१. तपाईले पार्लर व्यवसाय नै रोज्नुको कारण बताइदिनुस् न ?
सानो उमेरदेखि नै पार्लर सम्बन्धी काम गर्न धेरै चासो थियो । पहिला बारा जिल्लामा हुदाँ पनि गाउँघरमा मेहेन्दी लगाईदिने, कपाल काटिदिने काम गर्थे । एस.एल.सी पास गरेपछि विवाह भयो । विवाह पछि पार्लर सिक्ने अवसर पनि पाए । आफ्नो चासोको विषय भएकोले राम्रोसंग सिकेर पार्लर व्यवसाय रोजेको हो । मेरो सानोदेखिको रुचिको विषय भएर पार्लर व्यवसाय नै गर्ने निर्णय गरे ।
\
२. पार्लर व्यवसाय गर्न परिवारको सहयोग कत्तिको पाउनु भएको छ ?
एडभान्स कोर्षसम्म सिके । मेरो श्रीमान्बाट पनि मैले राम्रो सहयोग पाएको छु । मेरो व्यवसायमा कुनै समस्या आएको छैन । परिवारबाट धेरै सहयोग पाएको छु । बच्चाको हेरचाह गर्नको लागि परिवारको सहयोग भएर पार्लर व्यवसाय राम्रो संचालन गर्न सकेको हो ।
३. पार्लर व्यवसाय संचालन कति लगानीबाट गर्नुभयो ?
पार्लर सिकेर मैले पुरानो पार्लर ६५ हजारमा किनेको हो । म नयाँ भएकोले पुरानो पार्लर संचालन गर्ने दिदीलाई नै सबैले खोज्ने भएकोले काम गर्न थालेको सुरुसुरुमा गाह्रो भयो । एक वर्षमा केही व्यवसायमा राम्रो सुधार भयो । अहिले पार्लर ३ लाखको लगानीमा संचालित छ ।
४. सुरुमा पार्लर संचालन गर्दा कत्तिको चूनौति आए ?
पुरानो पार्लर किनेको भएर पार्लरमा आउने सबै ग्राहकले पहिलाको दिदीलाई नै खोज्ने गनुहुन्थ्यो । धेरै ग्राहकहरु आफूले चिनेको दिदी नदेखेर फर्किएर पनि जाने गरेका थिए । तर आफू पनि भर्खरै सिकेको भएर धेरै जनाको बिग्रियो पनि होला । दिनमा ३ सय, ४ सय मात्र हुन्थ्यो । तर पनि म नआत्तिकन पार्लर व्यवसाय संचालन गर्दै रहे । एक वर्षसम्म जेनतेन चलाए त्यसपछि भने पार्लरमा सबैले चिन्दै गए । काम पनि राम्रो हुन थाल्यो । यो व्यवसायमा टिक्नलाई धेरै समस्या भोग्नु प¥यो ।
५. आफूले काम गर्ने क्रममा अरुलाई पनि पार्लर सिकाउनु भएको छ ?
मैले हरेक वर्ष ७ देखि १४ जना दिदीबहिनीहरुलाई सिकाउने गरेको छु । पार्लरभन्दा पनि बाहिर पालिका, वडाहरुमा पनि गएर पार्लर सिकाउने गरेका छु । मैले पार्लर संचालन गरेदेखि ४० जनाभन्दा बढीलाई सिकाइसकेको छु । धेरै जस्तोले पार्लर व्यवसाय संचालन पनि गरेका छन् । अहिले पार्लर सिक्नेलाई एडभान्स कोर्षको ४० हजार लिने गरेको छु । त्यसमा केही रकम छुट् गरेर पनि सिकाउने गरिएको छ ।
६. अझ पार्लर व्यवसायमा टिक्नलाई के गर्नुपर्छ जस्तो लाग्छ ?
पार्लर व्यवसायमा टिक्न एक पटक मात्र सिकेर हुदैन । नयाँ–नयाँ प्रविधिको विकास भइरहेको हुन्छ । समय समयमा थप सिक्दै जानुपर्छ । जसले गर्दा नयाँ विषयमा जानकारी हुदै जान्छ । काम गर्न पनि सजिलो हुन्छ । ग्राहकलाई सन्तुष्टि दिन सके पार्लर व्यवसायमा टिक्न सजिलो हुन्छ ।
७. पार्लर व्यवसायलाई कस्तो बनाउने ईच्छा छ ?
पार्लर व्यवसायलाई अझ ठूलो बनाएर स्टाफ राखेर राम्रोसंग संचालन गर्ने ईच्छा छ । भविष्यमा राम्रो गर्ने विचार छ । पार्लरलाई अझ बढाएर गर्न पाए आम्दानीको श्रोत पनि बढ्थ्यो । धेरै महिला दिदीबहिनीहरुलाई रोजगारी दिन सकिन्छ । यो पेशाले नै राम्रो आम्दानी दिइरहेको हुनाले अझ बढाएर काम गर्ने ईच्छा छ ।
८. यो पेशातर्फ आकर्षित हुने दिदी बहिनीहरुलाई के भन्न चाहनु हुन्छ ?
सबैले कुनै न कुनै सीप सिकौं । सीप सिकेर घरमा नबसौं । कतिपय पार्लर सिकेर घरमा बस्नु भएको छ । आफूले सिकेको सीपको सही सदुपयोग गरौं । घरमा बस्नु भएको छ भने पनि घरमा नै केही गरौं । राम्रोसंग काम गर्न सके कहिले पनि महिलाहरुलाई पैसाको अभाव हुदैन । सीपले महिलाहरुलाई आत्मनिर्भर बनाउँछ ।