गायन क्षेत्रमा प्रवेश र पछिल्लो अनुभव र प्रेरणाका बारे बताइदिनुस् न !
मेरो बाल्यकाल ग्रामीण क्षेत्रमा बितेको हो । घरमा मेरी हजुरआमाले गाउने गीत सुनेर आनन्द लाग्थ्यो । अझ हजुरआमाले १६ ओटा मारुती लयमा खुब गाउनु हुन्थ्यो, सुनाउनु हुन्थ्यो । उतिबेला गाउँघरमा रेडियो बज्ने, लोकगीत सुनेर मख्ख पर्ने, पानी पर्दाखेरिको दर्के आवाजमा गीत गाउन खूब मन लाग्ने गथ्र्यो । तर मान्छेका अगाडि गाउन भने असाध्यै लाज लाग्ने गथ्र्यो । अहिलेको जस्तो त्यतिबेला गाउने स्वतन्त्र वातावरण थिएन । ठूलो स्वरले बोल्दा वा आवाज निकालेर गाउँदा डर लाग्थ्यो । रेडियोबाट गीत सुनेरै गाउन सिकेको हो । पछि गोपाल योञ्जनलाई स्वर मन परेर काठमाडौँ बोलाउनु भयो र त्यहाँ केही सङ्गीतकारहरूसँग सुरताल सिकेको हो । प्रेरणाको कुरा गर्दा वास्तवमा गाउँघरमा आमाबुबाले गाएको सुनेर, रेडियो सुनेर गाउन सिकेको हो । अझ बिहेपछि श्रीमान्ले साथ दिनुभयो । १३ वर्षमा विवाहबन्धनमा बाँधिए पनि आज गायन क्षेत्रमा यहाँसम्म बाँधिन सक्नुको श्रेय आफ्ना श्रीमान् र आमाबुबालाई नै दिन्छु ।
म खाना बनाउँदा भान्सामा गुन्गुनाउने गर्थेँ । मेलापात र घरायसी काम गर्दा गुन्गुनाएको छु भन्ने पनि मलाई ज्ञान हुँदैन थियो । कसरी कसरी गीतको सुर निस्किहाल्ने । एकदिन त मैले थाहै नपाई मेरो श्रीमान्ले म भान्सामा गुन्गुनाउँदै गर्दाको टेप रेकर्डिङ गरी काठमाडौँ रेडियो नेपालमा सुनाउनु भएछ, । अनि रेडियोमा अझ गोपाल योञ्जनलाई असाध्यै मेरो स्वर मन परेपछि मलाई रेडियोमा पु¥याएर गीत गाउन लगाउनु भयो । सुरुमा त म जान हिच्किचाएँ । तर सबैले मन पराउनु नै मेरा लागि यस क्षेत्रको ढोका खुल्नु रहेछ । भाग्यले यता पु¥यायो ।
लोकगीत बाहेक अरू के–के गाउनु भएको छ ?
मैले धेरै जस्तो पूर्वीय लोकगीत गाएकी छु । मेरो रुचि फोटोग्राफर बन्ने थियो । मलाई फोटोग्राफरमा असाध्यै रहर लाग्ने । तर क्यामेराको सामु उभिएर मेरो फोटो कसैले नलिए हुन्थ्यो जस्तो लाग्थ्यो कारण मेरो स्वभाव अलि बढी नै लजालु थियो । गीत गाउन पनि सुरुमा त अफ्ठ्यारो लाग्ने । तर बिस्तारै–बिस्तारै बानी पर्दै गयो । एकान्तमा खुलेर गाए जसरी समूहमा गाउन थोरै समय लाग्यो पछिपछि भिडभाडमा पनि सामान्य लाग्न थाल्यो । म पूर्वमा मात्रै नभएर सुदूरपश्चिमसम्म पुगी गाउथेँ । सुदूरपश्चिम पुगेर साँस्कृतिक कार्यक्रममा सहभागी हुँदा नन्दकिशोर जोशीज्यूलाई आदरणीय व्यक्तित्व मान्दै पूर्व र पश्चिमका सुर र तालबिचको सम्बन्धलाई जोडिएको थियो । उहाँको गीत गाउन रुचाएको तर गाउन नपाएको गुनासो भने रहेको थियो । लोकभाका, लोकलय हाम्रो मौलिकपन, यथार्थ र यसलाई हाम्रा भावी सन्ततिमा सही रूपमा हस्तान्तरण गर्नुपर्ने, पूर्वेली गीत गाएर सबैलाई नचाएको र लोकगीत मन नपराउने नेपाली कही छैनन् भन्ने महसुस उतिबेला पनि भएको थियो । लोक गीत मात्रै नभएर आधुनिक गीततर्फ पनि मेरो रुचि हो । मैले मगर भाषामा पनि गाएकी छु । थुप्रै चलचित्रमा गाएकी छु ।
गायन क्षेत्रसँगै अभिनय पनि उत्तिकै सक्रिय हुनु भयो । पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
अहिले पनि चलचित्र क्षेत्रमा नै व्यस्त छु भन्नुपर्छ । दार्जिलिङका विभिन्न कार्यक्रममा नेपालका जङ्गी, राष्ट्रिय गीत बज्ने गरेका छन् । राष्ट्रिय गीतका सङ्गीतकार अम्बर गुरुङको सङ्गीतको क्षेत्रमा उच्च कोटीमा पुगिसकेका त्यस्ता व्यक्तित्वको उचित मूल्याङ्कन नभएको हेर्दा राज्यले वास्तवमा कलाकारलाई नचिनेकोमा भने दुःख लाग्छ । हाम्रो देशका कला, संस्कृति यहाँभन्दा बाहिरी देशमा सम्मानित छन् । सालिक निर्माणको वर्णन, गायक राईको चर्चा बाहिर सुन्दा कताकता मन दुखेर आउने रहेछ ।
भर्खरै हाम्रो छिमेकी देश, भारतका विभिन्न ठाउँमा साङ्गीतिक एवम् अनावरण कार्यक्रममा उपस्थित भएकी थिएँ । गीतसङ्गीतको अध्ययन गर्न रुचाउने, जेहेन्दार विद्यार्र्थीहरूलाई अवसर दिँदा तिनबाट पनि गीतसङ्गीत जगेर्ना गर्न सकिने जस्तो त्यहाँ देखियो । लोक, आधुनिक, चलचित्र, राष्ट्रिय थुप्रै प्रकारका गीतहरू गाएको छु । आफ्नो एक समयको धेरै चलेको भनूँ गीत सक्रान्ती उठी खर काटौँ बसी खर काटौँ, झ्याम्मै चौतारी माया लाऊँ भने छैन दौँतरी, बजार’, पीपलै छायाँ, यो मेरो देश जस्ता गीत छन् । अहिलेको यो समय पनि म गीत रेकर्डिङसँगै टेलिचलचित्रमा निरन्तरता दिइरहेकी छु ।
अभिनय क्षेत्रको बुहारी, ठेकीको के हो ? बताइदिनुस् न ।
मैले थुप्रै टेलिचलचित्रमा अभिनय गरेकी छु । यो ठेकी टेलिचलचित्र मगरजातिको संस्कृतिसँग सम्बन्धित छ । ठेकी एक प्रकारको प्रथा हो । बुहारीमा बिहे भइसकेकी छोरीचेलीले माइतीमा गर्ने व्यवहार, मगर समुदायमा पहिले बिहेवारीको चलन थियो । पछिपछि खसहरू बाहुनसँग सम्पर्क बढ्दै गयो र मगरहरू गुरुङहरूसँग सम्पर्क बढ्दै गयो । अनि अलग अलग जातिको रूपमा चिनियो यद्यपि, देशका सबैजसो भागमा खसहरूसँग मगर जातिको उपस्थिति रहेको पाइन्छ । जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र जनजातिहरूका हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो । नेपालको एकीकरणमा मगरहरूको धेरै ठूलो हात छ । सहयोगी मिलनसार, सोझो, ईमानदार, साहसी हुन्छन् मगरहरू ।
अन्तमा पाठक श्रोता र तपाईका दर्शकहरूलाई के भन्न चाहनु हुन्छ ?
महिलाहरुद्वारा संचालित पत्रिका मध्य नेपाल संदेश मार्फत लाखौँसँग जोडिने दरिलो तार सञ्चारको कार्य गर्नु भएको रहेछ । यो पत्रिकामा मलाई पनि सम्झनु भएकोमा गीता बहिनी सहित मध्यनेपाल परिवारलाई धन्यवाद । आज यसरी मिडियामा जोडिएर आफ्ना कुरा राख्ने यो अवसर महिलाको सकृयतामा पनि भएको रहेछ । साहित्य लेखनतर्फ त पहिले पढ्नु पर्छ । हिजोआज अध्ययन कम हुँदैछ, जसले गर्दा लेखाइमा नयाँपन आउन सकेको छैन । पढौं, लेखौं, अरूलाई सुनौं यति भन्न चाहन्छु ।