डडेल्धुराको परशुराम नगरपालिकास्थित महाकाली नदी किनारमा एउटा साहित्यिक बहस गरिरहेका डा. नवराज लम्साललाई केही समयअघि उनका स्रोता तथा पाठकहरूले त्यहीँ सोधेको एउटा प्रश्न थियो – संस्कृत वाङ्मयका उत्कृष्ट २० पुस्तक के के हुन् ? देशका सुदूर वस्तीहरूमा पुगेर सीमन्तकृत नागरिकसँग सम्वाद गर्दै र तिनकै जीवनमा वाणी भर्दै हिँडेका डा. लम्साल तन्नेरी पुस्ताका लागि प्रेरणा मानिन्छन् । उनी आफैँ भन्छन् – दिल दिए पुग्ने, अंश दिनु नपर्ने धेरै भाइबहिनीहरू छन् मेरा । उनको काव्य चिन्तन र व्यवहारका कारण देशैभरि उनी निकट हुन पुगेका तन्नेरीहरुको जमात देख्दा यो भनाइ सत्य हो जस्तो पनि देखिन्छ ।
अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता डा. लम्सालका कर्ण, धरा र अग्नि महाकाव्यसहित ८ पुस्तक प्रकाशित छन् । संस्कृति र साहित्यको गम्भीर अध्येता मानिनु हुने डा लम्साललाई महाकाली किनारको त्यही प्रश्न लिएर हामीले पछ्याइरह्यौँ । सधैँ सबैले भनेजस्तो गीता, पुराण र पनिषद्हरूबाहेक साहित्यिक सूची बनाउन हामीले गरेको आग्रहमा उनको सूची यस्तो छ ।
१.रामायण, वाल्मीकि
संस्कृत भाषाका आदिकवि वाल्मीकिद्वारा रचित भव्यतम महाकाव्य हो रामायण । यो महाकाव्य रामकथामा आधारित छ ।
२. महाभारत, वेदव्यास
वेदव्यासद्वारा रचित यस महाकाव्यलाई साहित्यका अतिरिक्त धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थका रूपमा समेत लिने गरिन्छ । कौरव पाण्डवका बीचमा भएको विशाल युद्धकथा यसको कथानक हो ।
३. कौटिल्यको अर्थशास्त्र, चाणक्य
मौर्य सम्राट चन्द्रगुप्त राजा भएपछि उनको ताकतमा एक विशाल र बलियो साम्राज्य स्थापना भएको थियो । उनको यो राज्य विस्तारलाई उनकै छोरा बिन्दुसार र नाति सम्राट अशोकले निरन्तरता दिएको र यही अर्थशास्त्रका नीतिहरूको जगमा विशाल राजपाट चलेको भन्ने गरिन्छ । यस ग्रन्थलाई अर्थशास्त्रको संसारकै पहिलो किताब समेत भन्ने गरिन्छ । चाणक्यलाई विष्णुगुप्त, कौटिल्य आदि नामले समेत चिनिन्छ ।
४. बुद्धचरित, अश्वघोष
महाकवि अश्वघोषद्वारा संस्कृत भाषामा रचना गरिएको बुद्धचरित महाकाव्यमा बुद्धको चरित्र र उपदेशको चर्चा छ । यसमा सिद्धार्थ गौतमको जन्मदेखि लिएर बुद्धत्व प्राप्त गरेपछि बुद्धधर्मको उपदेश दिन थाल्दासम्मको जीवनगाथाको वर्णन पाइन्छ ।
५. स्वप्नवासवदत्तम्, भास
भासको प्रसिद्ध नाटक हो यो । यसलाई नाट्य संरचना, कथा, चरित्र चित्रण र प्रकृति वर्णनको बेजोड नमुना मानिन्छ । हास्य तथा शृङ्गार रसको यो अनुपम उदाहरण हो ।
६. कामसूत्र, वात्स्यायन
कामसूत्र वात्स्यायनद्वारा लिखित विश्व प्रसिद्ध प्राचीन कामशास्त्र हो । यसलाई विश्वको प्रथम यौन संहिता मानिन्छ । स्वीकृत तथा वर्जित सम्बन्धदेखि कामक्रियाको समयमा अपनाउनुपर्ने विधिका बारेमा यस पुस्तकमा वर्णन गरिएको छ ।
७. कुमारसंभव, कालिदास
कुमारसम्भव कालिदासद्वारा रचित महाकाव्य हो । यो कुमारको जन्मसँग सम्बन्धित छ । हिमालयको बेजोड वर्णन, पार्वतीद्वारा गरिएको तपस्याको सन्दर्भ, वसन्त आगमन, पार्वती विवाह तथा रतिक्रियाआदिको काव्यिक अनुभूतिले यो काव्य भरिपूर्ण छ ।
८. मेघदूत, कालिदास
यो कालिदासको अर्को महाकाव्य हो । यसमा यक्षको कथा छ । कुबेरले यक्षलाई अल्कापुरीबाट निष्कासित गरिदिएपछि यक्ष रामगिरि पर्वत पुग्छन् । वर्षा ऋतुमा उनलाई आफ्नो प्रेमिकाको सम्झनाले सताउँछ र उनले मेघका माध्यमले आफ्नो सन्देश प्रेमिकासम्म पठाउँछन् । यक्षले मेघलाई प्रेमिकासम्म पुग्ने बाटो र प्रेमिकालाई भन्नुपर्ने विरह सुनाउँछन् । यहाँ अनुभूतिको चरम उत्कर्ष पाइन्छ । उपमा होस् त कालिदासको जस्तो भनेर उपमा कालिदासस्य भन्ने चलन छ ।
९. रघुवंश, कालिदास
यो पनि कलिदासकै महाकाव्य हो । इक्ष्वाकुवंशमा रघु नामका राजा थिए । यिनै रघुका कुलमा जन्मिएका २९ जना राजाहरूको वर्णन रघुवंशमा उल्लेख छ । राजा राम पनि यसै वंशका हुन् । छन्दको चामत्कारिक प्रयोग तथा राजाहरूको आदर्शपक्षको चर्चा यसको विशेषता हो । यस महाकाव्यमा २१ छन्दको प्रयोग गरिएको छ ।
१०. नाट्यशास्त्र, भरतमुनि
नाट्यशास्त्र पूर्वीय नाट्य र काव्यशास्त्रको आदिग्रन्थ हो । यसमा नाटक, सङ्गीत, छन्द, अलङ्कार, रसआदिको जानकारी पाइन्छ । ’नाट्यशास्त्र’लाई कलाको आधारभूत ग्रन्थ भन्ने गरिन्छ । यो विविध कलाको विश्वकोष नै हो । उद्भट, भट्टलोल्लट, श्रीशंकु, भट्टनायक, अभिनवगुप्त, कीर्तिधर र हर्षवार्तिकजस्ता विशिष्ट आचार्यहरूले नाट्यशास्त्रको टीका पनि लेखेका छन् ।
११. पञ्चतन्त्र, विष्णु शर्मा
पञ्चतन्त्र विष्णु शर्माद्वारा लिखित छोटाछोटा कथाहरूको सँगालो हो । यसमा पशुपन्छीका कथाहरू छन् र केही कथामा मानिस पनि पात्र छन् । सबै कथाले मानिसको जीवनलाई आदर्श र नैतिकवान् बनाउने शिक्षा र सन्देश दिन्छन् । कहाँसम्म भने पञ्चतन्त्रमा उडुस र उपियाँंसम्मलाई पात्र बनाएर कथा रचना गरिएका छन् । यसबाट रचनाकारको अद्भुत कल्पनाशीलताको परिचय पाइन्छ ।
१२. रावणवध, भट्टि
रावणबध महाकाव्यलाई भट्टिकाव्य भनेर पनि चिनिन्छ । रामचन्द्रको जन्मदेखि रावणबधसम्मको कथा यसमा समेटिएको छ । यसलाई रामायण र पाणिनीय व्याकरणको मिश्रण समेत भन्ने गरिन्छ र यो काव्य प्रौढ र कठिन काव्यको रूपमा चिनिन्छ । भट्टि श्रीभट्टको अर्को नाम हो ।
१३. किरातार्जुनीयम्, भारवि
अर्थ गौरवका लागि प्रख्यात कवि भारविको महाकाव्य हो, किरातार्जुनीयम् । संस्कृत साहित्यको बृहत् त्रयी भनिने ३ ग्रन्थ, किरातार्जुनीयम्, शिशुपालवधम् र नैषधीयचरितम्मध्ये यो प्रमुख ग्रन्थ हो । महाभारतमा वर्णित किराँत रूपधारी शिव र अर्जुन बीचको लडाइँ यसको कथा प्रसङ्ग हो । यसमा राजनीति, कुटनीति, धर्मनीति, युद्धनीति आदिका बारेमा विषद चर्चा छ ।
१४. दशकुमारचरितम्, दन्डी
संस्कृतको गद्यकाव्य हो यो । दश जना कुमारको चरित्र वर्णन छ यसमा । काव्यकलाको प्रौढता र दृष्टिबिन्दुको सूक्ष्मताका हिसाबले यो काव्य निकै उच्च मानिन्छ । व्यङ्ग्य चेत यसको महत्वपूर्ण पक्ष हो । पद लालित्यका लागि दण्डी कुशल मानिन्छन् र ‘दण्डिनः पदलालित्यम्’ भन्ने प्रसिद्ध भनाइ नै छ ।
१५. हर्षचरितम्, बाण भट्ट
कवि बाण भट्टका प्रमुख दुई कृति हुन् ः हर्षचरितम् र कादम्बरी । हर्षचरितम् राजा हर्षबर्धनको जीवनकथा हो । कादम्बरी औपन्यासिक शैलीको गद्य मानिन्छ । यसलाई कतिले उपन्यास पनि भन्ने गरेका छन् । विशेषण प्रयोगका लागि उनी विशेष मानिन्छन् । पिताको निधनपछि उनी केही समय फकिर बनेर हिँडे तर पछि घर फर्किएर लेखनमा लागेका थिए । कादम्बरी पूर्ण नहुँदै उनको निधन भएको र उनका छोरा पुलिन भट्टले यसलाई पूर्ण गरेका हुन् भनिन्छ ।
१६. प्रियदर्शिका, हर्षवर्धन
हर्षवर्धनको प्रसिध्द नाटक हो, प्रियदर्शिका । यसमा राजा उदयन र प्रियदर्शिकाको कथा छ । हर्षवर्धनलाई कति ठाउँमा हर्ष मात्रै पनि भनिएको पाइन्छ । उत्कृष्ट स्रष्टा हुनाको साथै उनलाई साम्राज्य निर्माता समेत भनिन्छ । प्रियदर्शिकाको अतिरिक्त उनले रत्नावली र नागानन्दजस्ता उत्कृष्ट नाटक पनि लेखेका छन् ।
१७. मालतीमाधव, भवभूति
मालती माधव भवमूतिको चर्चित नाटक कृति हो । मालती र माधवको काल्पनिक प्रेम कथा हो यो । एक राजाका पुत्र माधव मालतीसँग विवाह गर्न चाहन्थे तर विभिन्न घटनाहरूका कारण यसमा अवरोध पुग्छ तर अन्तिममा अनेक तरहले उनीहरूबीच गान्धर्व विवाह हुन्छ । निकै रोचक कथाले सिँगारिएको नाटक हो यो ।
१८. गीतगोविन्द, जयदेव
जयदेव उम्दा संस्कृत कवि हुन् । गीतगोविन्द चर्चित रचना हो । यो राधा, कृष्ण र प्रेमसँग सम्बन्धित छ । कोमल कान्त पदावलीले सुसज्जित यो ग्रन्थ प्रेम र प्रणय तथा समर्पणले भरिपूर्ण मानिन्छ । आज पनि ठाउँठाउँमा यसको गायन र श्रवणको निरन्तरता छ ।
१९. शिशुपालवध, माघ
कवि माघको यस कृति कृष्ण चरित्रमा आधारित छ । उनी संस्कृत साहित्यका उच्च विशिष्ट प्रतिभा मानिन्छन् । काव्येषु माघ कवि कालिदास अर्थात् काव्यहरूमा माघ र कविहरूमा कालिदास भन्ने चलन छ । यसरी उत्कृष्ट काव्य लेखेर ख्याती आर्जेका माघ १ सय २० वर्ष बाँचे भन्ने उल्लेख पाइन्छ । शब्द र अर्थको चमत्कारसहित बोधको भित्री गहिराइमा उनी चुर्लुम्म डुबेको पाइन्छ ।
२०.अष्टाध्यायी, पाणिनि
पाणिनि संस्कृत भाषाका अद्वितीय वैयाकरण हुन् । सिद्धान्त कौमुदि, कौमुदि आदि विविध नामले चिनिने अष्टाध्यायी उनको व्याकरण पुस्तक हो । यसमा आठ अध्याय छन् । अष्टाध्यायीमा महामुनि कात्यायनको विस्तृत वार्तिक ग्रन्थ छ । यी सूत्र तथा वार्तिकमा पतञ्जलिको विशद महाभाष्य छ । संक्षेपमा सूत्र, वार्तिक एवं महाभाष्य तीनवटै सम्मिलित रूपलाई पाणिनीय व्याकरण भनिन्छ । यसरी सूत्रकार पाणिनी, वार्तिककार कात्यायन एवं भाष्यकार पतञ्जलि गरी संस्कृतमा यी तीन जनाको ठूलो आदर छ र यिनलाई त्रिमुनि भनिन्छ । साँच्चै संस्कृत पढ्न चाहनेले यही अष्टाध्यायीबाट पढाइ शुरू गर्छन् ।
संस्कृत वाङ्मय ज्ञानको अथाहा भण्डार हो । संस्कृत भाषमा हजारौँ होइन, लाखौँ पुस्तक छन् । नपढेका भन्दा नामसम्म नसुनेका धेरै पुस्तकहरु छन्, होलान् । सरसर्ती सानो सूची बनाएको हुँ । अब त यी पुस्तक मेरै स्मृतिबाट पनि हराउन लागि सके । आफैँले यी किताबहरु नपढेको कति भइसक्यो । २०४३ मा एसएलसी दिएपछिका केही वर्ष खूब पढेँ, यस्ता किताब । संस्कृत छात्रावास बस्थेँ र तिनताका त्यहाँ ३६ हजारभन्दा बढी किताबहरु थिए । ती मध्ये अधिकांश संस्कृतका थिए तर अचेल त्यस्तो पठन संस्कृति कतै भएजस्तो लाग्दैन । लामो समय रेडियो नेपाल तथा बीबीसी हुँदै धेरैतिर भौँतारिँदै आएँ । यस बीचमा आफैँले पनि केही काव्य लेख्ने कोशिश गरेँ ।
समयले सघायो भने फेरि एकपटक यही संसारमा फर्कने र केही शाश्वत कुरा लेख्ने रहर छ । बाँकी त समयको जो मर्जी । साभार