिक्रमित हुन थालेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेश साहले तर्क गरे । सुरुको जस्तो नहरलाई बनाउन हरेक वर्ष ५० करोड जति बजेट लाग्ने उनको भनाइ छ । अहिले नेपाल सरकारले बार्षिक १२ करोडजति मात्र बजेट पठाउँदा नहर दूरुस्त पार्न सकस भएको उनले बताए ।
एकातर्फ सुक्खा मौसमको, अर्कोतर्फ भएको नहरको पानी पनि प्रयोग गर्न नपाउँदा अन्न भण्डार मध्यतराईका तीन जिल्लाका हजारौं बिघा जमिन खेतीयोग्य जनिम अझै बाँझै छन् । चुरेको विनाश र सहरी विकासले पनि भू–सतहका पानीको सतह सुक्न थालेपछि भूमिगत जलस्रोतबाट पनि पानी निकाली कृषि कर्म गर्न किसानलाई सहज नभएको पर्साका अर्का किसान ओमप्रकाश साहले तर्क गरे । जनहितमा काम गर्ने भनिएको व्यवस्थाका शासकले त निर्माण भएका नहर पुरिन थाले पनि दूरुस्त पार्न सक्दैनन् भने नयाँ सिंचाईका योजनाले पूर्णता पाउनेमा शंका प्रसस्त छ उनले भने । मध्यतराईको पर्सा, बारा र रौतहट नै सुक्खा मौसमको चपेटामा परेको पर्साको जगरनाथपुर–६ का किसान सहमत अन्सारीले पनि बताए । नहरको पानी कहिले आउँछ भनी नारायणी सिँचाइ कार्यालयमा आइपुगेका रौतहटका रञ्जितकुमार साह र अर्का किसान मदन साहले पनि धान सिजनमा पानीको अभाव निकै खट्किएको बताए ।
जमुनी नदीको पानी नहरमा मिसाउन अझै बनेन गेट
गण्डक नहरको पानी रौतहटका किसानको खेतसम्म पुग्न नपाउँदै नहरमा पानी सुक्न थालेपछि सहायक नदिका रुपमा बाराको आदर्श कोतवालस्थित जमुनी सिँचाइ आयोजना निर्माण गरी पानी मिसाउने योजना अगाडीको हो । तर पनि सो योजना अन्तर्गत ब्यारेजका १५ वटा गेट निर्माणको काम अझै विलम्ब हुँदा त्यो कार्यले पनि पूर्णता नपाएको नारायणी सिँचाइ कार्यालयका सूचना अधिकारी साहले पनि जनाए । सिँचाइका लागि पानी फर्काउन सबै संरचना निर्माण सकिए पनि विद्युतीय गेटको पर्खाइमा यो आयोजना केही वर्षदेखि पर्खाइमा रहेको उनको भनाइ छ । ‘ब्यारेजका १५ वटा विद्युतीय गेट डिजाइनको काम सकिए पनि विभागबाट स्वीकृत हुन बाँकी छ,’ उनले भने । ‘स्वीकृत हुनासाथ कामले गति लिन्छ सूचना अधिकारी साहले दावी गरे । यो योजना चाँडै सम्पन्न हुनेमा आशावादी छौं उनले बताए ।