वीरगंज । सुख्खायाम सुरु हुने वितिक्कै गत वर्षदेखि चापाकल सुक्न र खानेपानीको हाहाकार हुन थालेको छ । मधेशमा खानेपानीको मुल श्रोत नै चापाकल हो । चापाकल सुकेपछि खानेपानी मांग पुरा गर्न अनेक प्रयासहरु भईरहेका छन् । वीरगंजमा सरकारी धाराको जडानमा तिव्रता आएको छ भने ग्रामिण भेगमा डिपबोरिंग गरी खानेपानी वितरण शुरु गरिएको छ ।
गाउँमा डिप बोरिंग गरी वितरण गर्ने गरिएको पानी भने एकदम खेर गईरहेको छ । ठूलो मोटर जडान गर्ने र धारा पनि ठूलो जडान गरिने भएकाले धारा खोल्दा धेरै पानी खेर जाने गरेको छ । पहिला चापाकल नहुदाँ ईनार तथा पोखरीको पानी प्रयोग हुन्थ्यो । विस्तारै घर–घरमा चापाकल जडान भयो र पानी फालाफाल भयो । अहिले आएर चापाकल सुकेपछि फेरी मधेशमा पानीको हाहाकार हुन थालेको छ । तर अझ पनि पानीको संरक्षणमा कसैको चेत खुलेको छैन । पहिला थोरै चापाकल हुदाँ पानीको काम चलेकै थियो । पछि घर–घरमा चापाकल भयो । मोटरले पानी तानेर पानी खेर फाल्ने काम धेरै भएको हो । अहिले यस्तो अवस्था आएको छ र पनि पानी संरणमा कसैको ध्यान गएको छैन ।
यस्तै अवस्था रह्यो भने अझ अवस्था भयावह हुने संकेत देखिएको छ । भएकाले पानी संरक्षमा ध्यान दिनु पर्ने कुरा पर्साको भौराटारका मौलादिन मियाँले चाही बताए । हुन पनि पानी वितरण गर्ने तीनै तहका सरकारले पानी आउने ठाउँको पानी प्रयोग र संरक्षणमा अहिलेसम्म केही ध्यान प¥याएको छैन ।
मधेश प्रदेशका धेरै स्थानमा चापाकल सुकेर खानेपानीको अभाव भएको छ । खानेपानीको अभाव भएर तत्कालका लागि केही विकल्पका प्रयासहरु हुँदैछन् । तर ती विकल्प अर्थात डीप बोरिङ पनि कति दीर्घकालका लागि हुन् ? भन्ने कसैको ध्यान पुगेको छैन । बोरिङबाट आएको पानी निकै लापर्वाही तरिका प्रयोग गरिरहेको छ । दिर्घकालीन समाधान तर्फ खासै कसैको ध्यान गएको छैन । खानेपानी संस्थानको धारा जडान नभएका घरहरुमा यसवर्ष पनि खानेपानीको अभाव छ ।
पोहोर साल पानीको हाहाकार खेपेका नागरिक, यसपाली सुख्खायाम सुरु हुनै लाग्दा खानेपानीको जोहोमा त जुटेका छन् । तर पानी जोगाउने तर्फ अझ पनि सचेत हुन भने उनीहरु पनि सकेका छैनन् । पानी भएको बेला पानी खेर फाल्ने नभएका बेला छटपटिने परिपाटी कहिले जान्छ । हामीले निर्माण गरिरहेको संरचनाले पानी जोगाउन कतिको मद्दत गरिरहेको छ । बाटो ढलान, घर, नाला, पेटी सवै तिर ढलान गर्दा पानी कसरी संचित हुन्छ ? पानीको हाहाकार भएको बेला हल्ला गर्नु सट्टा पानी भएको बेला पानी जोगाउने तर्फ सतर्कता अपनाउन जरुरी छ । तत्काल समस्या समाधानका लागि अपनाईएका उपायहरुले भविष्यमा अझ हानी गर्ने कुरामा कसेको ध्यान पुगेको छैन ।
पानीको भुमिगत स्रोत जोगाउनसँगै उपभोक्तालाई घरघरमा पानी दिने चुनौति अव स्थानीय र प्रदेश सरकारको अगाडी छ । तर स्थानीय र प्रदेश सरकारले यतातर्फ पर्याप्त ध्यान नदिएको स्थानी नागरिकको गुनासो छ । पानी अभाव भएको बेला पानी टंकी वितरण गर्नु, सार्वजनिक स्थानमा केही धारा जडान गर्नु तथा ट्यांकर मार्फत पानी वितरण गरेर मधेशमा खाने पानीको समस्या समाधान हुन सक्दैन ।
गत वर्ष नै पानीको अभाव भएको थियो । तर एक वर्ष पुग्ने लाग्दा भुमिगत पानीको संरक्षणमा खासै काम भएको छैन । फेरि अभाव भएको बेला पानी वितरण गरेर कहिलेसम्म चल्छ । आम जनताले पनि पानी भण्डारमा खासै ध्यान दिएको देखिदैन ।
घर निर्मााण गर्दा विज्ञको सल्लाह अनुसार पानी पुनर्भरणको व्यस्था गर्न सकिरहेका छैनौ । पानी भएको बेला घण्टौसम्म मोटर चलाएर पानी खेर फाल्ने हाम्रो बानी गएको छैन । अनिस कसरी हुन्छ पानी संरक्षण ? कसले गर्ने यस्तो कुरामा सुधार ? घर निर्माण गर्दा अनिवार्य रुपमा पानी पुनर्भरणको व्यस्थापन गर्ने नियम कसले ल्याउने स्थानीय सरकारले कि प्रदेश सरकारले ? यतातर्फ जिम्मेवार व्यक्ति र संस्थाको खोइ त ध्यान पुगेको ?