वरिगंज । भान्छामा पकवान पकाउँदा छुटिनै नहुने वस्तुमा पर्दछ खाने तेल । खानामा विभिन्न प्रकारको तेलको प्रयोग गर्ने गरिन्छ ।
प्राचिन कालदेखि नै हाम्रो समाजमा तोरीको तेलको प्रयोग हुदै आइरहेको छ ।
पछिल्लो केही दशकदेखि विभिन्न प्रकारका तेलहरु बजारमा उपलब्ध भएका छन् । नेपालमा उत्पादन हुने १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गरिएको छ । जसमा ४ वटा ब्रान्डका तेलहरु खान अयोग्य भेटिएका छन् ।
काठमाडौँ महानगरपालिकाले गरेको अनुगमन र परीक्षणका क्रममा तेलमा नेपाल सरकारले तोकेको भन्दा पेरोक्साइड भ्यालु धेरै पाइयो । जसका कारण ती ४ ब्राण्डका तेल खान अयोग्य रहेको प्रमाणित हुन्छ ।
हेर्नुहोस् चार ब्राण्ड कुन कुन हुन् ?
मोरङ्कको श्रीराम रिफाइन्ड आयल प्रोडक्टले २०८० पुस २७ गते उत्पादन गरेको पक्वान व्राण्डको व्याच÷लट नं. एस–२ को रिफाइन सोयाविन आयलमा मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालुको मान बढी भएको पाईएको हो ।
सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा २०८० कार्तिकमा उत्पादन भएको अमृत ब्राण्डको व्याच÷लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी व्राण्डको व्याच÷लट नं. ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको हो ।
अमृत ब्राण्ड वीरगन्जको परवानीपुरमा रहेको अन्नपूर्ण भेजिटेवल प्रोडक्ट प्रालिको उत्पादन हो । अर्को क्वालिटी आयल रिफाइनरी प्रा. लि., कटहरी विराटनगरले उत्पादन गरेको तेल हो । यस्तै २०८० साल माघमा उत्पादन भएको, व्याच/लट नं. १० को फेमिली ब्राण्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।
यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो । यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने व्राण्डहरु हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको छ । नमूना परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो ।
यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारवाही गरिएको हो । मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थित हुन पत्राचार गरिएको छ ।