मधेश प्रदेशको शिक्षाकोस्तर अहिलेको एसईईको परिणामले पनि सुधारात्मक देखाउन सकेन । २०७८ को समग्र तथ्याँक बाहिर आउँदा मधेशको शिक्षाको अवस्था निकै पछाडी रहेको पाइएको थियो । शिक्षामा अगाडी आउन नैतिक दवाव खेपिरहेको मधेशले एसईईको पछिल्लो सार्वजनिक परिणामले पनि चित्त बुझाउने अवस्था ल्याउन नसकेको हो ।
यो कुरालाई शिक्षा विकास तथा समन्वय इकाइ बाराले भने मधेशका अन्य जिल्लाको तुलनामा चाडै हृदयंगम गरी सबै विद्यालयहरको प्राप्त परिणामलाई आँकलन गर्न थालेको छ । उसले यसपाली एसइईको नतिजा ल्याउने जिल्लाका पालिकागत र विद्यालयगत रुपमा तथ्याँक संकलन गरिसकेको छ । शिक्षा विकास तथा समन्वय इकाइ बाराका प्रमुख हेमराज खतिवडाको निर्देशनमा प्राविधिक सहायक संतोष कुमार शर्माले एसईईको नतिजा विद्यालयगत रुपमा तयार गराई आगामी वर्षको लागि सुधार गर्ने प्रकृया थालनी गरेको भेटिएको हो । विद्यालयगत रुपमै चाँडो नतिजा संकलन गरी सुधार गर्न सकृयता देखाएर त्यो परिणाम सार्वजनिक गर्ने भएपछि कतिपय सामुदायिक र नीजि विद्यालयलाई तनाव भएको पाइएको छ । कारण बाहिर फूर्ति लगाए जस्तो उनीहरुको विद्यालयको परिणाम सकारात्मक छैन । फलतः शिक्षा इकाइ कार्यालयका कर्मचारीलाई पनि परिणाम सार्वजनिक नगर्न उनीहरुले विभिन्न कोणबाट दवाव दिईरहेको खुलेको छ ।
बाराले सार्वजनिक गरेको तथ्यांक अनुसार एसईई परिक्षामा बारामा ३०.२८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको पाइएको छ । बारा जिल्लामा सामुदायिक र संस्थागत गरी १ सय ५१ विद्यालय रहेको इकाई कार्यालयले जनाएको छ । २०८० चैत्र १५ देखि २७ चैत्रसम्म संचालन भएको एसईई परिक्षामा बाराबाट ८ हजार ७ सय ४३ विद्यार्थी परिक्षा सहभागी भएको जनाइएको छ । त्यसमध्ये कुल २ हजार ६ सय ४७ जना विद्यार्थी उतिर्ण हुन सकेको तथ्यांँक उपलब्ध छ । जसमा कलैया उपमहानगरपालिका अन्तगर्तका ३७ वटा विद्यालयका २ हजार १ सय ३१ जना विद्यार्थी एसईईको परिक्षामा सहभागी भएको भेटिएको छ । नतिजा आउँदा मात्र ७ सय २८ जना विद्यार्थी सो पालिकाबाट उतिर्ण भएको तथ्याँकले जनाएको छ । यो प्रतिशतका हिसाबले ३४.१६ प्रतिशत हो । यसमा पनि प्राविधिकधार तर्फका ४ बिद्याालयबाट १ सय ५ जना बिद्यार्थी सहभागि भएकोमा ४५ जना मात्र उत्तीर्ण भएको पाइएको छ । जुन कुल संख्याको ४२.८६ प्रतिशत हुन आउँछ । आश्चर्यको कुरा त कलैया उपमहानगरपालिका अन्तर्गतका ३७ विद्यालय मध्ये ३ विद्यालयको नतिजा शुन्य रहेको पाइएको हो । जसमा २ वटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेको भेटिएको छ ।
यसैगरी २ वटा संस्थागत विद्यालयबाट जम्मा एक जना परिक्षार्थी उत्तिर्ण भएको तथ्यांकले देखाएको छ । बाराको एक मात्र संस्कृत विद्यालय सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालय कलैया र पन्नादेवी माध्यमिक विद्यालय कलैयाका एक/एक जना बिद्यार्थी उतिर्ण भएका छन् । मात्र दुई जना विद्यार्थी उतिर्ण हुने विद्यालय लिटिल रोज ऐकेडेमी कलैया रहेको छ । को–अपरेटिभ ईङ्गलिस बोर्डिङ स्कूल कलैया, डिभाइन कस्मोपालिटन ईङ्गलिस बोर्डिङ स्कूल कलैया र सोना ऐकेडेमी कलैयाका विद्याार्थी एसईई परीक्षामा सामेल नभएको पाइएको छ ।
उता जितपुर सिमरा उपमहानगरपालिकाको ४३ वटा विद्यालयका १ हजार ६ सय ९२ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ७ सय ८६ जना विद्यार्थी उतिर्ण भएको तथ्याँकले जनाएको छ । प्रतिशतका आधारमा हेर्ने हो भने ४६.४५ प्रतिशत रहेको देखिन्छ । जुन राष्ट्रिय तथ्याँकको नजिक हो । त्यस्तै प्राविधिक तर्फ दुई वटा विद्यालयबाट ७० जना विद्यार्थी सहभागी भएकोमा ८ जना उत्तीर्ण भएका छन् । प्राबिधिक तर्फको ११.४३ प्रतिशत परिणाम आएको छ । शुभारम्भ ऐकेडेमी सिमरा, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुर र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाबाट एक जना विद्यार्थी पनि एसईई परीक्षामा शून्य विद्यार्थी उर्तीण हुने विद्यालय दर्ज भएका छन् ।
यसै गरी निजगढ नगरपालिका अन्तर्गतका १० वटा विद्यालयका ६ सय ५३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १ सय ५६ जना विद्यार्थी उतिर्ण भएको भेटिएको छ । प्रतिशतमा यो २३.८९ हो । प्राविधिक तर्फ त्यस निजगढ नगरपालिकाबाट विद्यार्थी सहभागि थिएनन् । कोल्हवी नगरपालिकाको ७ वटा विद्यालयका ५ सय ३२ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ९९ जना उतिर्ण भएका छन् । प्रतिशतमा सो १८.६१ भएको हो । प्राविधिक तर्फ एउटा विद्यालयका २६ जना सहभागि मध्ये ७ जना विद्यार्थी उतिर्ण भएका छन् । सो प्रतिशतका हिसाबले २६.९२ रहेको पाइएको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नयाँबस्ती हरैया शुन्य परिणाम ल्याउने विद्यालयमा दर्ज भएको भेटिएको हो । सिम्रौनगढ नगरपालिकाको पाँच वटा विद्यालयका ६ सय २३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १ सय ७६ जना उतिर्ण भएका छन् । प्रतिशतमा यो २८.२५ रहेको देखिन्छ । प्राविधिक तर्फ सिम्रौनगढ नगरपालिका त्यस नगरपालिकाबाट विद्यार्थी सहभागी थिएनन् ।
महागढीमाई नगरपालिकाको ११ वटा विद्यालयका ६ सय ९९ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा दुई सय २७ जना उतिर्ण भएका छन् । प्रतिशतमा ३२.४७ रहेको छ । प्राविधिक तर्फ एउटा विद्यालयका ३४ जना सहभागिमा एक जना विद्यार्थी उतिर्ण भएका छन् । प्रतिशतमा यो २.९४१ मत्र हुन्छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रिपा बिर्ता भने शून्य परिणाम ल्याउने विद्यालयमा दर्ज भएको छ ।
पचरौता नगरपालिकाको चार वटा विद्यालयका १ सय ८६ जना विद्यार्थी एसईईमा सहभागि भएकोमा १९ जना उतिर्ण भएका छन् । यो प्रतिशतमा १०.२२ मात्र रहेको पाइन्छ । प्राविधिक तर्फ एउटा विद्यालयका ४७ जना सहभागिमा २७ जना विद्यार्थी उतिर्ण भएका छन् । यो प्रतिशतका आधारमा ५७.४५ हो । परवानीपुर गाउँपालिकाको ६ वटा विद्यालयका ३ सय ६० जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १ सय २६ जना उतिर्ण भएका छन् । प्रतिशतमा यो ३५ प्रतिशत हो । यहाँ पनि प्राविधिक तर्फ त्यस गाउँपालिकाबाट विद्यार्थी सहभागी नभएको खुलेको छ । फेटा गाउँपालिकाको ३ वटा विद्यालयका २ सय ५८ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ४९ जना उतिर्ण भएका छन् । प्रतिशतमा यो १८.९९ हो । यहाँ पनि प्राविधिक तर्फ एउटा विद्यालयका १६ जना विद्याथपर््ी सहभागी भएकोमा ९ जना विद्यार्थी उतिर्ण भएका छन् । प्रतिशतमा यो ५६.२५ प्रतिशत हो । बिश्रामपुर गाउँपालिकाका ३ वटा विद्यालयका १ सय २३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १६ जना उतिर्ण भएका छन्। प्रतिशतमा यो १३.०१ प्रतिशत हो । प्राविधिक तर्फ त्यस गाउँपालिकाबाट विद्यार्थी सहभागी नभएको पाइएको छ ।
प्रसौनी गाउँपालिकाको ६ वटा विद्यालयका ३ सय ३१ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ७० जना उतिर्ण भएका छन् । यो प्रतिशतमा २१.१५ रहेको पाइन्छ । प्राविधिक तर्फ एउटा विद्यालयका ३९ जना विद्यार्थी सहभागी भएकामा ३ जना विद्यार्थी उतिर्ण भएका छन् । यो प्रतिशतमा ७.६९२ हो । प्रसौनी गाउँपालिका अन्तर्गतका विद्यालय मध्ये जनता नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बंजरिया शुन्य परिणाम ल्याउने विद्यालयका रुपमा दर्ज भएको छ । त्यसै गरी आदर्श कोतवाल गाउँपालिकाको दुई वटा विद्यालयका २ सय ३१ जना विद्यार्थीहरु एसईईमा सहभागी भएकोमा २३ जना उतिर्ण भएको तथ्याँकले देखाएको छ । यो प्रतिशतका आधारमा ९.९६ हो । प्राविधिक तर्फ यो पालिकामा पनि एउटा विद्यालयका ३१ जना विद्यार्थी सहभागी भएकोमा १८ जना विद्यार्थी उतिर्ण भएको भेटिएको छ । यो प्रतिशतका आधारमा ५८.०६ प्रतिशत हो ।
यता बाराको बारागढी गाउँपालिकाका ४ वटा विद्यालयका २ सय ३८ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा २८ जना विद्यार्थी उतिर्ण भएको भेटिएको छ । प्रतिशतमा यो ११.७६ प्रतिशत हो । प्राविधिक तर्फ सो गाउँपालिकाबाट कुनै पनि विद्यार्थी सहभागी नभएको पाइएको छ । करैयामाई गाउँपालिकाका चार वटा विद्यालयका १ सय ८६ विद्यार्थी एसईईमा सहभागी भएकोमा ३० जना उतिर्ण भएको पाइएको छ । प्रतिशतमा यो १६.१३ प्रतिशत हो । प्राविधिक तर्फ सो पालिकाको एउटा विद्यालयका ५६ जना सहभागिमा मध्ये १ जना पनि विद्यार्थी उतिर्ण नभएको भेटिएको हो । यो प्रतिशतका आधारमा शून्य परिणाम हो । सुवर्ण गाउँपालिकाकाका पनि ३ वटा विद्यालयका ३ सय १२ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ६३ जना उतिर्ण भएको तथ्याँकमा उल्लेख गरिएको छ । प्रतिशतमा यो २०.१९ हो । प्राविधिक तर्फ सो गाउँपालिकाबाट कुनै विद्यार्थी सहभागी भएका छैनन् ।
देवताल गाउँपालिकाकाका ३ वटा विद्यालयका १ सय ८८ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ५१ जना उतिर्ण भएका छन् । प्रतिशतमा यो २७.१३ प्रतिशत रहेको देखिएको हो । प्राविधिक तर्फ यो गाउँपालिकाबाट पनि कुनै विद्यार्थी सहभागी नभएको पाइएको हो । अघिल्लो वर्ष २०७९ को एसईई परिक्षामा बारा जिल्लामा ९७.६४ प्रतिशत नतिजा आएको तथ्याँका उल्लेख गरिएको भेटिएको हो । शिक्षा इकाई कार्यालय बाराले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्ष एसईई परिक्षामा ९ हजार १ सय ७० जना विद्यार्थी सहभागी भएकोमा ८ हजार ९ सय ५४ जना विद्यार्थी उत्तिर्ण भएको जनाइएको छ । गतवर्ष जम्मा २ सय १६ जना विद्यार्थी भने अनुपस्थित भएको उल्लेख गरिएको थियो । यसअघिका नतिजामा ९७ं.६४ प्रतिशत र अहिले यो वर्ष ३०.२८ प्रतिशत विद्यार्थी उतिर्ण हुनुले कोरोनाकाल ताका कसरी विद्यार्थी पास गरिरहेका रहेछन् ? भन्ने कुराको पनि छर्लङ्ग भएको छ ।
सार्वजनिक नतिजाले शैक्षिक सुधारमा नैतिक दवाव
बारा जिल्लामा शिक्षाको अवस्था कमजोर हुन थालेको देख्दा कमि कमजोरीलाई केलाउन र सुधारको नीति अवलम्बन गर्न सहज हुने वातावरण सुरु गरिएको खुलेको छ । विद्यालयगत रुपमा नै डाटा संकलन गरी आगामी वर्षको लागि राम्रो नतिजा ल्याउन अहिलेबाट नै प्रयास सुरु गरिएको बाराका शिक्षा ईकाई प्रमुख खतिवडाले बताए । स्थानीय सरकार आएपछि पालिकागत रुपमा विद्यालयहरुको एसईईको नतिजा सार्वजनिक गर्ने गरी संकलित भएको यो पहिलो पटक पनि भएको उनको भनाइ छ । यता कलैया उपमहानगरपालिकाले आफ्नो पालिकाको परिक्षाको समिक्षा गरेको पाइएको छ । सो उपमहानगर अन्तर्गतका विद्यालयहरुका प्रअ र जिम्मेवार व्यक्तिसँग छलफल गरिएको पालिकाले पनि जानकारी दिएको छ । समिक्षामा प्रधानाध्यापक र जिम्मेवार शिक्षकहरुले अभिभावक र विद्यार्थीको कमजोरी औल्याएका थिए । तर नगरप्रमुख विनोद साहले भने गल्ती उनीहरुको मात्र नभएको भन्दै विद्यालय र शिक्षक कर्मचारीले पनि सजग बन्नु पर्ने सुझाव दिएका थिए ।