नेपालका विभिन्न ठाउँमा एकै दिन भएका सडक दूर्घटनामा ठूलो धनजनको क्षति भएको छ । वीरगन्जबाट काठमाण्डौ र काठमाण्डौबाट गौर तर्फ आइरहेको बसका चालक, सहचालक र यात्रु वेपत्ता सहितको आँकडा हेर्ने हो भने शुक्रबारमात्र एकै दिन ठूलो धनजनको क्षति भएको देखिएको हो ।
काठमाण्डौ जाने र फर्कने क्रममा चितवनको सिमलताल बस दुर्घटनाः वाहेक पनि अन्य विभिन्न घटनामा १६ जना को ज्यान गएको भेटिएको छ । सीमलताल बस दूर्घटनामा बचेका तीन जना वाहेक अरु कति मानिस ती सवारीमा सवार थिए भन्ने एकिन तथ्याँक अझै छैन । बस काउन्टरमा भएको बुकिङ्गका आधारमा २४ र ३० जनाको तथ्याँक मात्र छ । तर काउण्टरमा दर्ज भएका व्यक्ति मध्ये कोही बसमा नै नगएको र कोही अरु नै व्यक्ति पनि सवार भएकोले बसमा कति व्यक्ति सवार थिए भन्ने अहिले नै कसैले ठोकेर भन्न सक्ने अवस्था छैन । तथापि ६५ जना जति मानिस ती बसमा रहेको सुरक्षाकर्मीको आँकलन छ ।
त्रिशूली बस दूर्घटना वाहेक पनि गएको शुक्रबार नै रौतहटमा पनि जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सो दूर्घटनामा परी अन्य ११ जन्ती घाइते भएको आधिकारिक संचार माध्यमबाट समाचार नै आयो । त्यसै गरी सडकमा हिडिरहेको अर्का व्यक्ति माथि पहाडबाट खसेको ढुंगा लागेर थप एक जनाको ज्यान गयो । यो पनि मकवानपुर काठमाण्डौ सडकखण्डको घटना हो । उनी सवारी चालक रहेको स्थानीयको हवाला दिई संजालमा नभई जिम्मेवार सञ्चार माध्यममा नै समाचार आएपछि पुष्टि भएको हो । त्यसै गरी उता कास्कीमा पनि पहिरोमा परी एकै परिवारका ७ जना सहित उपचारको क्रममा २ समेत गरी एकै दिन ११ जनाको मृत्यु भएको छ । त्यसको अलावा उता म्याग्दीमै पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । यत्ति घटनाको विवरण संकलन गर्ने हो भने पनि गएको शुक्रबार एकै दिन ६५ प्लस १६ जना मानिस सहित ठूलो धनजनको क्षति भएको पाइएको हो ।
उक्त घटनामा जापान जाने सपना बोकेर हिडेकी बाराको मिष्टि यादवदेखि अमेरिका जाने सपना बोकेकासम्मका युवा समेत परेको खुलेको छ । सानो भूगोल भए पनि हिमाल पहाड र तराई समेटिएको नेपालमा हरेक वर्ष हिउँद र वर्षामा विभिन्न खालका विपत्का घटना हुने गरेका छन् । भौगोलिक हिसाबले अपार लाभप्रद मुलुक भएर पनि विपत्का जोखिम पनि हुँदै नहुने भन्ने छैन । त्यसैले राज्य र उसको संयन्त्र अनि आम मानिसले पनि विपत्को जोखिमलाई आँकलन गरी दीर्घकालिन र तत्कालका कार्य सम्पादन गर्न अपरिहार्य रहेको छ । यस्ता कार्यको अभावमा हरेक वर्ष मधेश र पहाडमा विभिन्न खाले दूर्घटना र विपत् आउने गरेको घटना क्रमले पुष्टि गरेकै छ । भौगोलिक अवस्थाका आधारमा नेपालमा सडक दूर्घटनाबाट सबैभन्दा बढि मानिसको ज्यान जाने गरेको तथ्याँकले देखाएको छ । त्यसै अन्तर्गत चितवनको सिमलताल, कास्की र म्याग्दी तथा सिन्धुली घटना भएको पाइएको हो ।
सिमलताल दुर्घटनाः तीन बाँच्न सफल
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको शुक्रबार पहिरोले दुईवटा बस त्रिशूलीमा खस्दा ३ जना बाँच्न सफल भएका छन् । अन्य यात्रुको भने अझै खोजी कार्य जारी रहेको छ । केही व्यक्तिको भने शव फेला पारिएको छ । बिहीबार साँझ ७ः३० वजे काठमाडौँबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बस र अर्को वीरगन्जबाट काठमाण्डौका लागि छुटेको एन्जल बस गरी फरक दिशाबाट छुटेका बस एउटै घटनामा परेका हुन् । तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताका थिए । “बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ” यादवले भनेका छन् । खाना खाएर बस चढेको एक घण्टापछि दुर्घटना भएको उनको भनाइ छ । “हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन उनको कथन छ । एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ”, उनले थपेका छन् । “बस पानीमा धेरै मुनी पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भएका हौं उनको दावी छ । टाउँकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भएको हो ।
गरुडा–९ रौतहटका जुगेश्वर राय यादवले पनि आफ्नो परिवारका चारजना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको दावी गरेका छन् । बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार रहेको उनले बताए । काठमाडौँमा उपचार गरेर घर फर्कँदै गर्दा परिवारका पाँचजना दुर्घटनामा परेकोमा आफू चाही बाँच्न सफल भए पनि अरुको अत्तोपत्तो नभएको उनले गुनासो गरे । “काठमाडौँमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासी नसोचेको घटना घट्यो । पाँचपटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो, उनले सम्झिए । पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यही डुबेको उनको भनाइ छ ।
बस पहिरोमा पर्नु अघि आधा घण्टा जति जाम परेको थियो । जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भए, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ’ रौतहटकै सरोजकुमार गुप्ताले पनि डिष्चार्ज पछि बताए । सामान्य अवस्थामा रहेका उनको उपचार भरतपुरमा नै भएको थियो । बेपत्ता बस र यात्रुको खोजीकार्य अझै जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली समेत बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव पनि बताएका छन् ।
मिष्टिको सपना अधुरै
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा रेडियो ग्राफरको रुपमा करारमा कार्यरत मिष्टी यादव जापान जाने तरखरमा थिइन् । पारिवारिक श्रोतका अनुसार जापानको सैनिक अस्पतालमा आवेदन दिएकी उनी सोही कार्यको लागि परीक्षा दिन वीरगन्जबाट काठमाण्डौं जाने एञ्जल डिलक्स प्रालिको बसमा गएकी हुन् । तर, उनको जापान पुग्ने सपना काठमाण्डौं नपुगी बीच बाटोमा अस्ताएको अनुमान गरिदैछ । उनको सास तथा लास अझै नभेटिएकोले अवस्था गम्भिर रहेको अनुमान गरिएको छ । शुक्रबार बिहानै मिमिरे नहुदै नारायणढ–मुग्लिन सडकखण्डको पहिरोले बगाएको बसमा उनी सहित २१ जना यात्रु सवार रहेको वीरगन्जस्थित एन्जल बस काउन्टरको रेकर्डमा दर्ज छ । कलैया उपमहानगरपालिका वडा नम्बर ६ का जगदीश यादव छोरी मिष्टिलाई पढाउन, लेखाउन र भविष्य बनाउनका लागि जीतपुरसिमरा स्थित निजी किटनासक औषधिको बजार व्यावस्थापकको रुपमा काम गरिरहेका थिए । तर छोरीलाई जापान पठाएर परिवारमा खुशी साट्न चाहेका जगदीशको चाहनामा विपत्को बज्र खोसेको छ । सिमलतालमा भएको दुखद दुर्घटनाले अहिले सिंगो देश शोकमा डुबेको छ । देशभर मनसुनसँगै परेको अविरल बर्षा र त्यसपछि गएको बाढी पहिरो र डुबानले कयौले ज्यान गुमाउनु परेको छ । परिवार आफन्त नातेदारहरु गुमाउन परेका सयौं नेपालीको पीडा आगामी वर्षहरुमा नपर्ने गरी राज्यले पनि दीर्घकालिन सडक सुधारको काम गर्न पर्ने देखिन्छ ।
अहिले बेपत्ता परिवारहरु निकै चिन्तित छन् । खोजी र उद्दारमा खटिएकाहरुले पनि प्रयास मात्रै जारी राखेका अहिलेसम्म केही सफलता हात पार्न सकेका छैनन् । कलैया ६ का जगदीश छोरीको अवस्था बुझ्न बिहानै घटनास्थलतर्फ गएको उनका नजिकका साथीहरुले बताएका छन् ।
चुम्बक प्रयोग गरी खोज्दा पनि त्रिशूलीमा खसेका बस भेटिएनन्
गएको शुक्रबार नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बगाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोताखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता लाग्न सकेको छैन । त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ । तर अहिलेसम्म केही पनि फेला पार्न नसकिएको उनले बताए । बगाएर तल पु¥याएको हुन सक्ने आशंकामा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिएको छ । तर पनि पत्ता नलागेको एसएसपी पौडेलले बताए । सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको छ । बस नदी किनारमा पहिरोमा पुरिएको हुन सक्ने पनि आशंका गरिएको एसएसपी पौडेलले बताए । तर अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ । त्योभन्दा तल ठूलो भूमरी रहेकाले खोजीमा थप समस्या देखिएको छ । रातिदेखि खोजी गर्दा पनि अहिलेसम्म केही नभेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । ‘दुर्घटना भएदेखि नै खोजी कार्य जारी छ । तर अहिलेसम्म न बस भेटिएको छ, न कुनै यात्रुको अवस्था पत्ता लगाउन सकिएको छ,’ थापाले भने । पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन । त्यसकारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले दावी गरेको छ । त्यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
जन्ती बोकेको जीप दुर्घटना यस्तो छ विवरण
रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा जन्ती बोकेको जीप दुर्घटना भएको थियो । भारतीय नम्बर एच आर ७० डी ८३८२ को स्कारपीयो जिप दुर्घटना हुँदा काठमाण्डौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डितको ज्यान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
शुक्रबार बिहान ९ बजे गढीमाई नगरपालिका ६ को सिंगारमन धर्मपुर सडकखण्डको धनहरी गाँउमा सो जीप नहरबाट तल पानीमा झरेको प्रहरीको भनाइ छ । जीपमा १२ जना सवार रहेका मध्ये ३ जनालाई अस्पताल लगिएको थियो । अन्य भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सो घटनामा दुई जनाको मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ ।
त्यसै गरी सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका थिए । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएकको थियो । वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ जाँँदै गरेको माइक्रो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको थियो । माइक्रो सडकबाट करिब ३० मिटर तल खस्दा ११ यात्रु घाइते भएका थिए । ती यात्रुलाई नेपाल प्रहरी र सशस्त्रको विपद् व्यवस्थापन सुरक्षा बेस खुर्कोटबाट खटिएको टोलीले उद्धार गरेर उपचारका लागि खुर्कोट पठाइएको थियो । खुर्कोटस्थित शुभ जीवन अस्पालमा घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चालकको मृत्यु ढुंगा लागेर
भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको जनाइएको छ । शुक्रबार बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनले जनाएका थिए ।
उता कास्की पहिरोेमा परेर शुक्रबार नै मृत्यु हुनेको संख्या ११ पुगेको छ । कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा १ जनाको पहिरोेमा परी मृत्यु भएको प्रहरीको भनाइ छ । म्याग्दीमा पनि यस्तै घटनाबाट दुई जनाको मृत्यु भएको भेटिएको हो । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको पनि प्रहरीले पुष्टि गरेको हो । सो घटना पनि एकै दिन परेको भेटिएको छ । यसरी हेर्दा गएको शुक्रबार नेपाल र नेपालीका लागि सुखद् शुक्रबार नरहेको पाइएको छ । हुन त बारले घटना नगराएको भए पनि सतर्कता अपनाउन सक्ने केही अवस्था हुँदा हुँदै पनि समयमा सजगता अपनाउन नसक्दा पनि केही घटना बढेको आँकलन गरिदैछ । पूर्व तयारी र सावधानी अपनाएको भए यति घटनाको सामना नेपालीले भोग्न र देख्न पर्ने थिएन कि ? यसमा राज्य र उसको संयन्त्र अनि आम मानिसले पनि वर्षात्मा बढि चनाखो हुनै पर्छ ।