इतिहासलाई फर्केर अध्ययन गर्ने हो भने ढुंगेयुग हुँदै हामी आधुनिक युगमा छौ । हाम्रो हुर्काइसँगै विकसित भएको सामाजिक सञ्जाल यो युगको सबैभन्दा लोकप्रिय उपकरण बनेको छ । यही उपकरण मार्फत भर्चुअल स्पेसहरूमा सजिलैसँग कुराकानी गर्न, आफ्ना विचार, सूचनालाई साझा गर्न सक्छन् । सेकेन्डभर मै सूचना प्राप्त गर्न या प्रसारण गर्न मात्रै नभएर काम तथा अप्ठ्यारो कार्यलाई सहज तथा सरल तरिकाले सम्पन्न गर्न इन्जिनको काम यस उपकरणले गरेको छ । सन् १९८० को दशकमा जब इन्टरनेट सुरु भयो । यसले सञ्चारको नयाँ युगको प्रतिनिधित्व ग¥यो । यद्यपि, आज हाम्रो जीवन पूर्णरूपमा परिवर्तन भएको छ । हामी एक क्लिकमा संसारभरका मानिसहरूलाई हेर्न, सञ्चार गर्न र सम्पर्क गर्न सक्छौँ । डिजिटल कनेक्टिभिटीले सबै कुरा सम्भव बनाएको छ ।
सन् १९९२ मा संयुक्त राज्य अमेरिकामा वल्र्ड वाइड वेबको आविष्कार भएदेखि नै इन्टरनेटको प्रयोग विश्वभर फैलिएको छ । त्यसको असर नेपालमा पनि परेको छ । फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र स्न्याप च्याट लगाएतका थुप्रै एप्स नेपालमा प्रयोग हुने गरेका छन् ! साच्चै भन्नुपर्दा सामाजिक सञ्जालले हाम्रो जीवन परिवर्तन गरेको छ । एक तथ्यांकका अनुसार विश्वभर ४ अरब ४८ करोड मानिसले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । यो भनेको चीनको जनसंख्याभन्दा ३.११ गुणा बढी हो । भारतको भन्दा ३.२४ गुणा बढी र नेपालको भन्दा १४९.३३ गुणा बढी हो । विश्वको जनसङ्ख्याको तुलना (७.९ अरब) मा लगभग आधा हो ।
यसको अर्थ विश्वको आधाभन्दा बढि व्यक्तिहरू सामाजिक सञ्जालमा भेटिन्छन् । तथ्याङ्ककै सहारा लिएर हेर्दा ४.६६ अरबभन्दा बढी ‘इन्टरनेट प्रयोगकर्ताहरू भएको गुगलमा भेटिन्छ । यद्यपि यो अझ बडि पनि हुनसक्छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा दुई करोड ७७ लाख मानिस इन्टरनेटको पहुँचमा छन् । यसैलाई आधार मानेर हेर्ने हो भने साच्चिकै सामाजिक सञ्जाल एउटा छुट्टै देश बनेको छ । एसिया महादेशको जनसङ्ख्या ४.६४ अरब छ । जबकि ४.४८ अरब त सामाजिक सञ्जाल प्रयोगकर्ता नै छन् । यो तथ्याङ्क साँच्चैमा कहालीलाग्दो हो । बिबिसी श्रोतका अनुसार कम्पनीहरू आफ्नो प्रयोगकर्ताहरूको वास्तविक तथ्याङ्क दिन नचाहने खुलेको छ ।
कस्तो बाटोमा छौ हामी ?
हिजो के भयो आज के हुँदैछ ? त धेरै हदसम्म त बुझ्न सकिएला । तर अब आउने पछाडिको पाटो हामीलाई देखाइँदैन । अथवा हामी देख्न चाहदैनौ । देख्ने चाह राख्ने र देख्नेहरू निकै कम छन् । र, देख्नेहरूका अनुसार सामाजिक सञ्जालले हाम्रो आँखा, औँला, शरीर, मानसिकता र सोचाइमा मात्रै अस्वस्थ पारिरहेको छैन । मानसिक रूपमा पनि हामीलाई क्षतविक्षत पु¥याइरहेको छ । आफ्नै घर परिवारमा सम्बन्ध चिसिदैछन् । एकै घरमा भएर पनि बाबू आमासँग छोराछोरी टाढा छन् । दिदीबहिनी, दाजुभाई बिच संवादमा कमि छ । पारिवारिक भावना कठोर बन्दैछ, वास्तविकतामाभन्दा पनि संजालको झलकमा खुशी खोज्ने प्रविधि बड्नु अत्यन्तै दुखद कुरा हो । घरमा भएका परिवारका सदस्य हातमा मोबाइल लिएर एका एकातिर घोत्लिदा संजालको मोहमा चिड्चिडिने, रिसाउने, भनेको नसुन्ने नयाँ कुरा सोच्न नसक्ने र विभिन्न रोगको सिकार बन्न थाल्दै परिवार । अन्ततः समाज पनि । एकछिन सोचौ त हामी आफ्नो स्क्रिनमा के हेरिरहेका छौँ ? हामीले हामीलाई नै भेटिरहेका छौ त ? मोबाइललाई हामीले आफ्नो हातमा त जरुर लिन्छौ । तर हाम्रो सोचलाई मोबाइलले चलाई कहाँ कसरी चलाइरहेको छ हामीले सोच्नै नसकिरहेको अवस्था छ ।
बढ्दो दुरुपयोगको असर ः–
हुन त सामाजिक सञ्जालमा पसेपछि अत्यन्त रमाइलो, मजाक हुने भए पनि यसले धेरैको घर बर्बाद पारेको छ । नाता सम्बन्धमा दरार ल्याएको छ । यसको गलत प्रभावमा परेर विद्यार्थीको पढाइ बिग्रनुको साथै मानव बेचबिखनको जोखिम बढेको छ । सामाजिक सञ्जालको प्रयोगले ससाना बालबालिकाहरुलाई नयाँ विषयवस्तु सोच्ने क्षमतामा ह्रास ल्याउनुका साथै घरबाहिर गएर खेल्ने, सिक्ने, सामाजिक दायित्व निर्वाह गर्ने समय समेत बर्बाद गरिदिएको छ । समाजमा विभिन्न विकृति विसङ्गति सिर्जना गर्न, जाति धर्म, विचारका विरुद्ध आमसर्वसाधारण नागरिकबीच विभ्रम फैलाउन सामाजिक सञ्जालले मलजल गरेको छ । कतिपय मानिसका लागि पूर्वाग्रह साध्ने र मनको भडास निकाल्ने मैदान समाजिक सञ्जाल भएको छ ।
सामाजिक सञ्जाललाई व्यवस्थित गरौं
एउटा वास्तविकता यो छ, पारिवारिक सामाजिक सञ्जालको व्यवस्थित प्रयोगमा आभिभावकको महत्वपूर्ण भूमिका रहन्छ । अभिभावक आफैँले चाहिनेभन्दा बढी समय व्यतित गर्दै छोराछोरीले यस्तो नगरुन् भन्ने अपेक्षा गर्नु गलत हो । त्यसैले छोराछोरीले यस्को उचित प्रयोग गरून् भनेर अपेक्षा गर्ने अभिभावक आफैँले यसको उचित प्रयोग गर्न जरुरी छ । अभिभावकको अर्को कमजोरी भनेको स–साना बालबालिकालाई चौबीसै घण्टा मोबाइल दिएर फकाउनु, खाना खुवाउन मोबाइलमा अल्मलाएर खुसी बनाएर खुवाए भन्ने भ्रम सृजना गर्नु हो ।
विशेष युवा पुस्ता यो लतबाट ग्रसित छ । सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउँदै छ । वास्तविक सम्बन्धहरू भत्काउँदै छ । सीमित दायराभित्र मानिसलाई खुम्च्याउँदै लगेको छ । एउटा उदाहरण नै हेरौ न साथी वा आफन्तकोमा जाँदा सबैभन्दा पहिले सन्चो बिसन्चोभन्दा पनि वाइफाईको पासवर्ड सोध्छौ, कतै घुम्न जाँदा होस् वा फर्केर आउँदा होस् फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गर्न आतुर हुन्छौ । खानेकुराको फोटोदेखि सेल्फीसम्म, शुभकामनादेखि श्रद्धाञ्जलीसम्म सामाजिक सञ्जालमा पोस्ट गछौँ । हामी लाइक, कमेन्ट, सेयरहरू गनेर बस्छौँ । यतिसम्म कि हामी आफू को हौँ भन्ने बिर्सन्छौँ र आफूलाई अरूको नजरबाट हेर्न र बुझ्न खोज्छौँ । यी सवै कुरा एउटा लत बनिसकेको छ । विशेष युवापुस्ता यो लतबाट ग्रसित छ । सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउँदै छ । वास्तविक सम्बन्धहरू भत्काउँदै छ, सीमित दायराभित्र खुम्चाउँदै लगेको छ । कतिपय सन्दर्भमा सामाजिक सञ्जाल पारिवारिक दरारको प्रमुख कारण पनि बनेको छ । गेममा रमाउने बालबालिका, किशोरकिशोरी र युवापुस्ताको संख्या ह्वातै बढेको छ । गेममा मस्त उनीहरू सामाजिक परिघटनाबाट बेखबर छन् ।
समाजमा के भइरहेको छ उनीहरूलाई मतलब छैन । समाजबाट कटेको यो पुस्ता असामाजिक बन्दै छ । जसले हाम्रो सामाजिकीकरणको प्रक्रियालाई नै चुनौती दिएको छ । हाम्रो जीवनशैली, व्यवहार, सोच्ने तरिका र अन्तरक्रिया प्रणालीलाई नै चुनौती दिइरहेको छ । यो चुनौतीको एउटा मुद्दा बनाएर देश व्यापीरुपमा अभियान आवाश्यक छ । संजालको प्रयोग कहाँ कति र कसरी गर्ने बारे एउटा मापदण्ड बनाएर प्रयोग गरिनु प्रविधि प्रयोगको सान्दर्भिकता र सहजबाटो पनि हिड्न अझ बल पुग्छ ।