नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोले वीरगंजबाट काठमाण्डौंका लागि छुटेको बस बगाउँदा २४ जना बेपत्ता मध्य पाँच जना पर्साको सखुवा प्रसौनी गाउँपालिकाका रहेका छन् ।
एकै परिवारका तिन जना र दुई जना गाँउपालिका कर्मचारी रहेको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पुष्टी गरेका छन् । उनका अनुसार एञ्जल बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका रेडियो ग्राफर श्रृष्टि यादव(मिष्टी यादव), ल्याब असिस्टेण्ट रैफुल अन्सारी र वडा नम्बर २ जमुनियाका एकै परिवारका तीन जना परेका छन् । जमुनियाका हृदयनारायण चौधरी थारु, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा रहेका छन् ।
उनीहरु तीन जनाको परिवार उपचारका लागि काठमाडौं गएको जानकारीमा आएको गाउँपालिका अध्यक्ष यादवले बताए । स्वास्थ्यकर्मीहरुमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर यादव कलैया उपमहानगरपालिका वडा नं। ६ निवासी हुन् भने ल्याब असिस्टेण्ट अन्सारी सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कट्या डुबरवाना निवासी हुन् ।
घटना बारे जानकारी लिन गाउँपालिका अध्यक्ष यादव सहितको टोली घटनास्थल पुगेको छ । चितवन भरतपुर म।न।पा। २९ नारायगढ(मुग्लिन सडक खण्डको सिमलताल स्थित घटना स्थलमा गाउँपालिका अध्यक्ष यादव सहित, प्रमुख प्रशासकिय अधिकृत राजेश रौनिया, लेखा शाखा प्रमुख सुमन साह, समाजिक विकाश शाखा प्रमुख विनोद यादव, इन्जिनियर रामबाबु पटेल लगायतको टोली पुगेको हो ।
पहिरोले बगाएको बस र वेपता यात्रुहरुको खोजी कार्य अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सुरक्षाकर्मीहरू लगायत स्थानीय बासिन्दाहरू खोजि कार्यमा जुटेका छन् ।