१. वर्तमान समयमा दाँतमा कस्ता खालका समस्याहरु देखिएका छन् ?
अहिले सबैभन्दा बढी आउने बिरामीहरुमा दाँतमा किरा लाग्ने समस्या, गिजाको समस्या, बुद्धिबंगारा उम्रन नसकेको दुखाई, दाँतको बाङगो टिङगो दाँत भएको बिरामीहरु धेरै आउने गर्छन् । वर्षात्को समयमा आर टि एफको समस्या भएका पनि आउने गर्छन् । बच्चादेखि वयस्कहरुसम्म यस्ता खालका समस्याहरु लिएर आउँछन् ।
२. दाँतमा हुने समस्या समाधान गर्ने उपायहरु के हो ?
दाँतमा आउने समस्याको रोकथाम गर्न सबैभन्दा पहिला दाँतमा किरा लाग्न दिनु नै हुदैन । जसरी हामी कपडा फोहोर लगाउदैनौं । त्यस्तै दाँतलाई पनि हामीले राम्ररी माझ्नु पर्छ । दाँतका सबै भागमा ब्रस पुग्ने गरी माझ्नु पर्छ । दाँतलाई धेरै समय लगाएर माझ्नु हुदैन । बच्चादेखि नै दाँतको सरसफाई गर्नुपर्छ । हामीले दाँतमा टासिँने खानेकुरा, जंकफुडहरु सकेसम्म कम खानुपर्छ । जंकफुडहरु खाईहालेमा किरा लाग्ने सम्भावना बढी हुन्छ । वंशाणुगत गुणको कारण पनि बच्चामा दाँत किराले खाने गर्छ । दाँत बाङ्गोटिङ्गो भएर पनि किरा लाग्ने सम्भावना धेरै हुन्छ । हामीले दाँतमा किरा लाग्ने खानेकुरा कम खाँदा पनि किरा लागिहाल्यो भने पहिलो चरणमा नै उपचार गराउनु पर्छ । दाँतमा हल्का सिरिङ्ग–सिरिङ्ग भइरहेकको छ ? दुखिरहेको छ ? उपचार गराउँनु पर्छ । त्यो भन्दा धेरै भए पनि आरसिटी गरेर दाँतलाई बचाउन सकिन्छ ।
३. बाङ्गोटिङ्गो दाँत आउनुको कारण के हो ?
आमाबुबा, हजुरबुबा, हजुरआमा वंशमा कसैको दाँत बाङ्गोटिङ्गो छ भने बच्चामा पनि दाँत बाङगोटिङगो आउन सक्छ । अर्को कारण बच्चाको दाँत आफ्नो समयमा झर्ने गर्छ । तर अहिले बच्चाहरुको खानामा बढीमा जंकफुड, गुलियो खानेकुराहरु भएकोले समयभन्दा छिटो नै बच्चाको दाँत झर्ने गरेको हुन्छ । कुनै पनि कारणले पर्मानेन्ट दाँत आउनु अगाडी नै दाँत निकाल्दा दाँत बाङगोटिङगो आउँछ । कुनै बच्चाको शारिरीक वनावट अनुसार दाँत चौडा छ, जिब्रो सानो छ भने दाँत बाङगोटिङगो हुने सम्भावना धेरै हुन्छ । बाङ्गोटिङ्गो दाँतमा सफा गर्दा पनि राम्ररी सफा नहुने भएकोले किरा लाग्ने सम्भावना अरुभन्दा बढी हुन्छ ।
४. दाँतको उपचार प्रविधि कत्तिको मंहगो छ ?
आम जनतामा दाँतको उपचार महंगो छ भन्ने एउटा छाप बसेको छ । हाम्रो दाँतमा अलि अलि किरा लाग्न सुरु गर्दा नै उपचार गर्न जादैनौं । जब हामी बेस्सरी दुख्न थाल्छ । अनि मात्र जचाउन जान्छौं । दाँत दुख्न थाल्दा किराले नसा छोइसकेको हुन्छ । दाँतको नसा छोइसकेको छ भने आरसिटी गर्नुपर्छ । आरसिटी गर्न अलि महंगो छ । रुघाखोकी, ज्वरो आउँदा पनि हामी महिनामा २ पटक उपचार गराएका हुन्छौं । त्यसलाई महंगो मान्दैनन् । तर दाँतको उपचारलाई महंगो मान्ने गरेको पाइन्छ ।
५. दाँतको उपचार पद्धति सहज गराउन के कुरामा ध्यान दिनुपर्छ ?
हामी सबै नागरिकहरुले खानेकुराका साथै मुखको सरसफाईमा ध्यान दिनुपर्छ । बच्चाहरुलाई आमाबुबाहरुले जंकफुड खाने बानी पारेका छन् । विद्यालय जादाँ घरमा बनाएको खानेकुरा नदिने, बिस्कुट, चाउचाउ, पाउरोटी दिने गरेको छन् । यस्ता खानेकुराहरुले बच्चाहरुको दाँतमा किरा लाग्छ । बच्चाको दुधे दाँत किराले खाएको छ भने हेल्चेक्रयाई गर्ने बानी रहिरहेमा पर्मानेन्ट दाँत पनि किराले खान्छ । जंकफुड, गुलिया खानेकुरा खान कसरी कम गर्ने, फ्लोराईड भएको टुथपेष्टले दाँत माझ्ने गरेमा दाँतको उपचार गर्न सहज हुन्छ ।
६. दाँतको हेरचाह कसरी गर्न सकिन्छ ?
बच्चाको दाँत आएको छैन भनेर हामी बच्चाको मुखको सरसफाईमा ध्यान दिदैनौं । बच्चाको दाँत नआए पनि गमप्याड एरियामा बच्चालाई दुध खुवाइसकेपछि सफा कपडालाई पानीमा भिजाएर पुछ्नु पर्छ । ६ महिनापछि दाँत आएपछि पनि दाँतको सरसफाई गरिदिनु पर्छ । बच्चा बुझ्ने भएपछि पनि बच्चालाई पनि राति ब्रस गर्न सिकाउने, राति गुलियो खानेकुरा कम खुवाउने, राति बच्चाले दुध खाएको छ भने दुध खाएपछि ब्रस गर्न लगाउने, धेरै सानो बच्चा छ भने दुध खाएपछि पानी खानदिने गर्नुपर्छ । उमेर भएपछि बाङ्गोटिङ्गो दाँत भएकाहरुको दाँतमा खाना अड्कन्छ भने डेन्टल प्लसले सफा गरेर कुल्ला गर्नुपर्छ । दाँत धेरै समय ब्रसले रगड्नु हुदैन । सबै दाँतको भागहरुमा फ्लोराइडयुक्त टुथपेष्टले सफा गर्नुपर्छ ।
७. अन्त्यमा आम नागरिकहरुलाई के सुझाव दिन चहनुहुन्छ ?
हामीले बच्चादेखि नै दाँतको ख्याल गर्नुपर्छ । बच्चालाई दुध खुवाएपछि गमप्याडलाई सफा गर्ने । बच्चाको दाँत आएपछि बच्चालाई पनि बिहान बेलुका ब्रस गर्न सिकाउने गर्नुपर्छ । ठूला मानिसले पनि डेन्टल फ्लसको प्रयोग गर्नुपर्छ । जंकफुडहरु, गुलिया खानेकुराहरु खानमा कम गर्ने, हरेक ६-६ महिनामा डेन्टल सर्जनकोमा गएर जाँच गराऔं ।