वीरगंज । त्रिवर्षीय अपराध तथ्यांक हेर्दा मधेश प्रदेशमा विगतको तुलनामा पछिल्लो समय अपराधिक गतिवीधि निकै वृद्धि भएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तीन वर्षको तथ्यांकलाई हेर्दा अपराधमा तुलनात्मक वृद्धि भएको देखिन्छ ।
उक्त तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ प्रदेशभरि कर्तव्य ज्यानका ९६ वटा घटना भएका थिए भने आव ०७९/०८० मा यो संख्या बढेर १०६ पुग्यो र अहिले चालु आर्थिक वर्षमा हालसम्म १०१ वटा कर्तव्य ज्यानका घटना भइसकेका छन् ।
त्यसैगरी ज्यान मार्ने उद्योगको ०७८/०७९ मा २७१ वटा घटना भयो । यो संख्या बढेर आव ०७९/०८० मा २५२ पुग्यो भने चालु आर्थिक वर्षमा २१३ पुगेको छ ।
तथ्यांकअनुसार ०७८/०७९ मा अपराधका ८४५४ मुद्दा मधेसमा दर्ता भएका थिए भने ०७९/०८० मा ९८४४ मुद्दा प्रहरीमा दर्ता हुन पुग्यो । त्यसैगरी चालु आव ०८०/०८१ मा यो संख्या ८६६४ रहेको छ ।
सामान्य विवादमा समेत हत्यासम्मको अवस्था बन्ने र अपराधिक प्रवृत्ति बढ्दै जानु पछाडि एउटा कारण सामाजिक परिवेश पनि रहेको धनुषा जिल्लाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी बताए ।
पछिल्लो समय नैतिक, आध्यात्मिक र सामाजिक चेतनामा निकै खलल आएको छ । वैदेशिक रोजगार, प्रविधिको गलत प्रयोग सामाजिक बिचलनहरूले गर्दा पनि अपराधिक प्रवृत्तिमा बढोत्तरी भएको तर्क तिवारीले गरे ।
पहिला संयुक्त परिवारमा बसिन्थ्यो, समाजमा सबैसँग घुलमिल गर्ने व्यवस्था थियो । कसैलाई केही दुःख तकलिफ वा समस्या आइप¥यो भने उसले भन्ने र आफ्नो दुःख, रिस र आवेगहरू पोख्ने ठाउँ हुन्थ्यो तर, अहिले त्यो सबै कुरा हराएको छ । मानिसको सहनशक्ति कम हुन थालेको कारण यस्ता अपराध बढेको उनको भनाई छ ।
सामान्य विवादमा झैं–झगडा, पारिवारिक रिसिबी वा मनमुटावमा समेत हत्या जस्ता जघन्य अपराध नै गर्ने खालका क्रियाकलापहरू हुन थालेका हुँदा अहिलेको अवस्थामा यसले शान्ति सुरक्षामा प्रश्न खडा गरेको छ ।