सरकारी धाराको पानी जडान गर्न २/३ वर्ष अगाडीसम्म सर्वसाधारणको आकर्षण थिएन । आफ्नै घरमा चापाकलबाट आउने पानी दूरुपयोगसम्म गरी उपभोग गरेका सर्वसाधारण चापाकलमा पानी सुक्न थालेपछि विकल्पको खोजिरहेका छन् । यो विकल्पले नेपाल खानेपानी संस्थानले वितरण गर्ने पानी अर्थात सरकारी धाराबाट आउने पानीमा सर्वसाधारणको आकर्षण बढेको हो ।
पछिल्ला २/३ वर्षयता हरेक जसोको चापाकल सुकेर खानेपानीको हाहाकार हुन थालेको छ । फलतः अहिले नेपाल खानेपानी संस्थानले वितरण गर्ने पानीको लागि पाइप जडान गर्ने सर्वसाधारणमा आकर्षण बढेको छ । आफ्नो घरको धाराबाट पानी आउनै छोडेपछि सरकारी पानीको भरका लागि सर्वसाधारणको आकर्षण बाध्यात्मक बनेको हो । खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणको पहिलो रोजाई सरकारी धाराको पानी अर्थात खानेपानी संस्थानले वितरण गरेको पानीमै परेको छ । अहिले वीरगन्ज महानगर भित्रको बजार क्षेत्रका हरेक सडक गल्लीमा खानेपानी संस्थानले वितरण गरेका धारा दूरुस्त पार्न आफू सुरक्षित हुन सर्वसाधारण सकृय भएर लागेका छन् । केही वर्ष अगाडी खानेपानी सप्लाई टंकीको पानी प्रयोग बढि हितकर हुन्छ भन्दा पनि सर्वसाधारण त्यो वास्ता गर्दैन थिए । तर हरेक घर–घरका चापाकलको पानी सुकेपछि विकल्पमा सरकारी धारा र त्यहाँबाट आउने पानी शहरीया मानिसको जीवनचर्याको गतिलो आधार बनेको छ । पानी संचय गर्न शहर बजारमा ढलान बाटो, नाला र घरहरुको बनावट भू–सतहमा पानी संचय हुने प्रकृयाको बाधक मानिन्छ । केहीहदसम्म यो कुरा गलत होइन । तर ग्रामिण क्षेत्रमा पनि पानीको अभाव हुनु चाही पानी सुक्नुको फरक कारणहरु पनि रहेको पुष्टि भएको छ ।
शहर–बजार तर्फ त खाने पानीको सुविधा केही लिन पनि पाएका छन् ग्रामिण बस्तीमा प्रायः पाउन पनि सम्भव छैन । बजार क्षेत्रको मात्र कुरा गर्ने हो भने चालु आर्थिक वर्षको साउनदेखि असार पहिलो हप्तासम्म २ हजार ८ सय १० घरधुरीले खानेपानी संस्थान वीरगन्जबाट नयाँ धारा जडान गरिसकेको पाइन्छ । सर्वसाधारणको घरआँगन परिसरमा जोडिएको चापाकल सुकेसँगै खानेपानी संस्थानको धारा जोड्ने क्रम ह्वात्तै बढेको खानेपानी संस्थान वीरगन्ज शाखा कार्यालयले जनाएको छ ।
सरकारी धारा जडान गर्न ग्राहक बढ्दै
गत आवको असार मसान्तसम्म संस्थानका खानेपानीका ग्राहक ८ हजार ४०० मात्रै रहेका थिए । तर यो हिउँदेयाममा चर्को खडेरी लागेसँगै खानेपानी संस्थानको लाइन जोड्नेको संख्या बढिरहेको संस्थानले दावी गरेको छ । गएको असार पहिलो हप्तासम्म संस्थानका खानेपानीका कूल ग्राहक संख्या ११ हजार २ सय १० पुगिसकेको छ । संस्थानले वीरगन्ज महानगरभित्र २ सय ८५ सार्वजनिक धारा मार्फत खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थान वितरण कार्यालयका वितरण प्रमुख सन्जिवकुमार यादवले बताए ।
भूमिगत पानीको समस्या
भूसतहको पानीको मुख्य श्रोत चुरे क्षेत्रको विनाशकै कारणले वीरगन्ज आसपास क्षेत्रको भूमिगत पानीको सतह पनि घट्दै जाँदा खानेपानीको समस्या बढेको वितरण प्रमुख यादवको तर्क छ । वीरगन्ज क्षेत्रको खानेपानीको मुख्य स्रोत नै भूमिगत पानी हो उनले भने । अन्य पहाडी जिल्लामा जस्तो यहाँ कुनै नदीबाट पानी ल्याएर वितरण गर्ने चलन थिएन । पोखरी, ईनार हुँदै भूमिगत पानी चापाकलमार्फत निकाली यो क्षेत्रका मानिसले गुजारा चलाएको विगत र वर्तमान छ उनले भने ।
संस्थानको क्षमता भएर पनि वितरणमा समस्या
वीरगन्जमा रहेको खानेपानी संस्थानको खानेपानी उत्पादन गर्ने दैनिकको क्षमता १ करोड ६८ लाख लिटरसम्मको छ । सो क्षमतामध्ये अहिले वीरगन्ज महानगर क्षेत्रमा १ करोड १५ लाख ५० हजार लिटर पानीको दैनिक माग रहेको छ । तर कूल उत्पादन क्षमताको केही प्रतिशत खानेपानी चोरी तथा चुहावट हुने गरेको पनि कार्यालयले जनाएका छ । कार्यालयसँग साना र ठुला गरेर डेढ दर्जन खानेपानीका बोरिङ रहेका छन् । तीमध्ये ११ भूमिगतबाट पानी तान्ने ठुला प्रकृतिका बोरिङ रहेको पनि कार्यालयले जनाएको छ । वीरगन्जका २० हजार घरधुरीलाई खानेपानी खुवाउन सक्ने क्षमता खानेपानी संस्थानसँग नभएको होइन । तर अहिले पूर्वाधार र बजेट अभावका कारणले वितरणमा समस्या भइरहेको खानेपानी संस्थान वीरगन्ज कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले बताए । खानेपानीको पाइपलाइन विस्तार गर्न विना बजेटको सम्भव नहुने उनको भनाइ छ ।
पाइपबाट पनि पानी चोरी
वीरगन्जको छपकैयाँ क्षेत्रमा अवैध ढङ्गले खानेपानीको पाइपमा प्वाल पारेर समेत पानी चोखानेपानीको चुहावट भइरहेको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागेको छ । “वीरगञ्जको छपकैयाँ क्षेत्रमा सर्वसाधारणले खानेपानीको पाइपलाई क्षति पु¥याएर खानेपानी चोरी गरिरहेका छन्, शाखा प्रमुख मन्दिप श्रेष्ठले भने, खानेपानीको चोरी नियन्त्रण गर्नका लागि आवश्यक सहयोग गरिदिन प्रशासनमा भनिएको उनको भनाइ छ । करिब २०० भन्दा धेरै घरधुरीले खानेपानीको अवैध रूपमा प्रयोग गर्दै आइरहेको कार्यालयले अनुमान गरेको खुलेको छ ।
शहर बजारमा पानीको अभाव टार्ने खानेपानीको वितरण गर्ने निकाय भए पनि ग्रामिण बस्तीमा भने त्यो पनि सहज नहुने अवस्था छ । पानी संचय गर्न सक्ने खुल्ला जमिन भएका ग्रामिण बस्तीका चापाकल पनि सुकेकोले पानी सुक्ने कारणको खोजी र निदाममा सबै जुट्न पर्ने अवस्था आएको विज्ञहरुको तर्क भनाइ छ । समाजका केही अगुवाहरुले भू–सतहमा पानीको सतह नै अझ तल झरेपछि एक्कासी सर्वसाधारणले प्रयोग गर्ने चापाकलको पानीको लेयर नै घटेको निष्कर्ष निकालेका छन् । जमिनको भू–बनोट अथवा पानीको बारेमा जानकारी हुने पानीका विज्ञहरुले पनि तराईको शिरमा रहेको चुरे विनाश, सुख्खा खडेरी, चर्को घाम र बोटबिरुवाको पनि विनाश जस्ता कारण औल्याइरहेका छन् । अर्को तर्फ विगतमा झैं चाँडो पानी नपर्ने, परिहाले पनि कम पानी पर्ने कारण मानिसले वातावरणीय प्रभावमा गरेको अनावश्यक हमला नै मुख्य कारण रहेको उनीहरुको निष्कर्ष छ ।