पत्रकारिता तर्फ ईच्छा भएका तर पत्रकारिता माथि हेलचक्रयाई गर्ने प्रवृति बढेर गएको छ । पहिला एउटा पत्रकारले नै सबै कुरा समेटेर समाचार लेख्नु पर्ने थियो । अहिले विभिन्न क्षेत्रमा अलग–अलग बिटमा लेख्न सक्ने सुविधा छ । तर पनि अहिले अलग–अलग बिटमा समाचार लेख्ने जनशक्तिको अभाव भएको छ । कोभिड पछिको परिवेशमा धेरै मिडियाहरु बन्द भएका छन् । पत्रपत्रिकाहरु दुब्लाउदै गए । कान्तिपुर जस्ता पत्रिका आठ पेजमा खुम्चिएका छन् । विद्यमान शंकटबाट मुक्त पाउन सकेका छैनन् । नयाँ प्रविधिहरुको विकासले गर्दा विश्वभरी लेखन पत्रकारिता पेशा अझ संकटमा परेको छ । हामी कहाँ युवाहरुको एक किसिमको आकर्षण त छ । तर स्थिरता छैन । जसले गर्दा समस्या देखिएको छ । दक्ष पत्रकार बन्नको निम्ति विभिन्न किसिमको तालिम आवश्यक पर्छ । विभिन्न संघ–संस्थाहरुले तालिम दिने गरेकोमा बजेटको अभावले तालिम दिन पनि नसकेको अवस्था छ । सम्रगमा हेर्दा सुधार उन्मुख छ । तर अझ यसलाई तिब्ररुपले अगाडी लिएर जान पर्ने अवस्था छ ।
शत्रुघ्न नेपाल (सम्पादक)
प्रतिक दैनिक (पूर्व अध्यक्ष ने.प. महासंघ)
कोभिड पछिका दिनहरुमा पत्रकाहरुको अवस्था दयनीय छ । डिजिटल प्रविधिको विकासले गर्दा पनि लेख्ने पत्रकारहरुको विकास कम भएको पाइन्छ । हरेक मिडियाहरुमा आर्थिक मन्दिको अवस्था छ । पहिलादेखि नै पत्रकारिता पढेर पत्रकारिता गर्नेहरुको कमी छ । सिकेर पत्रकारिता गर्नेहरुले सिकाउँदा कति जनाले कसरी सिके, कति सिके उनीहरुमा भर पर्ने कुरा हो । पत्रकारिता पढेर पत्रकारिता पेशामा लाग्ने पत्रकारको बाहुल्यता वीरगंजमा आएको छैन । जसले गर्दा बेला–बेलामा लेखन पत्रकारितामा आलोचनाहरु आइरहन्छ । अहिले टिकाऊभन्दा पनि बिकाऊ पत्रकारिता भइरहेको छ । जबसम्म पत्रकारिता पेशामा लेख्नेहरु आत्मनिर्भर हुन सक्दैनन् र पर निर्भर हुन्छन् । तबसम्म पत्रकारितामा विकृति आउँछ । अहिले राजनीतक प्रतिनिधिहरुको पाटो समातेर पत्रकारिता गर्नु पर्ने अवस्था छ । पत्रकारिता गरेर पत्रकारको भरमा बाँच्नेको अवस्था जबसम्म आउँदैन तबसम्म पत्रकारितामा सुधार आउने क्रम न्यून देखिन्छ । यो बिषयलाई हरेक पक्षबाट मजबुत बनाउन साथ दिनु पर्छ । अनि लेख्ने र समाचार देख्ने पत्रकारको संख्यामा पनि बढोत्तरी हुन्छ ।
चन्द्रकिशोर झा
वरिष्ठ पत्रकार
पत्रकारितामा नयाँ अनुहारको आकर्षण देखिनु अनौठो होइन । उनीहरुको आकर्षणलाई स्वागत गर्नुपर्छ । पुराना पत्रकार भनिनेहरु पनि नलेखी, नबोली, पत्रकारीय कर्म नगरीकन, सामाजिक सञ्जालमा लेखेको भरमा, कुनै संगठनको सदस्य भएकै आधारमा पत्रकार हो भनेर समाजमा आफूलाई चिनाउने प्रवृति देखापरेको छ । यो भन्दा पत्रकारको मूल कर्म पत्रकारिता तर्फ बढि केन्द्रित हुनुपर्छ । निरन्तर अध्ययन गर्नुपर्ने, निरन्तर लेखनशैली विकसित गर्नुपर्ने हुन्छ । समाजलाई अध्ययन र अवलोकन गर्नु पर्ने पेशा हो परिकारिता । अहिले काठमाण्डौंका मिडिया र बाहिरका मिडिया हाउसहरुमा मेहनती पत्रकारहरुको अभाव खड्किएको छ । संगठनहरुमा पत्रकारको भिड छ । मिडिया हाउसहरुले गतिलो जनशक्ति पाउन गाह्रो भइरहेको छ । अहिले लेख्ने पत्रकार नभेटिनु चिन्ताको विषय बनेको छ । मानिसहरु छोटो बाटोबाट पत्रकारितामा आएर नाम कमाउन चान्छन् । तर कुनै वाइलाइन कुनै स्टोरी रेडियो, टेलिभिजन पत्रपत्रिकामा आउँदा त्यसबाट पत्रकारको परीक्षा भइरहेको हुन्छ । कुनै समाचारमा आएको नामको आधारमा मूल्याङ्कन हुन्छ । पाठक, दर्शक र श्रोता पत्रकारभन्दा पनि बढी विज्ञ छन् । समाचार तथा सामाजिक सञ्जालमा लेखेका स्टाटसको भाषा, व्याकरण, शब्द प्रयोग र शुद्धाशुद्धीको आधारमा पत्रकारको योग्यता मापन हुन्छ । अहिले नेपाली समाज र पत्रकारिता क्षेत्रमा मेहनती र योग्य पत्रकारको आवश्यक्ता छ । समाजमा काम अवसर प्रशस्त छ । तर गतिला जनशक्तिहरुको खडेरी छ ।
श्याम बन्जरा (महासचिव)
नेपाल पत्रकार महासंघ, मधेश प्रदेश
पत्रकारिता पेशामा युवाहरुको आकर्षण त छ । आकर्षणसगै चुनौती पनि थपिएका छन् । बेरोजगारीको समस्या पनि बढ्दो छ । बेरोजगारी समस्यालाई पत्रकारिताको माध्यमले केही हदसम्म समाधान गर्न सकिन्छ । तर यसको साथसाथै जुन ढंगबाट क्षमता विकास गर्नुपर्ने थियो । त्यसमा केही कमजोरी भएको छ । युवाहरुको मात्र कमजोरी होइन । हामी जस्ता अगुवा पंक्तिहरुको पनि कमजोरी छ । उनीहरुलाई नियमित रुपमा तालिमको आयोजना गर्नु पर्दथ्यो । समाचारका विशेषताहरुको बारेमा जानकारी गराउनु पर्दथ्यो । समाचारको प्रभावका कारण उत्पन्न हुने खराब र राम्रो परिस्थितिका बारेमा जागरुक गराउनु पर्नेमा त्यो गर्न सकेका छैनौं । सजिलै प्रवेश गर्न सक्ने सजिलो पेशा, सजिलै समाजबाट सम्मान पाउन सकिने पेशा भएकोले आकर्षण बढि छ । तर त्यसका साथसाथै थपिएको चुनौतीहरुलाई सामना गर्नको निम्ति आवश्यक पर्ने तत्वहरु प्रति हामी चुकेका छौ । नव प्रवेशी सञ्चार कर्मीहरु पनि चुकेका छन् । यसलाई सुधार गरेर जान पर्छ ।
अनुप तिवारी (अध्यक्ष)
नेपाल पत्रकार महासंघ, पर्सा
पत्रकार युवाहरुको लागि अनलाइन मिडिया, सामाजिक सञ्जालहरुले गर्दा पत्रकारिता सजिलो बनाएको छ । अध्ययनशिल, खोज पत्रकारितामा मेहनत पर्छ । लामो समय लगाएर खोजमूलक समाचार संकलन गर्ने जाँगरिला पत्रकारको आकर्षित नभएर सामाजिक सञ्जालमा नै पोष्ट गरेर भाइरल गर्ने र अनलाइनमा समाचार हालिदिनेसम्म नै युवाहरु सिमित भएका छन् । हामीले अध्ययन र अनुसन्धानका विषयहरुलाई उठान गर्ने, खोजमूलक पत्रकारिता गर्ने, यो पेशामा दिगो समयसम्म स्थापित हुन सक्ने कुरा हुन्छ । यो कुरा पुराना पुस्ताले नयाँ युवाहरुलाई बुझाउन पनि पर्छ । यी कुरा पर्सा महासंघले विभिन्न तालिम, छलफलमा पनि उठाउदै आएका छ । अहिले सामाजिक सञ्जाल, डिजिटल मिडियाको प्रभाव युवामा परेको छ । छोटो समयमा भाइरल हुन खोज्ने हुदाँ सञ्चार कर्ममा अपेक्षित नतिजा आउन सकेको छैन । जनताले सामाजिक मुद्दामा, विकासका मुद्दामा पत्रकारिता खोजेको छ । परिणाममुखी पत्रकारिता खोजेको छ । तर अहिले परिणाममुखी पत्रकारिता तर्फ युवाको आकर्षण कम देखिन्छ । पत्रकारिताको मर्म भनेको लुकेको विषयलाई, खोजेर बाहिर ल्याउने हो । जुन समाजलाई त्यसबाट लाभ पुग्न सकोस् । युवाहरु फाटफुटे पत्रकारिताभन्दा पनि स्थापित पत्रकारिता तर्फ लाग्नु पर्छ । लेख्ने पत्रकार जहिले पनि स्थापित नै हुन्छ ।
मोनिका झा (अध्यक्ष)
नेपाल पत्रकार महासंघ, धनुषा
पत्रकारिता एक दिन पढेर एउटा विषय पढेर सकिने पेशा होइन । अन्य पेशामा कुनै एउटा विषय लिएर त्यसमा डिग्रीं हासिल गरेपछि पुग्छ । तर पत्रकारितामा प्रत्येक दिन आफ्नो क्षमता विकास गर्दै लैजानु पर्छ । पत्रकारलाई समाजले बढि नै सम्मान र सुविधाहरु दिने गरेको छ । त्यसैको आडमा केही पत्रकारले पेशालाई नै दूरुपयोग गर्न पुगेका छन् । तर लेख्ने पत्रकारको भने कमी महसुस गरिदैछ । केही पत्रकार अवैध पैसाको लागि विभिन्न संघ–संस्थामा नाम लेखाएर उठाउने प्रवृति पनि छ । पाठक, श्रोताको दृष्टिकोणमा छाप छोडेका पत्रकारलाई अहिले पनि समाजले सम्मान गरेकै छ । पाठक वा दर्शक र श्रोताले कुनै पत्रकारले लेख्ने लेख वा समाचार कुन दिन आउँछ भनी प्रतिक्षा गरेर पनि हेर्ने सुन्ने र पढ्ने गरेका छन् । गुणस्तरीय कन्टेट उत्पादन र पस्किने तरिकाका आधारमा त्यसको माग समाजले खोजिरहेको हुन्छ । डिजिटल प्रविधिको आगमनसँगै समाचार वा लेख, रचना राख्नेठाउँको अब कमी छैन । तर कस्तो सामग्री उत्पादन र पस्किने भन्ने चाही चुनौति थपिएको छ । अलिकति नाम कमाउने बित्तिकै मख्ख परेर आफ्नो क्षमता अभिवृद्धि गर्न तर्फ ध्यान नदिदा पनि लेख्ने पत्रकारको संख्यामा कमी आएको छ ।
सुनिता बराल (अध्यक्ष)
नेपाल पत्रकार महासंघ, महोत्तरी
पत्रकार बन्न चाहनेहरु धेरै छन् । तर लेख्ने पत्रकारिता गर्ने मानिसहरु वास्तवमै कम छन् । अभ्यासमा पत्रकारिता सिकाउने पहिलो पाठशाला स्थानीय संचार माध्यम हुन् । तर पछिल्लो समय स्थानीय संचार माध्यमको अवस्था पनि राम्रो छैन । सामुदायिक तथा व्यवसायिक रेडियो स्टेशनहरु खुलेका बेला सञ्चार माध्यममा जोडिएका धेरै पत्रकार लगनशीलताले अहिले लेख्न र बोल्न अब्बल पत्रकारको परिचय बनाएका छन् । पत्रकार बन्न चाहने मानिसहरु संचार माध्यममा त जोडिन्छन् । तर लेख्ने, समाचार उत्पादन गर्ने कार्यमा निश्कृयता देखाउँदा परिणाम सकारात्मक आउन नसकेको हो । संचारमाध्यमले समाचार तथा कार्यक्रम उत्पादनमा लागेका र सञ्चारकर्ममै भविष्य खोजिरहेका पत्रकारलाई टिकाई राख्न नसक्दा पत्रकार यो पेशाबाटै पलायन भएका छन् । मिडियाको अवस्था धारासायी बन्दै गर्दा पछिल्लो समय मिडियामा भविष्य छैन भन्ने भाष्य स्थापित गरिदैछ । यो पेशामा लाग्नेले मेहेनत नगर्ने, सिक्न नचाहने, जुझारुपन नदेखाउने तर आफुलाई पत्रकारको परिचय दिदैँमा रमाउने एउटा समूह छ । प्रतिष्ठा जोगाइराख्न चाहने र समाचार उत्पादनमा नै ध्यान दिने पत्रकार उनीहरुसँगैको लाइनमा आफूहरुलाई पाउँदा पेशै परिवर्तन गर्नसम्म विकल्प खोज्दा यो अवस्था आएको पनि देखिन्छ । मिडिया हाउस संचालक र मिडियालाई स्वीकृति तथा नियमन गर्ने संस्थाहरु र पत्रकारको छाता संगठनको पनि यसमा केही कमजोरी छ । सरोकारवाला सबै निकाय र व्यक्तिले सकृयता देखाउन पर्छ ।
किरण सत्याल (प्रधान सम्पादक)
माई टि.भी
अहिले पत्रकारितालाई मागी खाने भाडाको रुपमा विशेष गरेर प्रयोग गरिरहेको अनुभूति हुन्छ । यो साह्रै दुःखको कुरा हो । वास्ताविक पत्रकारहरु जो लेख्न जान्दछन्, जो बोल्न जान्दछन् । जो पढेलेखेका छन् । उनीहरु आज लेखाइको दाम र मान नपाउँदा विस्थापित अवस्थामा छन् । यसको प्रमुुख कारण सरकारको जिम्मेवारीबोधको अनुभूति नभएको ठूलो दोष देखिन्छ । पत्रकारका संगठनहरुको पनि ठूलो कमजोरी छ । सही मानिसलाई समयमा स्थान दिन नसक्दा पनि समस्या आएको छ । राम्रो लेख्न सक्ने, मेहेनत गर्न सक्नेलाई विस्थापित गर्छन् । राजनीतिक आश्रय पाएकाहरु पत्रकारतामा गनिएका छन् । लेख्न नजाने पनि उनीहरुको नै हालीमुहाली भएको देखिएको छ । सबै पत्रकारका संगठनहरुले यस्ता विषयमा ध्यान दिनु पर्छ । जो वास्ताविक रुपमा लेख्न सक्छ । त्यस्ता पत्रकारहरुलाई वाईपास गर्नु हुन्न । पत्रकारिताको जग नै लेखाईको आधारमा गरिनु उपयुक्त हुन्छ ।
प्रियंका दास (प्रबन्ध निर्देशक)
विश्वास एफएम, कलैया बारा
पहिला र अहिले पत्रकारिता धेरै फरक भइसकेको छ । पहिले लेख्नेहरुको खोजी हुन्थ्यो र अहिले देख्नेहरुको बढी माँग छ । तर पनि लेख्नेहरुको महत्व अझै सकिएको होइन । लेख्ने नभए देखाउनेले मात्र देखाउन सम्भव हुन्न ? त्यही भएर लेख्ने पत्रकारको अहिले पनि महत्वपूर्ण भूमिका यो पेशामा छ । पछिल्लो डेढ दशकदेखि पत्रकारिता पेशामा छु । अरु पेशामा जस्तो श्रम अनुसार सेवा सुविधा र पारिश्रमिक पनि पत्रकारले नपाउँदा केही लेख्ने पत्रकारको संख्या घटेको जस्तो लाग्छ । डिजिटल मिडियाको आगमनसँगै छिटो छरितो समाचार र भिडियो सामग्रीको माग छ । धेरै पत्रकार अब लेख्नेभन्दा भिडियोग्राफी, फोटोग्राफी, र सामाजिक मिडिया सामग्रीमा बढी आकर्षित भएका छन् । पत्रकारिता पेशामा मान्छेहरु आए । तर यो पेशालाई दिगो ठान्ने कम भए जस्तो लाग्छ । नयाँको आगमन र पुराना पलाएन हरेक पेशाको शैली हो । तर पत्रकारितामा लेख्नेको संख्या त घटेकै अनुभूति हुन्छ । लेख्ने पत्रकारले लेखाइको आम्दानीबाट परिवार पाल्न धौ–धौ छ । पेशा दूरुपयोग गर्नेले अन्य पेशालाई पनि मात गर्दैछन् । सम्पादन मण्डलमा पनि राम्रै मात्र व्यक्ति पुग्छन् भन्ने छैन । एकदम मेहनत गरेर खोजेर ल्याएको समाचार पनि त्यस्ता सम्पादकले प्रकाशनमा रोकावट गरेपछि कति निराशा बोकेर पनि लेख्ने पत्रकार पलायन भएका पनि छन् । तालिम र शिपको ज्ञान नभएकोले समेत यो पेशामा पछिल्लो समय आएकोले लेख्ने पत्रकारिता अंगाल्न उत्साह थपेको छैन । पत्रकारितामा लेख्ने पत्रकार टिकाउन रोगजारी र पारिश्रमिकको सुनिश्चितता, पेशामा आइपर्ने बिभिन्न बाधा अवरोधको राम्रो ज्ञान दिने र तालिम तथा शिपको विकास अपरिहार्य छ । आकर्षणसँगै यस्ता कुरामा ध्यान दिनु पर्छ ।
माधुरी महतो (पत्रकार)
वीरगन्ज,पर्सा
पत्रकारिता पेशा आकर्षण धेरै देखिन्छ । तर लेख्ने पत्रकार न्यून भेटिनुको कारण एउटा मात्रै छैन । यस्तो हुनु आफैमा लज्जाको विषय हो । हाल नलेख्ने पत्रकारकै बिगबिगी बढी छ । पत्रकारिताको मर्म नै नबुझिकन आफ्नै व्यतिmगत उद्देश्य, कार्यशैली र स्वार्थका आधारमा पत्रकारिता क्षेत्रमा आफूलाई पत्रकार कहलाउने र प्रेस कार्डको दूरुपयोग गर्न पत्रकारितामा छिर्ने होडबाजी जस्तै चलेको देखिन्छ । पत्रकारिता राजनीतिक पक्षधरता र स्वार्थबाट निरपेक्ष र स्वतन्त्र पेशा हो । तर विभिन्न पार्टीको भातृ संगठनका रुपमा पत्रकार र पेशा कैद हुनु राम्रो संकेत होइन । यो क्षेत्रलाई प्रयोगमात्र गर्ने उद्देश्यले प्रवेश गर्नेको संख्या वृद्धि हुँदै गएको छ । एकातर्फ प्रेस कार्डको दुरुपयोग गरी अर्को तर्फ गलत बाटोबाट आर्थिक लाभ लिने जमातलाई निगरानी राख्नु पर्छ । नत्र समाचार देख्ने र लेख्ने पत्रकारिताकर्मी ओझेल पर्ने र पत्रकारिताको खोल ओढेका मात्रको हालिमुहाली हुन बेर लाग्दैन ।