अहिले चापाकलहरु धेरै सुकेको अवस्था छ । अहिले पानी केही परिरहेको छ । केही चापाकलमा पानी आएको पनि छ । तर दीर्घकालिन समाधान होइन । खानेपानीको समस्या समाधान गर्न यतिले मात्र सकिन्न । नेपाल खानेपानी संस्थानले स्थानीय सरकारसंग समन्वय गरेर सार्वजानिक जग्गा माग गरेर बोरिङ्ग गरिरहेको छ । खानेपानी संस्थानको ४ वटा बोरिङ्ग बाँकी नै छ । ठेक्का प्रक्रियाबाट बोरिङ्ग हाल्ने काम भइरहेको छ । खानेपानी संस्थानको तर्फबाट सक्दो प्रयास गरिरहेका छौं । खानेपानीको समस्या समाधान गर्न निरन्तर रुपमा प्रयासरत छौं । दुई वर्ष पहिला ५ हजारको हाराहारीमा सेवाग्राही थिए । अहिले खानेपानी संस्थानको सेवाग्राही ११ हजार ४ सयको हाराहारीमा छन् । खानेपानी संस्थानले पाइपलाइन बिस्तार गर्न सके अझै सेवाग्राहीको संख्या बढ्न सक्छ । पाइपलाइन नभएको ठाउँमा वडाहरुले सिफारिस गरेको आधारमा नयाँ बजेटमा काम गर्ने छौं । वडा कार्यालयहरुले पनि बोरिङ्ग गरेर वडाको खानेपानीको समस्यालाई समाधान गर्ने प्रयास गरिरहेको छ । वडाले बोरिङ्ग गर्नु भन्दा पाइपलाइन माग गर्दा राम्रो हुन्छ । कतिपय ठाउँमा खानेपानी संस्थानको र वडाको दोहोरो पाइपलाइन भएको छ । संस्थान नियमन निकाय भएकोले संस्थानको निगरानीमा समान रुपमा पानी जनताले पाउने व्यवस्था गरिनु पर्छ । जथाभावी बोरिङ्ग गर्दा सर्वसाधारणले प्रयोग गरिरहेका अरु पनि पानीका श्रोतहरु सुक्ने सम्भावना रहन्छ । त्यसैले सर्वसाधारणले अहिले प्रयोग गरिरहेका पानीका श्रोतलाई पनि हानी नपुग्ने गरी थप पानीको व्यवस्थापन गर्न बोरिङ्ग गाड्ने तरिका पनि अबलम्बन गर्नु पर्छ । समिति मार्फत बोरिङ्ग गरेका स्थानहरुमा खानेपानीको पाइपलाइन नभएको ठाउँमा पाइप लाइन विस्तार गर्दा धेरै ठाउँमा पानीको श्रोत विग्रिदैन । यो वर्ष चापाकल अघिल्लो वर्षभन्दा पनि छिटो सुकेको छ । धारा जडान गर्न आउनेहरु नयाँ चापाकल सुकेर थपिएको संख्या हो । खानेपानी संस्थानको बोरिङ्ग यो वर्ष धेरै चलेको छ । सधै १० बजेसम्म चलाउने गरेको बोरिङ्ग राती १२ बजेसम्म पनि चलाएका छौं । पानीको भू–सतहमा नै पानीको लेयर बिस्तार घट्दै गएको छ । यसलाई सामान्य रुपमा लिनु हुन्न ।
खानेपानीको समस्याको समाधान गर्नको लागि वृहत गुरुयोजना बनाउनु पर्छ । हामीले पानीको कमी हुन नदिन चुरेपहाड बचाउ कार्यक्रम सुरु गर्नु पर्छ । विभिन्न स्वार्थकालागि चुरेको पहाडहरुलाई भत्काउदै छौं । नदि, नालाहरुलाई वैज्ञानिक किसिमले दोहन गर्दैछौं । भूमिगत पानीको श्रोत भनेको वर्षात्मा परेको पानी हो । चुरेको बनावट बालुवा, गिट्टी मिलेर बनेको हुन्छ । वर्षात्मा चुरेमा परेको पानी रुखविरुवाले सोसेर तल जान्छ । जमिन सतहमुनिबाट सोसिएर तराईमा आउँछ । बढ्दो शहरीकरणले गर्दा रोड, नालाहरु सबै ढलान भएका छन् । रुख विरुवाको कमि छ । वर्षात्मा परेको पानी जमिनमा सोसिन पाएको छैन । नालाको माध्यामबाट नदिमा गएको छ । स्थानीय तहले खानेपानीको समस्यालाई समाधान गर्न केही हदसम्म प्रयास गरेको हो । नयाँ घरहरु बन्नेका क्रममा चापाकल जडान गरेका छन् । २० फिट मुनि, १ सय ५० फिट मुनि, ६ सय फिटमुनि, १ हजार फिट मुनि पानीको सतह छ । प्रशस्त मात्रामा चापाकलहरु गाडिएको छ । १ सय पचासदेखि २ सयसम्मको पानीको लेयर सुकेको छ । तत्कालको खानेपानी समस्या समाधानकोलागि ६ सय फिटभन्दा तलको पानी प्रशस्त छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्नका लागि चुरेदेखि वन, जंगल संरक्षण सुरु गरेन भने भोली झनै विकराल स्थिति आउन सक्छ । पहिला पोखरी, कुवाहरु थिए । त्यसमा पानी जम्मा हुन्थ्यो । बिस्तारै सोसिएर जमिनमा जान्थ्यो । अहिले ती कुवा, पोखरीहरु मासिएर गएका छन् । वनजंगल छैन । बिना जराको पानी धेरै दिन टिक्न सक्दैन । क्रसर उद्योगहरु बिना अनुमति पनि खुलेका छन् । सरकारले यसप्रति कुनै चासो देखाएको छैन ।
वीरगंज महानगरपालिका लगायत तराईका धेरै स्थानहरुमा पानीको संकट देखा पर्ने गरेको छ । यो आवधिक रुपमा देखिने समस्या होइन । वर्षेनी खानेपानीको समस्या हुने गरेको छ । समस्यालाई बुझ्ने तरिका, समाधान गर्ने तरिका अन्धोले हात्तीलाई छामे जस्तो देखिन्छ । समग्रमा तराईमा पानीको संकट किन हुदैछ । चुरेमाथिको दोहनले चारकोशे झाडी मासिदा पानीको संकट भयो । वृक्षारोपण गर्दा पानीको संकट कम हुन्छ भन्ने कुरा सापेक्षिक सत्य हो । पानीको संकट पनि एकनासको देदिदैन । वीरगंजको पनि टोल टोलमा अवस्थाहरु फरक छन् । उत्तरको टोलमा पानीको संकट देखिएको छ । दक्षिणको टोलमा पानीको संकट देखिएको छैन । भू–बनोटको बारेमा अध्ययन हुन जरुरी छ । एउटै टोलमा ३ सय फिटमा पानी सुकेको छ । तर कतै ५० फिटमा पानी आइरहेको छ । पानीको संकटको विषयमा जुन किसिमले अध्ययन हुनुपर्ने हो त्यो भएको छैन । बोरिङ्ग गर्नुलाई खानेपानीको समस्याको समाधानको बाटो खोजिएको छ । बोरिङ्ग आफैमा समस्याको समाधान होइन । अहिले बोरिङ्गले मोटो पानी निकालिरहेको छ भने भोलीको दिनमा के होला ? हामीसंग थोरै पानी छ । थोरै पानीलाई खपत गरेर कसरी बाँच्ने भन्ने विषयमा सोच्नु पर्छ । शहरमा धेरै पानी खेर गइरहेको छ । प्रयोग गरेको पानी फिल्टर गरेर पुनः कसरी प्रयोग गर्ने विषयमा स्थानीयस्तरमा बहस भएकै छैन । पानीको संकट विश्वव्यापी समस्या हो । कसैले चाहेर पनि समाधान गर्न सक्ने होइन । स्थानीयस्तरमा भएको थोरै पानीलाई खपत गर्न, पुनः प्रयोग गर्न सचेतना जोगाउन जरुरी छ ।
वडामा पानीको समस्या आएदेखि वडावासीलाई बसाएर वृहत छलफल पश्चात एरिया अनुसार ४ इञ्चको बोरिङ्ग जडान गरेका छौं । उपभोक्ता समिति गठन गरेका छौं । उपभोक्त समितिले हरेक घरमा पानीको पाइपलाइनको व्यवस्था गरेर पानीको कमिबाट राहत पु¥याएको छ । अहिले वडा नं ५ मा ५ वटा बोरिङ्ग जडान गरेका छौं । २ वटा घरलाई एउटा पाइपलाइन जडान गरेका छौं । अहिले पानीको समस्याबाट राहत भएको छ । २ इञ्चको लेयर कम भएर चापाकल सुकेर गयो । भोलीको दिनमा ४ इञ्च बोरिङ्ग पनि सुकेर जाने भन्ने किसिमको चिन्ताको विषय छ । विपत् व्यवस्थापनको संयोजक पनि भएकोले महानगरका मेयरसंग पनि खानेपानी समस्याको दिर्धकालीन समस्या समाधान गर्न वृहत छलफल भएको छ । १६ नं वडामा खानेपानीको ट्याङ्की निर्माणको काम सुरु भएको छ । धेरै जसो वडामा सार्वजनिक जग्गा पत्ता लगाएर खानेपानीको ट्याङ्की निर्माण गरी पाइपलाइन सप्लाई गरेर खानेपानीको समस्याबाट मुक्त गर्न तत्कालको योजना छ । खानेपानी संस्थानको पाइपलाइन बिस्तार भएको ठाउँमा धेरै पुरानो पाइप भएको हुनाले फोहोरहरु आउने, कुनै ठाउँमा पानीको फोर्स नै नआउने समस्या देखिएका छन् । खानेपानी संस्थानसंग समन्वय गरेर त्यसलाई समाधान गर्न छलफल भएको छ । ४ इञ्च बोरिङ्ग नै दिर्घकालीन समस्याको समाधान होइन । बोरिङ्गको पानी दुरुपयोग भइरहेको सुनिन्छ । खानेपानीको पाइप नभएको एरियामा बोरिङ्ग जडान गरेर पाइप सप्लाई गरेका छौं । जुन एरियामा खानेपानी संस्थानको पाइपलाइन छ । त्यो एरियाका घर धुरीहरुले खानेपानीसंग सहकार्य गरेर खानेपानीको पाइप जडान गर्दा उपयुक्त देखिन्छ ।
खानेपानीको समस्या तराईको ठाउँ–ठाउँमा देखियो । सुख्खा मौसममा चापाकलको पानीको सतह तल गएको अवस्था देखिएको छ । जमिनको बनोट भिरालो छ । दक्षिणबाट क्रमश माथितिर उकालो उकालो हुदै जग्गाहरु गएको छ । चुरेपछि माथि भित्री मधेश र महाभारत पुग्छौं । पानीको सबै श्रोत भनेको हिमालयबाट बग्ने स्थायी नदीहरु र खोलानाला नै हुन् । ती नदीको पानी ग्रेभलबाट सोसिएर तल आएर तराई तिरको भु–भागहरुमा आउने गर्छन् । ती पानीहरुलाई निरन्तर संरक्षण गर्ने काम रुख विरुवा र वनजंगलले गर्ने गर्थे । हिजोका दिनमा प्राकृतिक सम्पदाहरुको त्यति विनास भएको थिएन । खानेपानीको समस्या त्यति भएको थिएन । चुरेको निर्वाद फडानी सुरु भएपछि चारकोशे झाडीहरुको रुख विरुवा निरन्तर कटान सुरु भएपछि खोलामा निरन्तर बाढी आउने, ग्रेभलहरु बगेर खोलाको सतह माथि आउने, रुख विरुवाहरुले संरक्षण गरिरहेका पानीका श्रोतहरु संरक्षण गर्न नसक्ने अवस्था देखियो । तराईका जनताहरुकोलागि चुरेको संरक्षण अत्यन्त आवश्यक छ । पानीको संरक्षण गर्न चुरेको फेदको सतहलाई हराभरा बनाउन जरुरी छ । स्थायी समाधानकोलागि सरकारले, राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्थाहरुले पनि वृक्षारोपण औपचारिक रुपमा मात्र होइन । दीर्घकालीन रुपमा रुख विरुवा राम्रो हुने गरी लानु पर्छ । सार्वजानिक पोखरी, तलाउहरुलाई संरक्षण गर्नुपर्छ । वीरगंजमा ३५ वर्ष अगाडी ३३ वटा पोखरीहरु थिए । आज आए १२ वटा पोखरी देख्न पनि मुस्किल छ । भएका पानीका स्रोतहरुलाई संरक्षण गर्ने निकायहरुको कमी भएको छ । शहरीकरण हुदै जादाँ वृक्षारोपणको कुरालाई ख्याल गर्नुपर्छ । शहरका हरेक कुना काप्चाहरुलाई ग्रेभल र क्रंकिटको शहर बनाउनु हुदैन । ठाउँ ठाउँमा खेल मैदानहरु राख्नुपर्छ । बगैचाहरु बनाउनु पर्छ । घर बनाउदाँ हरेक घरको १० प्रतिशत ठाउँ खुल्ला राखिनु पर्छ भन्ने नियम पास हुनुपर्छ । वर्षात्को पानी खाली जमिन भित्र जाने गरी पाइपहरुबाट खसाउन सकेमा पानीको समस्या केही सहज बन्दे जान सक्छ ।
खानेपानीको मुहान सुक्दै गएको कारण नै तराईमा खानेपानीको समस्या आएको हो । वृक्षारोपण कार्य गर्न नसकेर, पर्यावरणीय सन्तुलन बिगारेको कारणले गर्दा समस्या देखिएको हो । मधेशमा पानी पर्याप्त बनाउनको लागि चुरे क्षेत्रलाई संरक्षण गर्नुपर्छ । चुरेमा प्रशस्त पानी परेमात्र तराईमा पानीको श्रोत बढ्ने हो । पानीको समस्या दुरगामी रुपमा समाधान गर्ने उपाय भनेको पर्याप्त वृक्षारोपण नै हो । तत्काल वृक्षारोपण गरेर पानीको समस्याबाट मुक्ति मिल्दैन । स्थानीय तहमा भएका नदि नालामा भएका पानीलाई प्रशोधन गरेर पिउन योग्य पानीको रुपमा वितरण गर्ने काम गर्नु पर्छ । आम जनतामा चेतनाको कमी पनि छ । सोचाइ पुरानै ढाँचामा छ । अहिले धेरै पानीहरु खेर गइरहेको पनि छ । वर्षाको पानीलाई भण्डारण गरेर सुरक्षित गर्न सके पनि केही हदसम्म उपयोग गर्न सहज हुन्थ्यो । पानीको वैकल्पिक समाधानको निम्ति पनि वर्षात्को पानीलाई सुरक्षित गर्न ध्यान आकर्षित हुनुपर्छ ।
वीरगंजको गहवामा खानेपानीको समस्या भूकम्प आएपछि आएको हो । त्यो समयदेखि नै वैशाख, जेष्ठमा चापाकल सुक्ने गथ्र्यो । त्यो समयमा अर्को टोलबाट पानी ल्याएर खाने गरेका थियांै । ४ वर्ष अगाडीदेखि चापाकलको पानी बन्द नै भयो । सुख्खा महिनामा मात्र होइन । वर्षात्को समयमा पनि पानी आएन । कलहरु रिपेरिङ्ग गरेपछि केही कलमा पानी आएको थियो । दुई वर्षदेखि कुनै चापाकलमा पानी आएको छैन । खानेपानीको समस्यालाई मध्यनजर गर्दै वडा अध्यक्षले डिप बोरिङ्ग जडान गरेर टोलका सबैलाई पानीको समस्याबाट मुक्त गराएका छन् । विद्युत नभएको समयमा भने पानी आउन नसक्दा धेरै समस्या हुन्छ । अहिले धेरै डिप बोरिङ्ग जडान भएकोले गर्दा अब चापाकलबाट पानी आउने सम्भावना छैन । खानेपानीलाई अझ सहज बनाउन खानेपानी संस्थानको पाइपलाइन बिस्तार गरिदिदा राम्रो हुन्थ्यो । वीरगंजमा चारैतिर पिच र ढलान गरिएको छ । नाला पनि ढलान गरेको छ । परेको पानी सोस्ने कुनै ठाउँ छैन । रुख विरुवा कतै छैन । भर्खरै मेयरको पहलमा वृक्षारोपण गरिएको छ । नालाहरुबाट पनि पानी भू–सतहमा जाने तरिका अपनाउन ढिलो गर्नु हुन्न ।